राजा महेन्द्र , योगी नरहरिनाथको थुना र वर्तमान राजनीतिक सन्दर्भ!

योगी नरहरिनाथ पिताजीलाई भेट्न आइरहन्थे , आमाले र दाइ दिदीहरूले चर्चा गर्दा मैले योगीजीको नाउँ थाहा पाएको थिएँ।

योगी राजा महेन्द्रका उच्च प्रशंसक थिए तर एकचोटि राजा महेन्द्रले उनलाई लामै समय (निश्चित अवधि सम्झना भएन) थुनिदिएका थिए।

उनै नरहरिनाथ थुना मुक्त भएछन् र डिल्ली बजारको सांस्कृतिक केन्द्रमा उनको भाषण हुने भएछ।

तिथिमिति सम्झना छैन, म स्कूलमै पढ्थेँ जस्तो लाग्दछ, बासु दाइ ( बासुदेव आचार्य , बोहोरेटार) हो वा अरू नै कोही अग्रज सँगै म पनि उक्त स्थलमा पुगेँ।

त्यहाँ नरहरिनाथले भनेका अरू कुरा सम्झना भएन तर उनले भनेको एउटा कुरा भने मेरो मनमा गडेर बसेको छ!

उनले भनेका थिए – राजाको झन्डा र राष्ट्रको झण्डा फरक हुनुहुन्न!

*****

स्मरणीय छ- नेपालको राष्ट्रिय झण्डा भन्दा राजाको झण्डा फरक थियो – राजाको झण्डामा सिंहले झण्डा समाएको देखिन्थ्यो।

लाग्दछ, यिनै आधारमा उनले राजा महेन्द्रको आलोचना गरेका थिए र उनी थुनिए।

*****

अहिले मुलुकका अत्यधिक ठूलो सङ्ख्याका जनताको धर्म र शासक समुदायको धर्म फरक छ, विश्वास र आस्था फरक छ।

उनीहरू इश्वरको नाउमा पद-ग्रहणको शपथ लिंदैनन्।

आम जनताको विश्वाससँग जोडिन नै चाहन्नन्।

एउटा सानो तर विदेशी शक्तिको भर र बल पाएको समूह र समुदायसँग मात्रै जोडिन चाहन्छन् उनीहरू।

त्यसैबाट शासकीय शक्ति प्राप्त हुने विश्वास उनीहरूको देखियो।

उनीहरू जनताको आस्था र भावनाको प्रतिनिधित्व नै गर्दैनन्।

त्यसैले जनताले उनीहरूलाई आफ्नो मान्न सकिरहेका छैनन्।

 

प्रकाशित मिति: : 2019-08-12 16:40:29

प्रतिकृया दिनुहोस्