ऋण लिएका श्रीमान् आठ वर्षदेखि साउदीमा

घर भत्किएपछि बिचल्लीमा रहेका जहिरा खातुनका परिवार।

विदेश पठाउँदा दिएको ऋण नतिरेको भन्दै महोत्तरीमा एक एजेन्टले गरिब परिवारको घर डोजर लगाएर भत्काइदिएका छन् । सम्पत्तिको नाममा पाँच धुर जग्गामा बनेको फुसको टहरो पनि भत्किएपछि परिवारको वास सडकमा भएको छ ।महोत्तरी भंगहा नगरपालिका–१ कविलासका मोहम्मद शेषको घर अदालतको आदेशमा शनिबार भत्काइएको हो ।

शेषलाई पैसा दिने स्थानीय एजेन्ट बद्री ठाकुरको पक्षमा फैसला दिएको अदालतका अधिकारीहरू आदेश कार्यान्वयन गराउन गाउँमै आएका थिए । अदालतका ६ जना अधिकारीलाई सुरक्षा दिन प्रहरी पनि खटिएको थियो । अदालतका हाकिमहरू, प्रहरी र ऋण दिने साहुका अगाडि शेषकी श्रीमती जहिरा खातुनले हारगुहार गरेकी थिइन् । तर, अदालतको आदेश सर्वमान्य हुने भन्दै टहरो भत्काएर मात्र टोली फर्केको थियो । 

बकरिद पर्वको पूर्वसन्ध्यामा घरबारविहीन भएका खातुन र उनको परिवार बिचल्लीमा छ । नगरपालिकाका मेयरले दिएको त्रिपाल टाँगेर खातुनको परिवार अहिले सडकमै बसेको छ । ‘घर नभत्काउनुस्, तपाईंको पैसा जे–जति छ, सबै तिर्छु । छोरीहरू छन्, कहाँ लिएर जानू भन्दा पनि उनीहरूले मानेनन्,’ खातुनले भनिन्, ‘प्रहरीलाई पनि गुहार गरेँ । तर, उनीहरूले सुनेनन् ।’ उनले आफूहरूको घरमा रहेका अनाज, लत्ताकपडा सबै पुरिएको बताइन् ।

‘सोमबार हाम्रो बकरिद पर्व छ । जसोतसो केही सामान किनेर ल्याएका थियौँ । सबै बर्बाद भयो,’ उनले भनिन्, ‘पर्वको वेला सडकमा आइयो,’ दुई छोरा र चार छोरीका बाबु भने आठ वर्षदेखि वैदेशिक रोजगारमा साउदी अरबमा बस्दै आएका छन् । 

१२ वर्षअघि एजेन्ट ठाकुरले विदेश पठाइदिन्छु भन्दै शेषबाट २० हजार रुपैयाँ लिएका थिए । तर, ठाकुरले शेषलाई चार वर्षसम्म विदेश पठाएनन्, पैसा पनि फिर्ता गरेनन् । दैनिक ज्यालादारी गरेर घर चलाउने शेषले आफ्नो समस्या गाउँसमाजका भद्रभलाद्मीलाई सुनाए । त्यसपछि एजेन्ट ठाकुरले थप ५० हजार रुपैयाँ दिए मात्रै विदेश पठाउने बताए । ‘राम्रो कम्पनीको भिसा हो, महिनाको हजार रियाल कमाइ हुन्छ भन्दै ठाकुरले ५० हजार रुपैयाँ माग्यो,’ खातुन भन्छिन्, ‘विदेश पुगेर कमाएर पठाउँछु भनेपछि ठाकुरले मेरो श्रीमान्लाई विदेश पठाइदिएको हो ।’ तर, शेषले साउदीमा भनेअनुसारको काम पाएनन् ।

उनले मासिक चार सय रियल मात्रै तलब पाए । त्यसपछि उनले ठाकुरसँग गुनासो गरे । तर, ठाकुरले तलब बिस्तारै बढ्छ भनेर टारे । ‘वर्षौँ बित्दा पनि तलब बढेन । थोरै कमाइले घरपरिवार चलाउनै पुग्दैनथ्यो । दुई छोरीको बिहे गर्नुपर्ने थियो, त्यसकारण ठाकुरको पैसा दिन सकेनौँ,’ खातुनले भनिन् । 

प्रकाशित मिति: : 2019-08-12 07:06:32

प्रतिकृया दिनुहोस्