द्वन्द्व निर्देशकबाट फिल्म निर्देशक भएका डेबिड लिचद्वारा निर्देशित ‘बुलेट ट्रेन’ शुक्रबार (५ अगस्ट) मा रिलिज भएको छ। गुडिरहेकाे रेलमा हुने अपराध र रेलसँग अभ्यस्त मान्छेहरुको लागि कुनै नौलो कुरा भएन। अमेरिका र युरोपीयन देशहरुमा हुने सुविधाजनक रेल र भारत जस्तो देशमा हुने कुनै सुविधा नै नभएको रेलको प्रयोग नगरेका दर्शकहरुको लागि यो सिनेमा अनौंठो लाग्न सक्छ। रेलभित्र हुने अपराध र त्यस्तो कथा अगाडि बढाउन प्रयोग हुने लडाइँ, झगडा र रक्तपात समावेश भएको यो सिनेमामा डरलाग्दो स्टन्ट र नाम चलेका कलाकारबाहेक हेर्नलायक अरु केही छैन।
सिनेमाको कथाअनुसार आफ्नो बिगत बिर्सेर शान्तिको खोजीमा निस्केको भाडाको टट्टू (ब्रेड पिट)लाई उसको मालिकहरुले देख्छन र नयाँ नाम (लेडीबग) दिएर जबर्जस्ती एउटा काममा पठाउँछन्। उसको काम टोकियोबाट क्योटो जाने रेलमा रहेको सुटकेस चोरेर नजिकैको स्टेसनमा उत्रिनुपर्ने छ। यसैगरी यो रेलमा अरु पनि अपराधीहरु छन्, जस्तै: लेडीबगले चोर्न प्रयास गर्ने सुटकेसको ताल्चा फोड्न ताल्चा फोड्न सिपालु कालिगढको छोरोलाई छतबाट फालिदिने डर देखाउने प्रिन्स (जोय किङ्ग) र सुटकेसभित्र रहेको नोटको गड्डी हत्याउन त्यसकाेपछि लागेका क्रुर हत्याराहरु लेमन (ब्रेन टेरी हेनरी) र टेन्जरीन (आरोन टेलर जोन्सन)।
जसरी रेल अगाडि बढ्दै जान्छ रेलमा रहेका यात्रीहरु पनि क्रमश कम हुँदै जान्छन। अब त्यी अपराधीहरुलाई कसले मार्छ र लेडीबगको मालिकको छोरालाई अपहरण गरेर राखेको मान्छेहरुलाई दिने त्यो पैसा भरिएको सुटकेस कसको हात लाग्छ ? के त्यी अपहरणकारी आफ्नो उद्देश्यमा सफल हुन्छन ? त्यो थाहा पाउन सिनेमा नै हेर्नुपर्छ।
कलाकारहरुको अभिनयको कुरा गर्दा ब्रेड पिट र मारिसको भूमिकामा अभिनय गर्ने सान्ड्रा बुलकबाहेक अरु कलाकारहरु त्यति परिचित होइनन र उनीहरुको अभिनय सामान्य छ। ब्रेड पिट सधैंको जस्तो आफ्नो भावप्रधान अभिनयले दर्शकको मन जित्न सफल छन्। सिनेमाभरि दौडिरहेको रेल र एकैछिन स्टेसनमा रोकिनेबाहेक अरु नयाँ दृश्य नभएको कारण रेल चढेको अनुभव नभएका दर्शकहरुको लागि त्यति रुचिकर नलाग्न सक्छ।
निर्देशक लिच आफू स्वयम स्टन्ट डाइरेक्टर पनि भएको कारण स्टन्ट भरमार छ, जसलाई कमलो मुटु भएका मान्छेहरुले पचाउन सक्दैनन्। डोमिनिक लुविसको पार्श्व संगीत र जोनाथन सिलाको सिनेमोटोग्राफी उत्कृष्ट छ। जापानका प्रख्यात उपन्यासकार कोटारो इसाका लिखित ‘मारिया बीटल’मा आधारित कथामा ज्याक ओल्केविक्जले पटकथा लेखेका छन्, जो सलल बगेको छ। सिनेमाको कथा जापानको भए पनि सेट निर्माण गरेर अमेरिकामै सुटिङ्ग गरिएको हो।
स्टन्ट मन नपराउने दर्शकहरुलाई यो सिनेमाले मनोरञ्जन दिन नसक्ने भएको कारण समय र पैसाको बर्बादी नगर्दा राम्रो हुन्छ तर स्टन्ट र मारपिट मन पराउने दर्शकहरुलाई यो सिनेमाले भरपुर मनोरञ्जन दिन्छ।