कमल थापापछि राजसंस्थाको पक्षमा उभिए पशुपति राणा, पूर्वराजासँग नडराउन ‘प्रचण्ड’लाई आग्रह

काठमाडौं– गणतन्त्रको वकालत गर्दै आएका राष्ट्रिय प्रजातन्त्र पार्टीको एक घटकका नेता पशुपतिशम्शेर जबरा राजसंस्थाको पक्षमा उभिएका छन्। जबराले यसअघि हिन्दु राष्ट्रको माग राख्दै आएकोमा पछिल्लो समय भने राजसंस्थालाई पनि एजेण्डा बनाएका हुन्। 

२०६२/०६३ को जनआन्दोलनले राजसंस्थालाई विदाई गरेर गणतन्त्र ल्याएपछि राप्रपामा कमल थापा समूहमात्र हिन्दु राष्ट्र र संवैधानिक राजसंस्था पुनर्स्थापनाको एजेण्डा उठाउँदै आएको थियो। राणा समूह भने देश गणतन्त्रमा गइसकेकाले राजसंस्था छाडेर हिन्दु राष्ट्रको एजेण्डामा मात्रै केन्द्रीत थियो। 

शनिबार राजधानीमा आयोजित साक्षात्कारमा राप्रपा संयुक्तका अध्यक्ष राणाले राष्ट्र प्रमुखको भूमिकामा राजसंस्थालाई राख्नुपर्ने धारणा सार्वजनिक गरेका छन्। नेपालमा राष्ट्रप्रमुखको रुपमा रहेको राष्ट्रपतिको भूमिका निष्पक्ष र स्वतन्त्र हुन नसकेकोले अब राजसंस्थालाई उक्त भूमिकामा राख्नुपर्ने उनको भनाई छ।

‘नेपालमा राजसंस्था अन्त्य भएको ११ वर्ष भैसक्यो, अहिलेको राष्ट्र प्रमुख राष्ट्रपतिको भूमिका पार्टीभन्दा माथि उठ्न सकेन्’, रिपोर्टर्स क्लबको साक्षात्कारमा राणाले भने।  

निष्पक्ष र कुनै पनि पार्टीमा आवद्ध नभएकोले राजसंस्थाजस्तो पुरानो संस्थाले मात्रै राष्ट्र प्रमुखको भूमिका निर्वाह गर्नसक्ने उनको तर्क छ। ‘हामीले त राजसंस्थासहितको प्रजातन्त्र भनेका छौं। यसमा बहस पैरवी हुनुपर्छ’, उनले भने। 

प्रकाशित मिति: : 2019-08-11 07:23:26

प्रतिकृया दिनुहोस्