कोमामा भनिएका बिरामी कोठामै छट्पटाउँदै

विदेशी भूमिमा काम गर्ने क्रममा दुर्घटनामा परी कोमामा पुगेका भनिएका दुई नेपाली कामदार कोमामा नभई आफ्नै कोठामा छटपटाइरहेका छन्।

वैदेशिक रोजगार बोर्डको पछिल्लो रिपोर्ट अनुसार, बहराइन, मलेसिया र ओमानलगायतका देशमा २७ जना नेपाली कामदार कोमामा छन्। ती कामदार कसरी कोमामा पुगे र हाल कुन–कुन अस्पतालमा छन् भन्ने खोजबिन गर्ने क्रममा दुई जनालाई भने उनीहरूकै कोठामा फेला परेका छन्।

उनीहरू हुन् – ओखलढुंगाका प्रकाश कटुवाल र दिपेन्द्र कार्की। 

ओखलढुंगाको चम्पादेवी गाउँपालिका–५ निवासी कटुवाल वैदेशिक रोजगारीका लागि बहराइन गएका थिए। उनी उतै दुर्घटनामा परे र अचेत अवस्थामा पुगे। तर, हाल उनी कोमाबाहिर रहेको तर बहराइनमै छटपटाइरहेको उनकी श्रीमती मीना कटुवालले काठमाडौंप्रेसलाई बताइन्। 

उनले भनिन्, ‘उहाँ (प्रकाश कटुवाल) कुराकानी गर्न त सक्नुहुन्छ, तर काम गर्न नसक्ने हालतमा हुनुहुन्छ। अस्पतालबाट डिस्चार्ज भई कोठामै हुनुहुन्छ।’

कटुवाल गत वर्षको साउन महिनामा दुर्घटनामा परेका थिए।  यो वर्षको साउन बित्न लाग्दा समेत उनी खर्चको अभावमा उतै अड्किइरहेका छन्। 

कोमामा रहेका भनिएका तर अस्पतालबाट डिस्चार्ज भई आफ्नै कोठामा छटपटाइरहेका दिपेन्द्र कार्की नाताले कटुवालका मामा हुन्। काठमाडौंप्रेससँग इमोमा कुरा गर्दै कटुवालले गत साउन १६ गते गाडीले ठक्कर दिएर यस्तो घटना भएको बताए।

‘एक महिनासम्म अचेत थिएँ। होशमा आउँदा खुट्टा, ढाड, हात पूरै दुखिरहेका थिए, चल्मलाउन खोज्दा पूरै शरीर दुख्थ्यो, उठ्नै सकिनँ,’ कटुवालले भने। 

कटुवालका अनुसार, दिपेन्द्र कार्की पनि दुर्घटनामा परेका हुन्। कार्कीको माथिल्लो पट्टिका तीन दाँत झर्नुका साथै दिमागमा चोट पुगेको छ। 

कटुवाल र कार्की दुबैलाई बहराइनको साल्मानिया अस्पतालमा उपचार गरिएको थियो। कटुवाललाई त्यहाँ ५ महिना राखियो। त्यसपछि अहिले उनी आफ्नै दाइसँग कोठामै बसिरहेका छन्।

प्रकाशित मिति: : 2019-08-10 20:41:30

प्रतिकृया दिनुहोस्