संसदमा शत्रुता साँध्न जाने त होइन नि, सभामुख बोल्ड देखिनुपर्‍यो: तारानाथ रानाभाट

पछिल्लो समय अवरुद्ध हुँदै आएको संसद आजबाट खुलेको छ। साउन १३ मा प्रतिपक्षी दलहरुले कुमार पौडेलको हत्यारा पत्ता लगाउन माग गर्दै संसदमा अवरोध सिर्जना गरेयता सदन चल्न सकेको थिएन।

सोमबार ११ बजेका लागि बोलाइएको संसद सुचारु नहुने देखिएपछि सभामुख कृष्णबहादुर महराको प्रयासमा २ बजेबाट सदन सुचारु भयो। प्रतिपक्षीको माग नसुन्दा झन्डै २६ दिन सदनमा गतिरोध देखियो। यस्तै गतिरोध आएको अवस्थामा सदन कसरी सञ्चालन गर्ने त? कांग्रेस नेता एवं पूर्व सभामुख तारानाथ रानाभाटसँग नेत्र तामाङले गरेको कुराकानी :

पछिल्ला दिनमा संसद अवरुद्ध सामान्य झैं भएको छ। यसलाई कसरी हेर्नुभएको छ?

अहिले हामी प्रजातन्त्रमा छौं। प्रतिनिधिसभा पनि सामान्य अवस्थामै छ। सबैभन्दा पहिले त हामीले अहिलेको शासन व्यवस्था हेर्नुपर्‍यो। अहिले हामी दुई तीन ढंगले गम्भीर स्थितिमा छौं। नयाँ संविधान लागू भयो। मुलुक गणतन्त्रमा आयो। संघीयता छ। धर्म निरपेक्षता अपनायौं। मूल कानुनले स्वीकार गरिसक्यो यी सबै। राज्यका अंगहरुले भने यसलाई पालना गर्न चुकेका छन्।

जनताका भावनाअनुरुप देश विकासमा जनप्रतिनिधिको अग्रणी भूमिका देखिएन। यसमा सुस्तता आयो। त्यो सुस्तता किन आयो यो खोज्नुपर्ने बेला आएको छ।

अहिलेको धरातलीय यथार्थ हेर्ने हो भने दुई तिहाइको सरकार छ। कानुनको अभाव छैन। अन्य समस्या पनि छैन। अन्तर्राष्ट्रिय समस्याहरुमा अल्झिन परेको छैन। विकासमा सबैको सम्मानजनक सहयोग छ। सबै फ्रेन्ड्ली अवस्था छ। शत्रुता छैन। समग्रमा प्रतिकूल अवस्था केही छैन। अहिले सरकारलाई के अप्ठेरो छ र?

त्यस्तो हो भने यसखालको किचलो किन जारी छ त?

आन्तरिक रुपमा प्रतिकूलता देखियो। व्यवस्थापन गर्न नसक्दा यस्तो देखिएको हो। शान्ति चाहिन्छ। कानुनको शासन चाहिन्छ। बहुदलीय व्यवस्थाको मेरुदण्ड राजनीतिक दलहरु हुन्। राजनीतिक दलबीच विश्वासको, सहमतिको, सहकार्यको संस्कृति जोवन्त रहन्छ। हाम्रोमा द्वेष भाव छ सबै पार्टीभित्र। सत्तारुढभित्र कस्तो लुछाचुँडी छ। देखिएकै हो नि। आफ्नै पार्टीभित्र विरोध गरेर बसेका छन्। कांग्रेसमा पनि गुटउपगुट छ।

विकासको चरणमा हामी प्रवेश गरेको छौं - पाँच वर्षका लागि। त्यो सुविधामा टेकेर देशको मुहार फेर्न एक हुनुपर्ने हो नि। देश विकासका लागि पार्टीहरुबीच एकता देखाउन सकेनन्। विश्वासको संकट देखियो।

प्रकाशित मिति: : 2019-08-05 16:26:37

प्रतिकृया दिनुहोस्