चिनियाँ राष्ट्रपति सी जिन्पिङको नेपाल भ्रमण - केपी शर्मा ओली सरकारको परराष्ट्रनीतिको परीक्षा

सन् २०१२ मा चिनियाँ प्रधानमन्त्री नेपाल आउँदा उनको आगमनको तीन दिनअघि भ्रमणको तयारीका लागि नेपाली सेनालाई निर्देशन दिइएको तत्कालीन प्रधानसेनापतिले आफ्नो पुस्तकमा लेखेका छन्। आधादिने उक्त भ्रमणको व्यवस्थापनमा भएको भद्रगोलप्रति असन्तुष्टि व्यक्त गर्दै चिनियाँ प्रधानमन्त्रीको सम्मानमा सरकारले दिएको भोजबाट उनी बाहिरिएका थिए। 

हालैका वर्षमा नेपाली अधिकारीहरूले चिनियाँ राष्ट्रपतिलाई स्वागत गर्न आतुर रहेको बताउँदै आए पनि विश्वका शक्तिशाली नेतालाई नेपाल निम्त्याउने चाहिने बृहत् स्तरको तयारी भने नदेखिएको परराष्ट्र मामिलाका जानकारहरू औँल्याउँछन्।

नेपालका नेताहरूले आफूहरू चिनियाँ राष्ट्रपतिलाई काठमाण्डूमा स्वागत गर्न आतुर रहेको बताउन थालेको धेरै भयो। अन्तिम पटक चिनियाँ राष्ट्रपति जियाङ जमिनले सन् १९९६ मा काठमाण्डूको भ्रमण गरेका थिए। 

त्यसयता नेपालमा धेरै राजनीतिक तथा सामाजिक परिवर्तन भएको छ। चीनले यो अवधिमा तीव्र आर्थिक वृद्धि हासिल गर्दै आफूलाई विश्वशक्ति राष्ट्रका रूपमा आफूलाई स्थापित गरेको छ। 

यो अवधिमा नेपालले सशस्त्र द्वन्द्व खेप्यो, दरबार हत्याकाण्ड भोग्यो, जनआन्दोलनको आँधीबेहरीमार्फत् राजतन्त्रको अन्त्य देख्यो र त्यसपछिको लामो सङ्क्रमणकालीन प्रक्रियाअन्तर्गत संविधानसभाबाट नयाँ संविधान पनि बनायो। 

यो अवधिमा तारन्तार नेपालका नेता, प्रशासक र अन्य कैयौँ प्रभावशाली व्यक्तिले बेइजिङको भ्रमण गरे। चीनबाट पनि त्यहाँका कैयौँ उच्च नेताहरू एवम् सैनिक अधिकारीहरूले काठमाण्डूको भ्रमण गरेका छन्। 

तर योसहित दोस्रो कार्यकाल सम्हालिरहेका राष्ट्रपति सी जिन्पिङको काठमाण्डू भ्रमणको साइत अझै जुरेको छैन। 

आफ्नो देशको संवेदनशील तिब्बत पठारसँग लगभग १४ सय किलोमिटरभन्दा लामो सीमा रहेको नेपालको भ्रमण पछिल्लो अढाइ दशकमा चिनियाँ राष्ट्रपतिको तहमा भएको छैन। 

भ्रमण नहुनु नेपालको कूटनीतिक विफलता?

परराष्ट्र मामिलाका जानकारहरू नेपालको राजनीतिक अस्थिरता र दलहरूबीच परराष्ट्र मामिलामा देखिएका विवादलाई चिनियाँ राष्ट्रपतिको भ्रमण हुन नसक्नुको कारणका रूपमा अर्थ्याउँछन्। 

चीनका लागि एक भूतपूर्व नेपाली राजदूत भन्छन्, "नेपालले राष्ट्रपतिको तहमा भ्रमण हुनुपर्‍यो भनेर आग्रह गर्दा हामी समय मिलाएर आउँछौँ भनेर चिनियाँहरूले जबाफ दिने गरेका छन्। यो साल पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग वार्ता गर्नका लागि चिनियाँ राष्ट्रपति भारत जाने कुरा छ। भारत जाने तर नेपाल नआउने भयो भने हामीले त्यसलाई हाम्रो कूटनीतिक पहल विफल भएको रूपमा बुझ्नुपर्छ।" 

उनका अनुसार नेपालका तर्फबाट उच्चस्तरीय राजनीतिक तयारी भए चिनियाँ राष्ट्रपतिको भ्रमण असम्भव देखिँदैन।

प्रकाशित मिति: : 2019-08-04 12:42:40

प्रतिकृया दिनुहोस्