कविता भावनाको कलात्मक अभिव्यक्ति मात्र होइन, होइन फगत कोरा शब्दहरूको सङ्गालो मात्रै। यो त आफैँमा जागरण पनि हो। चेत पहिल्याउने बाटो पनि हो। कविता आफैँमा नदी हो, निरन्तर चेतना प्रवाहित हुने नदी। अर्को नदी अर्थात् कालीगण्डकी। यी दुई नदीलाई जोड्ने प्रयत्न गरेका छौं हामीले।
नेपालका मात्रै होइन, विश्वकै नदीहरूमाझ छुट्टै विरासत बोकेको नदी हो कालीगण्डकी। ऋषिहरूले सिद्धि र मुक्ति प्राप्तिका लागि र विज्ञहरुले पर्यावरणका लागि कालीगण्डकी बहाव क्षेत्रलाई अति उत्तम मानेका छन्। पारिस्थितिक प्रणालीको उपयोगिताले पनि कालीगण्डकी आफैंमा विशिष्ट नदी हो। यससँग लाखौं मानिसहरुको जीवन जोडिएको छ। स्थानीयका निम्ति जीवन मात्र होइन, जन्मदेखि मृत्युसम्मको जीविका र संस्कार जोडिएको छ।
दुर्भाग्य, अहिले कालीगण्डकीमाथि विभत्स अवैध दोहन चलिरहेको छ। कालीगण्डकीको पवित्र जल प्रतिदिन प्रदुषित बन्दै गएको छ भने नदीमा जलमात्रा पनि पनि घट्दो छ। नदीको सभ्यता, पर्यावरण र जिविकामाथि गम्भीर संकट पैदा हुने गरि गरिने दोहनका कारण घाटहरू विस्थापित बनेका छन्।
दामोदरकुण्ड–मुक्तिनाथदेखि कालीगण्डकीसँगै बगी आउने प्रशिद्ध शालिग्राम शिला डोजरले उत्खनन गरी गिट्टीमा परिणत हुँदैछ। नदीलाई नदीकै बाटो हिँड्न नदिँदाको परिणाम हामीले भोगिरहेका छौँ। यस्तै हस्तक्षेप कालीमाथि भइरहने हो भने त्यसले निम्त्याउने सङ्कट कल्पना बाहिरको छ।
त्यसैले, कालीगण्डकी नदीको वैविध्य (धार्मिक, साँस्कृतिक, भौगर्भिक, जैविक, प्राकृतिक, जनजिविका) लाई आममानिसका बीच परिचित गराउन र यसले बेहोर्दै आएको भयावह सङ्कटलाई विभिन्न विधामार्फत चेतना फैल्याउने अभियान आरम्भ भएको छ।
त्यसलाई कवितामार्फत मुखरित गर्न ’कालीगण्डकी बचाऔँ अभियान’ले 'नदी सप्तक श्रृङखला' (आन्दोलन कविता) सुरू गरेकाे छ।
यस अन्तर्गत बिसाैँ श्रृंखलामा कवि सुदेश सत्यालकाे कविताः
उर्लियो गण्डकी भने
जल त्यो जल नै हुन्छ धमिलै आउला भल
मुक्तिनाथ स्वयं जागे गण्डकी बग्छ कल्कल
वनको मनमा आगो को खोज्दै छ लगाउँन
शालिग्रामहरू आओ शालिग्राम बचाउँन ।।
नदीका छेउमा बस्छन् चराजस्ता श्रमी जन
सुकुम्बासीहरू बस्छन् सतीसाल बनीकन
देशको अङ्ग काटेर देश बन्छ र नन्दन
कालीदासहरू उठ्छन् तरबार लिईकन ।।
माटोझैँ छैन खै माटो उपाचार छ लज्जित
मृत्युको गीत गाएर त्रिशूली छ तरङ्गित
आऊ प्रकृति जोगाऊ भन्दै को जुर्मुराउँछन्
माइतीघरमा नारा युधिष्ठिर लगाउँछन् ।।
पानी हावाहरू नै हुन् सृष्टिका परमेश्वर
नसक्दा स्वर्गमा बाँच्न पृथ्वी आए महेश्वर
लैनो गाई त हो धर्ती दुहुदै छन् निरन्तर
बन्दुक सभ्यतामाथि तेर्स्याई अर्थ के छ र ।।
अश्वमेधहरू खोजे भेटिन्छन् पृथिवीमुनि
चराचर भए धन्य पाएर एउटै जुनी
आस्थाको धाम भत्काए कहाँ गर्ने उपासना
हो आन्दोलन गर्दै छन् ब्रह्मा विष्णु किनारमा ।।
कुरूप चित्र धर्तीको जलले नै सिँगार्दछ
नदीको मुखको बिर्को नदीले नै उघार्दछ
पहाडको कठै छाती लाखौँ डोजरले खने
आकाश बाँसझैँ नुग्छ उर्लियो गण्डकी भने ।।
यसलाई पाेस्टरमा पनि पढ्न सकिन्छः