पोलिग्राफ जाँचः ५० प्रतिशत अभियुक्तको बयान झुठो

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा प्रमाण नष्ट गरेको आरोप लागेपछि तत्कालीन अनुसन्धान अधिकृतको पोलिग्राफ परीक्षण गरिएको थियो ।

हालका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) धिरु बस्न्यातको नेतृत्वमा प्रहरी प्रधान कार्यालयले बनाएको समितिले अनुसन्धानमा संलग्न अधिकृतले दिएको बयानको सत्यता जाँच्न पोलिग्राफ परीक्षण गरेको हो । निर्मलाको सुरुवाल धोएको भिडियो भाइरल भएपछि प्रहरी जवान चाँदनी साउदको पनि पोलिग्राफ परीक्षण भएको थियो । परीक्षणमा उनले दिएको बयान झुटो नभएको देखिएको थियो ।

गतवर्ष ४ भदौमा बबरमहलस्थित घरभित्रै पूर्वराजदूत केशवराज झाको छुरी हानी हत्या भयो । महानगरीय अपराध अनुसन्धान महाशाखाले परिवारका सदस्यसहित सुरक्षागार्ड ४८ वर्षीय कान्छाराम तामाङ, माली ५३ वर्षीय आइतेसिंह तामाङ र ५६ वर्षीय जयबहादुर गुरुङलाई अनुसन्धानको दायरामा ल्यायो ।

बयानमाथि शंका लागेपछि महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीमा लगेर गरिएको पोलिग्राफ परीक्षणमा कान्छारामको बयानमा कैफियत देखियो । मालीले छुटकरा पाए । सुरक्षागार्ड तामाङ अझै प्रहरीको शंकाकै घेरामा छन् ।

यसरी पोलिग्राफ परीक्षणबाट प्रहरीलाई अपराध अनुसन्धानको दायरा साँघुरो बनाउन सहज बन्दै गएको छ ।

अख्तियारलाई सबैभन्दा बढी सहयोगी

पछिल्लो समय अख्तियार दुरुपयोग अनुसन्धान आयोगका लागि पनि पोलिग्राफ परीक्षण सहयोगी बन्दै गएको तथ्याङ्कले देखाउँछ ।

महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्यामलाल ज्ञवाली भन्छन्, ‘आर्थिक वर्ष २०७५/०७६ मा घुस लिने ३२ जनाको पोलिग्राफ परीक्षणका लागि पठाइएको थियो ।’

तीमध्ये २४ जनाले झुटो बोलेको देखिएको थियो भने दुई जनाले मात्रै सत्य बालेको भेटिएको थियो । ‘तीन जनाले चाहिँ परीक्षण गर्नै मानेन्’, एसएसपी ज्ञवालीले अनलाइनखबरसँग भने ।

अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइराला कानूनतः अभियुक्तको इच्छा विपरीत पोलिग्राफ परीक्षण गर्न नमिल्ने भएकाले राजी भए मात्र परीक्षण गरिने बताउँछन् ।

‘परीक्षण गराउन नमानेका व्यक्तिको हकमा आरोप पत्रमै परीक्षण गर्न नमानेको उल्लेख गर्छौं’, सह-सचिव कोइरालाले अनलाइनखबरसँग भने, ‘पोलिग्राफ परीक्षण हामीलाई धेरै सहयोगी साबित भएको छ ।’

अख्तियारमा मात्रै सम्भव नभएको अवस्थामा महानगरीय प्रहरी कार्यालय, रानीपोखरी लगेर पनि परीक्षण गरिने कोइरालाले बताए ।

देशभर १४ स्थानमा पोलिग्राफ मेसिन

प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागका अनुसार अहिले देशभर २७ स्थानमा पोलिग्राफ परीक्षण हुन्छ । २२ माघ ०७० मा तत्कालीन प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले निर्देशिका जारी गर्दै केन्द्रीय पोलिग्राफ परीक्षण शाखा स्थापना गरेका थिए ।

त्यसवेला अमेरिकामा १० जना प्रहरी अधिकृतले पोलिग्राफ परीक्षण सम्बन्धी तालिम लिएर पोलिग्राफ परीक्षण थालिएको थियो । विदेशबाट तालिम लिएर आएका अधिकृतलाई खटाएर विशेष ब्युरो, केन्द्रीय अनुसन्धान ब्युरो र लागूऔषध नियन्त्रण ब्युरोमा पोलिग्राफ परीक्षण थालिएको थियो ।

अहिले पनि वर्षेनि १० जना पोलिग्राफ सम्बन्धी तालिमका लागि अमेरिका जाने गरेको प्रहरी प्रवक्ता विश्वराज पोखरेल बताउँछन् ।

‘हाल ४० जना विशेषज्ञ तालिम प्राप्त पोलिग्राफ विज्ञ प्रहरीले देशभर १४ स्थानमा सेवा प्रवाह गरिरहेका छन्’, प्रहरी नायब महानिरीक्षक (डीआईजी) पोखरेलले अनलाइनखबरसँग भने, ‘प्रहरी नायब उपरीक्षकदेखि जुनियर प्रहरीसम्म पोलिग्राफ शाखामा कार्यरत् छन् ।’
पोखरेलका अनुसार अहिले हरेक प्रदेशमा पोलिग्राफ परीक्षण गर्न सकिने उपकरण राखिएका छन् ।

 

प्रकाशित मिति: : 2019-08-02 19:07:45

प्रतिकृया दिनुहोस्