लघुकथा

मौन अवधि

मुक्ति गौतम

मणिपुर (भारत) 

चुनावी मौसमले ल्याएको आँधी/बेहोरी र गड्यांगगुडुंगले कतिको मन उडायो ? कतिको धन उडायो ? कतै चट्याङ परेर के कसो भयो ? तर, अहिले दल-दल र दल-बदलको हुण्डरी थामिएको छ।

पार्टीका उम्मेद्वार र कार्यकर्ताहरु मौन अवधिको लकडाउनमा छन्। चकमन्न छन्, सहर, गाउँ, टोल र गल्ली-गल्लीहरू।

कर्णबहादुर निदाएकै छैन। छट्पटाइरहेको छ। कसैलाई धम्क्याएको, कसैलाई गाली गरेको, कसैलाई लोभ्याएको कुराहरूले उसलाई पोलिरहेको छ। घरी पानी खान्छ, घरी कोठाको वल्लो-छेउ र पल्लो-छेउ गर्छ। घरी लामो हाई काढ्छ, घरी औंला पड्काउँछ।

‘हेल्लो,’ राती १२ बजेतिर मोबाइल टिङरिङ् करायो।

‘हजुर,’ डराउँदै फोन उठायो।

‘हुनसम्म भयो हजुर। मौन अवधिको पालन गर्दै धनबहादुरका जम्मै कार्यकर्ताहरु विद्युतीय संजालद्वारा चुनाव प्रचार गरिरहेका छन्। घर भित्रैबाट भोट मागिरहेका छन्। नगरपालिकाका जम्मै युवा र महिलाहरु पुण्यप्रसाद पट्टी खनिएछन,’ आफ्नो प्रमुख समर्थक बोल्यो।

‘हावा कुरा न गर्। त्यो सिङाने पुण्डे पिउसोलाई कस्ले पत्याउँछर ? कस्ले भन्यो तँलाई ?,’ कर्णबहादुर हडबडायो।

‘मेरो पनि उपाय भएन हजुर। मेरै श्रीमती त्यो पुण्येकी प्रमुख समर्थक रहिछन्। तपाईं धेरै पटक मेयर बनेर भ्रष्टाचार गरेको मान्छे अरे। यसपाली नयाँ युवा पुस्तालाई मेयर बनाउने अरे,’ फोन काटियो।

प्रकाशित मिति: : 2022-05-12 16:45:00

प्रतिकृया दिनुहोस्