अब ट्राफिक प्रहरीले मदिरा सेवन गर्नेको मुख सुँघ्न पर्दैन

तस्बिरः सेतोपाटी

मादक पदार्थ सेवनकर्तालाई सडकमा ट्राफिक प्रहरीले मुख सुँघ्ने गर्छ। यसो गर्दा ट्राफिक प्रहरीले झन्झट मात्र हैन, सरुवा रोगको संक्रमण नै झेल्नु परिरहेको छ।

मदिरा सेवन गरेका व्यक्तिको मुख सुँघ्नुपर्दा शारीरिक रुपमै प्रहरीले समस्या भोग्नुपर्ने परिस्थितिले ट्राफिक प्रहरीको मनोबल कमजोर भएको पनि गुनासो छ। फेरि, सेवनकर्ताले आफू निर्दोष रहँदारहँदै ट्राफिक प्रहरीले दु:ख दिएको भनी ‘अन द स्पट’ झन्झट पनि दिने गरेका छन्। प्रहरी र सेवनकर्ताबीच कहिलेकाहीँ झगडा हुने कारण पनि मापसे जाँचको कमसल प्रयोगलाई मान्ने गरिएको छ।

यस्ता समस्या समाधान गर्न ट्राफिक प्रहरीले मदिरा सेवनको मात्रा तौलने ‘ब्रेथलाइजर’ प्रयोगमा नल्याएको भने हैन। तर, ती ‘ब्रेथलाइजर’ बिग्रिरहने भएकाले प्रहरीले सेवनकर्ताको मुख सुँघेकै आधारमा ‘चिट’ काटेर कारबाही गरिरहेको छ।

बेलाबखत त ‘रेडबुल’ सेवन गर्दा पनि ट्राफिक प्रहरीले चिट काटेको भनेर महानगरीय ट्राफिक महाशाखामा गुनासो गर्नेहरूको संख्या निकै छ।

यी सबै समस्या समाधानको उपाय के? ट्राफिक प्रहरीले आवश्यकता महसुस गरिरहेको मापसे जाँचको आधुनिक उपकरण हो।  

यस्ता समस्या समाधान गर्न चुनौती भइरहेका बेला प्रदेश नम्बर १ सरकारले मादक पदार्थ सेवन गरी सवारीसाधन गुडाउनेहरूलाई नियन्त्रणका लागि आधुनिक किसिमका ‘ब्रेथलाइजर’ खरिद गरी प्रयोगमा ल्याएको छ। यसले हदसम्म गुनासो कम हुने विश्वास लिइएको छ।

आन्तरिक मामिला, गृह तथा कानुन मन्त्रालयले २६ लाख रुपैयाँको लागतमा २० वटा आधुनिक ‘ब्रेथलाइजर’ प्रदेश १ मा प्रयोगमा ल्याएको छ।

आइतबारदेखि ती ‘ब्रेथलाइजर’ प्रयोगमा आएपछि अब ट्राफिक प्रहरीले मदिरा सेवनकर्ताको मुख सुँघ्नु नपर्ने मन्त्रालयले दाबी गरेको छ। ‘ब्रेथलाइजर’ मुखको छेउमा लग्नेवित्तिकै त्यसले मदिरा सेवनको मात्रा उल्लेख गरी प्रिन्ट गरेर कागज नै दिने हुनाले मदिरा सेवनकर्ता नियन्त्रण गर्न सजिलो हुने विश्वास मन्त्रालय र ट्राफिक प्रहरीले लिएको छ।

प्रकाशित मिति: : 2019-07-31 08:52:40

प्रतिकृया दिनुहोस्