वीर अस्पतालको बेहाल

 एमआरआई मेसिन उद्घाटन गरेर मन्त्रालय पुगेका उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले भोलिपल्ट मेसिन बिग्रेको खबर पाए। पर्सिपल्ट थाहा पाए, ‘मेसिन बिग्रेको होइन। बिगारिएको हो।’

अस्पतालबाट भइरहेको सेवा प्रवाहप्रति मन्त्री यादवले असन्तुष्टि जनाए।

अस्पतालमा आइतबार आयोजित कार्यक्रममा उनले भने, ‘त्यही मेसिन सरकारीमा तुरुन्तै बिग्रने। निजीमा वर्षौंसम्म चल्ने। उपचारका लागि आएका बिरामीलाई निजीमा पठाउने धन्दा बन्द हुनुपर्छ। प्राविधिकले उपकरण चलाउन नसक्ने र कर्मचारीले बिगार्ने हो भने पब्लिक प्राइभेट पार्टनरसिपमा जान सक्छौं।’ जनताको करले सञ्चालित अस्पतलाको सम्मान गर्न स्वास्थ्यमन्त्री यादवले आग्रह गरे।

मुलुकको ऐतिहासिक अस्पतालले १३० औं वार्षिकोत्सवको मनाइरहेका बेला सेवाग्राहीको असन्तुष्टि मन्त्री यादवको भन्दा बढी छ। अस्पतालले २४ घण्टे फार्मेसी सेवा उपलब्ध गराउन सकेको छैन।

अस्पतालका कार्यकारी निर्देशक डा. केदारप्रसाद सेञ्चुरी भन्छन्, ‘ ज्यामितीय रूपमा सेवाग्राही बढेका छन्। सेवासुविधा तथा उपकरण थप्ने प्रयास गरेको छु।’

१९४७ साउन १२ गते १५ शड्ढयाबाट अस्पतालले सेवा सुरु गरेको थियो। २०५९ सालमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) मा स्तरोन्नति भएको थियो। उपचार र दक्ष जनशक्ति उत्पादनमा योगदान गरिरहेको जेठो अस्पताल न्यून पूर्वाधार, दक्ष जनशक्ति पलायन र उपकरण अभावले थलिएको छ।

जनशक्ति पलायनको पीडा

विभिन्न तहका दक्ष जनशक्ति उत्पादनका कार्यक्रम सञ्चालन गरिरहे पनि अस्पतालमा विज्ञ चिकित्सक अभाव छ। क्याथ ल्याब नभएको र काम गर्ने वातावरण पनि नभएपछि वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा. प्रकाशराज रेग्मीले राजीनामा दिए।

न्युरो विभाग प्रमुख प्रा.डा. गोपालरमण शर्मा राजीनामा दिएर निजी अस्पतालमा गएका छन्। अस्पतालमा मिर्गौला रोगको उपचार थालनी गरेका डा. ऋषिकुमार काफ्ले पनि लामो समय टिकेनन्।

१३० वर्ष पुगेको मुलुकै जेठो अस्पतालमा अर्बौं लगानी भइरहे पनि आईसीयू अभाव, जनशक्ति पलायनको पीडा र उपकरण बिग्रिने रोगबाट ग्रसित छ।

अस्पतालमा चिकित्सक टिक्न नसक्नुको कारण धेरै छन्। एक वरिष्ठ चिकित्सक भन्छन्, ‘अनुभवी एवं दक्ष जनशक्ति राजीनामा दिएर निजी अस्पतालमा जानु दुर्भाग्य हो।’ नर्सहरू पनि हरेक वर्ष पलायन भइरहेका छन्।

अस्पताल कार्यरत चिकित्सकको ध्यान पनि निजीमा बढी छ। ब्रान्डका लागि वीरमा बसिरहेको बताउने चिकित्सकहरूले अधिकांश समय निजी अस्पतालमा बिताउने गरेका छन्।

 

प्रकाशित मिति: : 2019-07-29 08:13:18

प्रतिकृया दिनुहोस्