एक दिन मैले चिनेको मेरै कोही मित्रको फेसबुक पोस्टमा एक गजबको कमेन्ट देखेको थिँए-उसको।
मलाई मन परेको थियो । को रहिछ यसरी कमेन्ट गर्ने भनेर जान्न मन लाग्यो। त्यसैले एक पटक उसको प्रोफाइललाई काउकुती लगाउने मन लाग्यो।
प्रोफाइल फोटो हेरेँ। निलो सारीमा सजिएकी, एक चुच्चे नाक गरेकी बाहुनी केटीको फोटो देखियो। प्रोफाइल तल थप लेखिएको थियो, स्टडि इन्जिनियरिङ एट Mid-western University । जो मेरो घर नजिकै छ।
उसका केही फोटोहरु हेरेँ। स्टाटस पढे। यत्ती भएपछि कहिल्यै नदेखेको, नचिनेको मान्छे भएता पनि सायद दिमागमा कोही व्यक्तिको आकृति बनाउन प्रयाप्त हुँदो रहेछ। त्यस्तै एक बोल्ड, भिन्न मनोवृत्ति र जुझारु युवतीको छाप मेरो मानसमा टाँसियो।
त्यसपछि सायद हामी फेसबुकमा जोडियौँ र केही छोटाे कुराकानी भयो। तर यो याद छैन कि कसरी हामी फेस्बुकमा साथी भएका थियौँ। कसले कसलाई साथी बन्ने रिक्वेस्ट गरेको थियो।
सायद म नै हुनुपर्छ। तर के कुराकानी भएको थियो त्यो पनि याद भएन। न प्रत्यक्ष उसले मलाई देखेकी थिई। न मैले उसलाई देखेको थिए। राम्रो चिनजान र थप कुरा नभईकनै मैले आफ्नो फेस्बुक अकाउन्ट सधैँका लागि डिलिट गरिदिँए र अन्य सामाजिक सञ्जालहरुबाट मुक्त हुने प्रयास गरिरहेँ तर इन्स्टाग्राम चाहीँ प्रयोग गरि नै रहेको थिए।
एक दिन एउटा कविता र गजल वाचनको कार्यक्रममा उ सँग फेरी महिनौँपछि भेट भयो। एक अर्कालाई चिनिहाल्याैँ। सायद त्यही दिन थियो हाम्रो पहिलो भेट।
म कविता लेख्छु भनेर उसले र उ कविता मन पराउँछे भनेर मैले पत्तो पाएको पनि सायद त्यही दिन होला।
एक छोटो कुराकानीपछि हामी फेरि छुटियौं। अर्को पटक केही महिनापछि अर्को एउटा कार्यक्रममा भेटिएकी थिई। यतिबेला चाहीँ अलि लामो कुरा हुन नपाए पनि दुइवटा सवाल जवाफ गर्न मिल्ने जति समय पाएको थिँए। एक्कासी उसको व्यक्तित्व मैले सोचेको वा दिमागमा बनाएको आकृतिभन्दा एकदम भिन्न भएको पाँए।
उ एकदमै शान्त, सुशील। राम्री पाठक र कम बोल्ने मिठो स्वर भएकी। होची बच्चा जस्तै नादान र फुल जत्तिकै निर्दाेषा थिइ। उ त्यस्ती थिइ, जस्ती सामाजिक सञ्जालकाे आधारमा मैले उसको ब्यक्तित्व कल्पना गरेको थिए। त्यसपछि मेराे उसलाई हेर्ने नजरिया पुरै १८० डिग्री नै बदलिएको थियो।
उ पहिला त्यती आकर्षक लाग्थिन। तर त्यो भेट पश्चात मैले भेटेका राम्रा मान्छे भित्र पर्न थाली। सायद उसले पनि मलाई जान्न प्रयत्न गरि हो। र मबाट उ पनि उत्तिकै प्रभावित थिइ, जत्तिको म उसबाट।
उसलाई सम्झदा लाग्थ्यो, संगत गर्न लायक कोहL एकजना राम्रो साथी भेटिएको छ। तर कसरी हामी एकै बोन्डिङमा आउन सक्छाैं? यो अझै दुविधा थियो।
एकदिन इन्स्टाग्राममा उ सगँ अलिअलि कुरा हुन पायो। थाहा छैन हामी कुराकानी गर्दा गर्दै सफरमा कहाँ सम्म पुग्यौं तर यत्ती थाहा थियो कि हामी सहि गन्तव्यमा जाने प्रयास गर्दैछाै।
न मलाई उ प्रतिको शारिरिक आकर्षण वा प्रेम मोह थियो। न त सायद उसलाई नै थियो होला। तर हामी दुईबीच इम्प्रेसन राम्रो थियो। थिए कयौं समानताहरु र थोरै असामनाताहरु पनि। तर म उसलाई आफ्नो एक नजिकको मित्रका रुपमा कल्पना गर्न थालिसकेको थिए। जो सँग पुस्तकका बारेमा, सिनेमा, गीत संगीतका बारेमा चर्चा होस्।
मेरा कविता उसले सुनिदियोस्, उसका मैले। यस्तै समान रुची र भावनाका मान्छेहरु नजिक हुँदाको आनन्द नै फरक हुन्छ। म त्यही आनन्द कल्पेर बस्थेँ। कति रातहरुलाई हामीले निदाउन दिएनौं होला।
म्यसेजमा दैनिकी रुपमा केही गजब हुन थाल्यो। कहिले अङ्ग्रेजीमा कुरा गर्थ्याैं। कहिले केवल कविता र गजलका सेरहरुबाट मात्र कुरा हुन थाले। र कहिले हिन्दी र उर्दुका मिक्स लवजमा। तर जे जति रात यसरी बिते एकदम गजब बिते।
यसरी कसैलाई राम्ररी नचिनेरै, प्रत्यक्ष राम्ररी नभेटेरै हामी कयौं नजिक आईपुग्यौं। उसलाई मैले चाहेर भेटेको थिइन। खोजेर चिनेको होइन तर समयले पटक पटक भेट गरायो। र धारणा बदलिदिएर भएपनि सम्बन्ध स्थापित गरायो। त्यसैले मलाई कुनै पनि सम्बन्धहरु अजिब लाग्छन र गजब पनि। सायद, हामी बीच एउटा अनाम सम्बन्ध स्थापित भएको थियो।
मलाई कविता लेख्न उ सँगको कुराकानीले पनि केही हदसम्म सहयोग पुर्यायो होला। र उसको लेखनिमा पनि सायद यो सम्बन्धले।
उसको र मेरो घरको दुरी त्यति टाढा थिएन। तर पनि हामी किन किन भेट्न् सकिरहेका थिएनौं। हामी एउटा त्यो दिनको प्रतीक्षा गरिरहेका थियौं, जुनदिन दुबैको प्रत्यक्ष भेटघाट भैदियोस।
कयौं गफगाफ हुन र एक अर्कालाई अझ राम्ररी चिनियोस। हामी दुवै पर्खिरह्यौं त्यो एक दिनलाई।