टिकटसँगै हराएकी महबूबा

यतिबेला बिहानी पख २ बजेको होला। म बागबजारको  होटेल हार्दिकको दोस्रो तलाको पूर्वी छेउको एक कोठामा चुरोटको धुवाँ फोक्सोमा भर्दै झ्यालबाट सुनसान सडक नियालिरहेको छु। आज खै किन हो, एक्कासी निन्द्राबाट ब्युझिँए। फेरि निदाउने थुप्रै प्रयास गरेँ। तर  सकिन।  धेरैबेर ओछ्यानमै लडेर बस्न पनि नमजा लाग्यो। अनि  एउटा चुरोट सल्काएर यसरी  झ्यालमा आएर मौन  बसेको छु। 

एउटा कार्यक्रमको सिलसिलामा म काठमाडौं आएको थिए। आज पाँच दिनजति भयो होला। म यहि कोठामा छु। हुन त कार्यक्रम सकिएको दुई दिन भैसक्यो तर मलाई यति हतारमै घर जान मन लागेको छैन। अनि यतै बिनाकारण कोठाभित्र बसेको छु। ओछ्यान पुरै लथालिङ्ग छ। टेबलको एसट्रेमा प्रसस्त चुरोटका ठूटाहरु छन्, जसलाई नजिकबाट नियाल्ने हो भने  यति चुरोट किन पिउछस् मुजि भनेर एकैछिनमा मेरैबिरुद्ध  ठूटाहरु जुलूस निकाल्लान् जस्तो देखिन्छ। 

त्यतै कतै आसपासमा केही कागजका पानाहरु छरिएका छन्। टेबलको टाढा एक कुनोबाट रावतको एउटा कविता संग्रह (राजधानीमास्तिरको राजधानी) मलाई हेर्दै- हिजोबेलुकि आधा पढेको कविता पूरा गर्दैनस् अल्छि भनेर सवाल गर्न लागेको जस्तो देखिन्छ। पलङमुन्तिर सरुभक्तको पागल बस्ती लम्पसार छ। उसलाई कुनै झर्को भुटाे छैन। मस्त निदाएको छ। 

खासमा म दुई दिन थप यहाँ बसेको पनि एउटा लेख्दै गरेको आधा कथा पूरा गर्न सकिन्थ्यो कि भनेर हो। तर मरिगए केही लेख्न  सकिएन। फुर्सद हुँदाहुँदै बाहिर कोहि साथीभाईसँग भेटघाट पनि गरे हुन्थ्यो। त्यो पनि गरिएन। अनि त्यत्तिकै के बसिराक्नु आज, अब घर  फर्किनुपर्छ कि जस्तो पनि लाग्यो। यसो फोनमा  फ्लाइट  चेक गरे। तीन दिनसम्म अझै कुनै सुर्खेत जाने फ्लाइट थिएन। दसैं जो नजिकिदै थियो।

काठमाडौंदेखि सुर्खेतसम्मको भाडादर पनि सस्तोमा दश हजार थियो । मसँग अब पाकेटमा होटेलको बिल तिरेर बच्ने लगभग त्यही सात-आठ हजार जति मात्र थियो होला। अब धेरै दिन मेरो खल्तीले मलाई  काठमाडौंमा पाल्न सक्ला जस्तो लागेन। अब गाडीमै भए पनि घर जान्छु भन्ने लाग्यो। काठमाडौंदेखि सुर्खेतको रात्री यात्रा करिब १८ घन्टा जत्तिको होला।

मुग्लिङमा जाम पर्यो भने त झन्  ३६ घन्टा पनि लाग्न सक्थ्यो। त्यसमाथि पुरै यात्रा भरी कोहि साथी भएन भने त त्यो जति उकुसमुकुस मलाई केही पनि लाग्दैन। त्यसैले प्राय: म एक्लै यात्रा गर्दा मेरो रोजाईमा जहिल्यै गाडी दोस्रो नम्बरमा हुन्छ।

आज जसरी पनि सुर्खेत जान्छु भनेर नुहाईधुवाई गरेर होटेलबाट दिउँसै चेकआउट भएर गोंगबु आइपुगे। बसपार्क आइसकेपछि याद आयो। धोएर राखेको कट्टु, तौलिया र दात माझ्ने बुरुस त त्यतै पो छुटेछ।

खैर घर जाने बेला कसले कट्टु याद गरिराखोस् अब! ध्यान हटाएँ।   बसपार्क भरी दसैंमा घर फर्किनेको पुरै भिडभाड थियो। यत्तिका मान्छे त हाम्रोतिर मेला महोत्सवमा पनि हुन्नथे होला। मैले काउन्टर पुगेर सुर्खेतको लागि टिकट मागेँ। 

भाइ एक हप्तासम्म सुर्खेत जाने कुनै गाडी छैन। अग्रिम बुकिङ गर्नुपर्छ नि भनेर फर्कायो। अब आउने पाँच दिनमा दसैं थियो। एक हप्तापछि घर पुगेर मलाई के खोस्याउँनु छ, सोच्यो होला मुलाले। कतै ‘एडजस्ट’ गर्न मिल्दैन दाई आज नगई भएको छैन भनेर आग्रह गरे। के सुन्थ्यो मुलाले। छैन भाई  क्याबिन कोलियाको मुडासमेत प्याक छ भन्दियो। अब मेरो केही लागेन।

अनि पर सार्बजनिक सौचालय नजिकैको बेन्चमा गएर थचक्क बसे। अब फेरि होटेल फर्किनुपर्यो कि जस्तो पनि लागिरहेको थियो। तर सबै प्याकिङ गरेर बसपार्क आइसकेको मान्छे के फर्किनु भनेर पनि सोच्दै थिए। आखिर के गर्ने भनेर टुंगो लगाउन सकिरहेको थिएन। त्यत्तिकैमा एकजना खलासी जस्तो तर चिनेको जस्तो लाग्ने मान्छे मेरो नजिकै आयो। 

अर्जुन जि कता जान लाग्नुभएको? 

म : सुर्खेत जाउँ भनेको हेर्नुस् न गाडी नै पाइएन भन्या। 

आजभोलि सिट पाउन त गार्हो होला। क्याबिनमा बसेर जानू हुन्छ भने म मिलाईदिउँला नि। म पनि आजभोलि समिति मै काम गर्छु भनेर जवाफ फर्कायो । 

उसलाई राम्ररी त चिन्न अझै सकिन तर पनि यसरी मेरो नाम लिएर सम्बोधन गर्नेसँग तपाईंलाई त मैले चिनिन नि भनेर कसरी भन्नु। 

खैर अब जो सुकै होस्, त्यै खलासीको पावर लगाएर भए पनि घर त जानू पर्‍यो भन्ने लाग्यो। सहजै हुन्छ भने। उसले मलाई काउन्टरमा लिएर गयो। टिकट काट्ने मोटेसँग केही बात मार्यो र मलाई क्याबिनमा सिट मिलाइदिन आग्रह गर्यो। त्यत्तिकैमा मेरो पछाडिबाट एउटा कसैको आवाज आउँछ।

हेलो मिस्टर  !!

मैले पुक्लुक्क पछाडि फर्केर हेरे।

हो तपाईंलाई नै बोलाए कि । तपाईं अर्जुन आचार्य होइन? कता जान लाग्नुभएको? कोहि एकजना केटी थिई। मैले नचिनेकी। कहिल्यै नदेखेकी। एक अन्जान केटीलाई मेरो नाम कसरी थाहा भयो। म पुरै अचम्म थिए । उ रातो कुर्ता सलवारमा सजिएकी थिई। मानौं एउटा सुन्दर लालिगुराँसलाई टिपेर कसैले यो मैलो सहरमा छोडेर गएको होस्। 

पुरै तलदेखि माथीसम्म एकदम पुरै लाल।  मेरो मनपर्ने रङ्ग पनि रातो नै भएर होला सायद त्यसैले पहिलो नजर लाल कपडामै गयो। 

हो भनेर सुर्खेत जान लागेको भन्दै उसको समीप गएँ। उसले सुर्खेत जाने गाडीको दुईवटा टिकट देखाई। खासमा उ र उसको दाजुको लागि दुइटा सिट बुकिङ गरेको रहेछ तर उसको दाई कुनै कामले गर्दा जान नसक्ने भएछन्।

अघिदेखि नै एकजना सहयात्री खोजिरहेको छु। अन्जान मान्छेसँग छोरी मान्छे, यत्तिको लामो यात्रा गर्न कठिन हुन्छ। त्यसैले कोहि असल मान्छे पर्खिरहेकि थिए।  ठ्याक्कै तपाईं भेटिनु भयो। 

अनि मसँग तपाईं जानुहुन्छ त? सहज हुने थियो भनेर आग्रह गरि। मलाई त झन् ‘के खोज्छस् कानो आँखो’ भनेजस्तो अस्वीकार गर्ने कुरै भएन।

१८-२० घन्टाको लामो यात्रा। एक त टिकट नपाएर हैरान भएको बेला कोहि सुन्दर केटी आएर सहयात्री बन्नुहोस् भनेर आग्रह गर्दा कुन हाँडिघोप्टेले नाईं भन्ला? मेरो कुरोकानी यता मिलिसके पछि, त्यो समितिको मान्छे पनि हुन्छ त सर राम्रै भयो। शुभयात्रा भनेर आफ्नो बाटो नाप्यो। 

करिब ५ बजेतिर हामी चढेको गाडी सुर्खेततिर हिँड्यो। बाहिर मौसम चिसो थियो। बादल लागेको। पानी पर्लापर्ला जस्तो थियो । त्यसैले झोलाबाट एउटा ज्याकेट र मफलर झिकेँ। हाम्रो सिट नम्बर A 10, 11 थियो। उसले मलाई झ्यालतिरको साइडमा बस्न आग्रह गरि।

नयाँ बसपार्कबाट कल्लेरी आइपुगुन्जेल हामीले एक अर्काबीच सानोतिनो परिचय गर्यौ। मेरा बारेमा उसलाई केही चिज पहिल्यै थाहा पनि रहेछ तर उसलाई मैले पटक्कै चिनिन्। अनि हिम्मत जुटाएर सोधिहाले। तिम्रो र मेरो कहिल्यै पहिला भेट भएको थियो र? तिमी मलाई कसरी चिन्छौ? 

किन हतार गर्नुहुन्छ कविज्यू। केही कुरापछिलाई पनि बचाउँ कि यात्रा लामो छ भनेर फिँसिक्क हासीँ। उ काठमाडौंमा एचए पढ्ने  विद्यार्थी रहिछे। उसको मजाकिया स्वभाव। आनि बानी। घर परिवार। साथीसंगीनी सबैका कुरा सुनाई। उ पनि साथी बिना गाडीको लामो यात्रा मन नपराउने रहिछे। ठ्याक्कै म जस्तै।

हरेक चिज र केही स्वाभाव पनि एक अर्काबीच मिल्दा रहेछन्। त्यसैले कल्लेरी नपुग्दै हामी यति नजिक भयौं कि बर्सौंपछि नभेटेको काेही आफ्नै परममित्र वा कोही  सखासँग भेटेको अनुभूति हुँदै थियो। यात्रा गरुन्जेल महसुस नै भएन कि म कुनै अन्जान केटीसँग यात्रा गरिरहेको छु। हामीले कयौं बात मार्यौ। 

बात मार्दामार्दै कति बेला हामी खानाखाने ठाउँ  आइपुग्यौ थाहा नै भएन। 

खाना खानलाई गाडि रोकियो। सबै यात्रुहरू ओर्लिए। हामी पनि खाना खान बस्यौं।  खाना खाइसकेपछि यस्तो यात्रामा अनि त्यो मौसममा मैले चिया छुटाउनु, त्यो अकल्पनीय थियो।  हामी सडक छेउमा चिया पिउन बस्यौं। मैले एउटा चुरोट मगाएँ।

उसको अगाडि बसेर चुरोट पिउनु उपयुक्त होला त? आफैलाई पनि अफ्ठेरो लाग्यो अनि तिमी बस्दै गर। म चुरोट पिएर आउँछु भनेर उठेँ। यतै बसेर पिउनु न खास फरक पर्दैन भनी। 

हामी चिया पिउदै फेरि गफिन थाल्यौं। त्यसैबीच उसले पनि आफूले कहिल्यै चुरोट नपिएको तर एकपटक ट्राई मार्ने इच्छा भएको दर्साइँ। मैले अर्को चुरोट मगाएँ। उसले नाइँ एउटै बाँडेर खाउँ न भनेर मैले पिइरहेको चुरोट मागी।

यसअघि कसैले पनि यसरी मेरो जुठो चुरोट मागेको थिएन। उ पहिलो सर्को मै खोक्न थाली। मैले पानी ल्याएर दिँए। लग्नुस् तपाईंको चुरोट। हैन कसरी पिउन सक्नुहुन्छ हौ यस्तो चिज भनेर चुरोट मतिर फर्काइँ। मैले पुरै चुरोट सकाए। दुबैजनाको खानाको पैसा मैले तिर्न खोजें। उसले मान्दै मानिन्। आखिरमा खानाको पैसा मैले तिर्ने र चियाको पैसा उसले तिर्ने सहमतिमा कुरो मिल्यो।

हामी फेरि यात्रामै लाग्यौं । यतिबेला पानी पर्न थालिसकेको थियो । उसलाई मैले यात्रामै केही कविता सुनाए । गाडीमा एउटा नेपाली चलचित्र लाग्यो। मलाई त्यति नेपाली सिनेमा खासै मन पर्दैनन्। त्यसैले म कानमा एयरफोन कोचेर गीत सुन्दै बसेँ। उसलाई पनि फिल्म हेर्न बोरिङ लागेछ क्यारे। अनि एक–एक वटा  एयरफोन कानमा घुसार्यौ र मेरै मोबाइलबाट गीत सुन्दै रातभरको यात्रा तय गर्यौं। 

बाहिरको मौसम एकदम चिसो थियो । तर मनमा गर्मी बढ्दै थियो। किनकी कोहि पनि स्त्री यसरी कहिल्यै मेरो नजिक भएकी थिइन। उ रातभर मेरै काखमा सुतेर आई। बाहिर चिसो थियो। मैले भित्री कपडा प्रशस्तै लगाएको थिए। त्यसैले मेरो ज्याकेट खोलेर उसलाई ओढाईदिँए। म पनि कतिबेला निदाएछु थाहा नै भएन। एकैपटक बिहान आँखा खोल्दा कोहलपुर पुगिएको रहेछ। उ मेरो काखमै मस्त निदाएकी थिइ।

भित्रबाहिर हेरेँ उज्यालो भैसकेको थियो। गाडीहरु बेपत्ता कुदिरहेका थिए। कोहलपुर चौराह वरपर मजदुरहरु काँधमा बरियो हालेर कतै हिँडिरहेका थिए। गाडी रोकियो र खलासी भाई आएर दाई तपाईंहरु बर्दिया जाने भन्नू भएको होइन र?  कोहलपुर त आईपुग्यो यतै झर्नुहोस् भनेर सम्झायो। म होइन, उनी मात्र होला यता झर्ने सायद म चाहिँ सुर्खेतसम्म नै हो भनेर मैले उसलाई उठाएँ।

उसले आफ्नो सबै सर सामान निकाली। फेरि समयले कतै भेट गराएछ भने भेटाैँला। तपाईंसँगको यात्रा  खुब रमाइलो भयो भनेर मुस्कुराउँदै गाडीबाट ओर्लिई। गाडी पर पुगुन्जेल हात हल्लाउँदै थिई। एक्कासि उ देखिन छोडेपछि ठूलो पछुतो लाग्यो कि यत्रो यात्राबीच उसको फोन नम्बर माग्न बिर्सिएछु।

कोहलपुरबाट सुर्खेत आइपुगुन्जेल उसको नाम याद गर्ने कोसिस गरिरहेँ । उसको थरबाहेक मरिगए अरु केहि याद आएन। हुन त उसले आफ्नो नाम यस्तो समयमा भनेकी थिई कि जतिबेला उ प्रति मेरो कुनै खास चासो  नै थिएन। यदि उसले आफ्नो नाम सायद हामी चिया पिउँदा भनेको भए, एउटै जुठो चुरोट बाँडेर खादै गर्दा भनेको भए याद रहन्थ्यो होला।  

सायद एउटै एयरफोनबाट गीत सुन्दा भनेको भए कि त मेरो काँखमा निदाउँदा वा मैले उसको कपाल मिलाइदिँदै गर्दा भनेको भए याद हुँदो हो। कि त मेरो काखीभित्र सानो बच्चा लुकेर बसेको जसरी अङ्गालोमा बेरिएकी बेला भनेको भए याद रहन्थ्यो होला। म त्यत्रो गजब यात्राका बाबजुद पनि अन्तिम गन्तव्यमा पुग्दा निरास हुनुपर्यो। अन्तिममा उ मलाई आखिर कसरी चिन्दछे र मेरो बारेमा कसरी यति ज्ञान छ, उसलाई भनेर मात्र गएको भए पनि मनमा केही शान्ति हुन्थ्यो होला।

कयौं दिनसम्म उसको नाम याद गर्ने कोसिस गरिरहेँ। याद आउन सकेन तर एकदिन एक्कासी उसले मलाई खाना खाँदा दिएको टिकटको सम्झना आउँछ ।  कतै उसको नाम र फोन नम्बर त्यही टिकटमा पो लेखेको छ कि? मलाई उसँग जोड्ने टिकटमात्र एउटा अन्तिम कडी थियो। त्यसैले दिनभरी घरमा टिकट खोजेँ।  भेटिन।

कहिल्यै आफ्नो कपडा नधुने मान्छे म, कतै कुनै कपडाको पाकेट वा झोलाको खल्तिमा टिकट भेटि पो हाल्छु कि भनेर आफै कपडा धुन थालेँ। कहिल्यै आफ्नो कोठा आफै सफा नगर्ने मान्छे। कतै कुनोमा डल्लो परेर टिकट परेको छ कि भनेर आफै कोठा सफा गर्न थालेँ। कतै कुनै किताबभित्र लुकेको छ कि भनेर कोठामा भएका सबै किताबका प्रत्येक पाना पानाको भ्रमण गरे। आज करिब २ बर्ष भयो होला, न त टिकट भेटियो न त महबूबा नै। 

प्रकाशित मिति: : 2021-01-02 18:57:00

प्रतिकृया दिनुहोस्

    ❤️👌👌

    • 3 बर्ष अगाडि
    • Rajan Adhikari