गम्भीर गल्ती गर्दा एक वर्षमा दुई सय ५६ प्रहरीले गुमाए जागिर

तस्बिरः नयाँ पत्रिका

पछिल्लो एक वर्षमा भ्रष्टाचारसहितका गम्भीर गल्ती गर्ने दुई सय ५६ प्रहरीले जागिर गुमाएका छन् । उनीहरूमध्ये दुई सय ४९ लाई सेवाबाट हटाइएको र सातजनालाई बर्खास्त गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । सेवाबाट हटाइएकामा एक एसपी, दुई इन्स्पेक्टर, पाँच सइ, ११ असइ, २४ हवल्दार, एक सय ९५ जवान र ११ जना कार्यालय सहयोगी छन् । त्यस्तै, १÷१ जना असइ र सइ, दुई हवल्दार, दुई जवान र एक कार्यालय सहयोगीलाई बर्खास्त गरिएको छ ।

सेवाबाट हटाइएकाले प्रहरीबाट पाउने पेन्सनलगायतका सुविधा पाउँछन् भने बर्खास्त हुनेहरूले पाउँदैनन् । आर्थिक वर्ष ०७४/७५ मा दुई सय ८० प्रहरी यस्तो कारबाहीमा परेका थिए ।
सेवाबाट हटाइएका सबैभन्दा माथिल्ला अधिकारी कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्ट हुन् । निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा चरम लापरबाही गरेको आरोपमा सरकारले उनी र इन्स्पेक्टर जगदीश भट्टलाई सेवाबाट हटाएको हो । 

प्रहरी नियमावलीको दफा ११३(क)मा नैतिक पतन हुने काम गरे (मानव बेचबिखनलगायतका अपराध), भ्रष्टाचारमा दोषी ठहर भए, अन्य देशको स्थायी बसोवासको अनुमतिपत्र लिएको वा आवेदन दिएको पाइए र प्रहरीको विशेष अदालतबाट दोषी ठहर भएका प्रहरी बर्खास्त हुने व्यवस्था छ । उनीहरूले बर्खास्तपछि सञ्चय कोष र बिमाबाहेक कुनै सुविधा पाउँदैनन् ।

त्यस्तै, पदीय जिम्मेवारीमा लापरबाही गरेमा, बारम्बार आचरण उल्लंघन गरेमा, ड्युटीमा मादक पदार्थ सेवन गरेमा, पटकपटक अनुशासनहीन काम गरेमा, राजनीतिमा भाग लिएमा, बिदा स्वीकृतविना ४५ दिनभन्दा लामो समय हाजिर नभएमा, फौजदारी कसुरमा दोषी ठहर भए सेवाबाट हटाउन सकिने नियमावलीमा उल्लेख छ । सेवाबाट हटाइएकाले उपदान, पेन्सनलगायतका सुविधा पाउँछन् । 

प्रकाशित मिति: : 2019-07-29 06:23:16

प्रतिकृया दिनुहोस्