सहज बन्दैछ त्रिपुरेश्वर-कलंकी-नागढुंगा सडक

चार वर्षदेखि धुलो र हिलोको हैरानी खेपेका त्रिपुरेश्वर-कलंकी-नागढुंगा सडकखण्ड अहिले सहज बन्दै गएको छ । लामो समय जाम, हिलो र धुलोको हैरानीमा परेका यात्रु र स्थानीयलार्इ केही सहज भएको भए पनि काम भने पूरा भएको छैन । ०७५ फागुन र चैतमा सडकमा अस्थायी पिच गरिएपछि स्थानीयले सडकको हिलो र धुलोको समस्यामा केही कमी आएको हो ।

१३ किलोमिटरको लम्बाइको यो सडकलाई उपत्यका सडक विस्तार आयोजनाले विभिन्न चारखण्ड गरेर शैलुङ कान्छाराम शर्मा जेभीलाई २२ मिटरमा विस्तार गर्न ठेक्का लगाएको हो ।  ०७२ सालमा एक वर्षभित्रै विस्तार सम्पन्न गर्ने सम्झौतामा ठेक्का लगाए पनि निर्माण कम्पनी, काठमाडौं उपत्यका विकास प्राधिकरण र उपत्यका सडक विस्तार आयोजना कार्यालयले आ–आफ्ना समस्या देखाउँदै सडक खनेर त्यसै छोड्दा वर्षामा हिलो र हिउँदमा धुलोको मार स्थानीयले खेप्दै आएका थिए । सडक विस्तारका लागि भत्काएका घर, टहराको क्षतिपूर्ति दिने जिम्मा प्राधिकरणको हो । सडको बीचबाट ११-११ मिटरमा चिन्ह लगाउने र ठेक्का लगाउने जिम्मा आयोजना कार्यालयको हो । तर प्राधिकरणले भत्काएका घर, टहराको क्षतिपूर्ति दिन नसक्दा स्थानीयले बाँकी काम गर्न नदिने गरी अवरोध सिर्जना गरेका थिए ।

०७५ भदौमा सर्वोच्च अदालतले पीडितलाई घर, टहराको क्षतिपूर्तिसहित जग्गाको मुआब्जा पनि उपलब्ध गराउने फैसला गरेपछि सडक विस्तारको काम थप पेचिलो बनेको प्राधिकरणका प्रमुख आयुक्त डा. भाइकाजी तिवारी बताउँछन् । पीडितलाई क्षतिपूर्ति दिने बजेट सहरी विकास मन्त्रालयले प्राधिकरणलाई उपलब्ध गराए पनि जग्गाको मुआब्जा दिन बजेटको व्यवस्था गर्न नसक्दा सडक विस्तार प्रभावित बनेको तिवारीले बताए । 

गतवर्ष मन्त्रिपरिषद् बैठकले उपत्यकामा विस्तारका क्रममा रहेका सडकलाई उपलब्ध स्थानमै पिच गर्न निर्णय गरेपछि आयोजना कार्यालयले निर्माण कम्पनीहरुलाई त्यसैअनुसार निर्देशन दिएको आयोजना कार्यालयका इन्जिनियर तथा प्रवक्ता विश्वविजयलाल श्रेष्ठले बताए ।

सडकमा पिच, कतै सिमेन्ट

स्थानीयले संघर्ष समिति बनाएरै सडक तत्काल पिच गर्न माग राखेपछि गतवर्ष सडकको विभिन्न खण्ड पिच गरिएको छ । तर सडक पिच गर्नका लागि आवश्यक काम नगरी सडक पिच गरिएको आयोजना स्वीकार्छ । “त्रिपुरेश्वरदेखि कलङ्कीसम्म तीन लेयर राखेर नै पिच गरेका छौं । तर, कलंकीदेखि नागढुङ्गासम्मको सडक सबैतिर तीन लेयर राखिएको छैन,” प्रवक्ता श्रेष्ठले भने, “सबैतिर २२ मिटर नै उपलब्ध भएपछि सडक तीन लेयरमा नै स्थायी पिच गर्ने भरेर माथिल्लो तहमा ब्ल्याकटप गरिएको हो । हाल सडकको धुलो र हिलोबाट स्थानीयले धेरै राहत पाएका छन् ।”

प्रकाशित मिति: : 2019-07-28 07:53:25

प्रतिकृया दिनुहोस्