नेकपा स्कुलमा खनालको ‘इन्ट्री’

झलनाथ खनाल

सत्तारुढ नेकपाभित्र सबैभन्दा खिचातानीमा परेको स्कुल विभागमा पूर्वप्रधानमन्त्री झलनाथ खनालको नाम अघि सारिएको छ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वरिष्ठ नेतासमेत रहेका खनाललाई स्कुल विभाग प्रमुखमा प्रस्ताव गरेका छन् ।  यसअघि सचिवालय सदस्य तथा प्रवक्ता नारायणकाजी श्रेष्ठ र अर्का सचिवालय सदस्य ईश्वर पोखरेलले विभाग प्रमुखमा दाबी गरेका थिए । दुई नेताले दाबी नछाडेपछि प्रचण्डले तेस्रो विकल्पका रूपमा श्रेष्ठ र पोखरेलभन्दा वरियतामा वरिष्ठ रहेका खनालको नाम प्रस्ताव गरेका हुन् ।

खनालले सर्वसम्मत प्रस्ताव हुँदा विभागको नेतृत्व लिन तयार रहेको अध्यक्ष प्रचण्डलाई जवाफ फर्काएका छन् । पोखरेल र श्रेष्ठको दाबी कायम रहेकाले अध्यक्ष ओली र प्रचण्डले संयुक्त रूपमा प्रस्ताव नगरेसम्म खनाल आफैँ अघि सर्ने पक्षमा भने छैनन् । खनालले स्कुल विभाग प्रमुख बन्न अध्यक्षहरूबाट औपचारिक प्रस्ताव नआएको बताए । बैठकमै औपचारिक प्रस्ताव आए आफू जिम्मेवारी सम्हाल्न तयार रहेको पनि उनले नयाँ पत्रिकालाई बताए । 

‘अध्यक्षहरूबाट त्यस्तो केही (स्कुल विभाग प्रमुख) बन्न प्रस्ताव आएको छैन,’ नयाँ पत्रिकासँग खनालले भने, ‘यदि आयो भने म जुनसुकै जिम्मेवारी लिन तयार छु ।’ सिंगो पार्टी र मुलुककै नेतृत्व गरिसकेकाले आफूले सहज रूपमा स्कुल विभागको नेतृत्व गर्न सक्ने उनको भनाइ छ । ‘सिंगै पार्टी र राष्ट्र चलाएको छु, पार्टीको एउटा विभाग चलाउने कुरा कुनै ठुलो कुरा भएन, धेरै राम्रोसँग चलाउँछु,’ खनालले भने ।

यसअघि खनाललाई नीति तथा अनुसन्धान प्रतिष्ठान विभागको जिम्मेवारी दिने नेताहरूबीच समझदारी भएको थियो । नीति–अनुसन्धान र स्कुल विभागको कार्यक्षेत्रको समानता र भिन्नताबारे भने नेकपाले कुनै स्पष्ट भूमिका तोकेको छैन । कम्युनिस्ट पार्टीमा स्कुल विभागले वैचारिक काम गर्ने परम्परा रहेकाले नेताहरूबीच दाबेदारीमा प्रतिस्पर्धा देखिएको हो ।

प्रकाशित मिति: : 2019-07-25 07:50:15

प्रतिकृया दिनुहोस्