कविता

अहम् ब्रह्मास्मी

Breaknlinks
Breaknlinks

मेरा अंग-अंगहरु 
एकाकिपनका सियोहरुले घोचिरहदा
तिमीलाई फुर्सद मिलेन-
देख्ने/सुन्ने।

मेरा इच्छा/आकांक्षा रहरहरु
उपेक्षित बेवारिसे कपासझैँ
उदास हावामा उडेर हराइरहदा
तिमी गफ्फिरह्यौ-बसन्तका फुलहरुसँगै !

प्रिय समय,
तिमी आफैभित्रको अहंकार,क्रूरता,पाशविकता र
मिथ्यावादिताभित्रै हराइरह्यौ !
म कुण्ठाले जलेर खरानी भएँ !

निस्सारताको बोधले छ्ट्पटाएर-
एउटा जीवन बाँचिरहदा,
संवेदना मर्दै गएको जीवन भोगाइसँगै
अनिश्चित,बाध्यात्मक,दुराग्रहपूर्ण जीवन बाँचिरहदा
(म मान्छु-मात्रै बाँच्नु आँफैमा सबैभन्दा जटिल यन्त्रणा र निस्सार कार्य हो।)
अस्तित्वबिहिन जीवनप्रतिको बिसंगती देख्न
सायद तिम्रो कृतघ्नताले अटेर गर्यो !

त्यसैले अचेल
निरुद्देश्य जीवन रिक्तता र शून्यबोधले
मभित्रका मानवीय आस्था र मुल्यहरु
क्रमशः बिघटित हुँदै जान थालेका छन् !

खाली पैताला-
काँडाघारीको यात्रामा निस्किएको म
घोचाइको अनुभूती तिमीले नगर्नु पनि-
स्वभाविकै मान्छु !

तसर्थ अब
बदल्नुछ आफ्नो कोमलता/मृदुलता
ताकी ग्रेनाइट चट्टानझै कठोर भैसकेको मनभित्र
फेरि नटुसाउन फूलका कोमल टुसाहरु !

जमाउनु छ- बरफको डल्लोझैँ
आफ्नै मन
ताकी पग्लिएर नसकिउन् भावनाहरु
नपोखिउन् संवेदनाका रुञ्चे ढिकाहरु !

आफ्नै पागलपनमा अडिग रहनुछ - ब्रह्माण्डझै
ताकी नसकुन् जो कोहि उदाङ्गो पार्न !                               -

प्रकाशित मिति: : 2021-06-05 16:51:00

प्रतिकृया दिनुहोस्