यात्रा

त्यो बाटो, ती मान्छे

‘शरद सकिनु अघि नै हिमालको फेदीमा पुग्नु उपयुक्त हुन्छ। हिउँ पर्‍यो भने हिंड्न पनि गाह्रो। अझ हिउँपहिरो आउने डर पनि उत्तिकै हुन्छ !’

हिमालको फेदीमा नपुगे पनि मलाई यति कुरा थाहा थियो। धेरै पहिलेदेखि हिमाल नजिक पुग्ने उत्कट चाहनाले सताइरहेथ्यो। त्यसैले पनि हिमाली भेगबारे अलि बढी चासो राख्थें। जसरी हुन्छ, मलाई एकपटक हिउँको नजिक पुग्नु थियो।

जतिबेला पनि एक फेर हिमाल छेउ पुग्नु जस्तो लाग्ने !
खै कुन्नी के के कुरा खेलिरहन्थ्यो मन भित्र।

ooo

मध्य असोजको एक साँझ म काठमाडौं ओर्लिएँ। आकस्मिक काम बोकेर काठमाडौं पुगेको थिएँ म। ‘बेलुकीसम्म पुग्न सके दिनभर काम सकाएर बेलुकी पोखरा फर्कन सकिन्छ’ यही हिसाब लगाएर काठमाडौं पुगें।

भोलिपल्ट कागजपत्र बोकेर काठमाडौंका अड्डाहरु धाएँ। बिडम्बना जे कामको लागि काठमाडौं गएको थिएँ। त्यो काम बनेन्। रित्तो हात पोखरा फर्किनु पर्ने भो। कामै नबने पनि काठमाडौंमा माया गर्ने साथीभाई त छन्। यो पनि ठूलो उपलब्धि हो। माया गर्ने मान्छेहरु हरकोहीको नसिबमा हुँदैनन्।

अघिल्लो रात साथी दिलिप कुँवरको डेरामा बास बसेको थिएँ। अफिसका साथीहरुसँग भेट भइसकेको थियो। फर्किने बेला जेवी दाईलाई भेट्छु भनेको थिएँ।

‘दाई, कता हुनुहुन्छ ?’ निराश आवाजमा फोन लगाएँ। एक त त्यत्रो दुःख खेपेर आएको थिएँ। त्यसमाथि कामै बनेको थिएन। दाई अफिसमै हुनुहुँदो रैछ, एकान्तकुना। पठाओ बुक गरेर त्यतै लागेँ।

ooo

अरु बेला पनि काठमाडौं पुग्दा दाईंसँग भेट भइरहन्छ। यो पालि भेट नहुनुपर्ने कारण पनि त थिएन। मैले काठमाडौं आएर पनि काम नबनेको दुख बिसाएँ। फेरि, उही काम लिएर काठमाडौं आउनु पर्ने भएको थियो।

‘धन्दा नमान’ दाईले सम्झाउनु भो। दसैं बिदामा पुन हिल, घोरेपानीतिर लाग्ने विचार्नु भएको रहेछ दाईले। कुराकानीकै सिलसिलामा मैले एविसी जाऔं भने।

मेरा छिमेकी दाईको देहान्त भएकाले दसैंमा टिका थिएन। टिका नभएपछि घर गएर शोक मनाउनु भन्दा बिदामा देश चहार्नु बेस लाग्यो। त्यसैले पनि मैले दाइलाई यो अफर गरेको थिएँ। दाईले पनि एविसी जान मन गरे जस्तो गर्नु भयो। अनि पो हाम्रो एविसी जाने योजना बनेको थियो।

 

ooo

असोजको अन्तिमतिर हामी अन्नपूर्ण बेसक्याम्प पुग्यौं। मनभरि अन्नपूर्ण पदमार्गमा चालेका पदचालहरु। त्यो बाटो। त्यो ढुंगा। ती मान्छेहरुको सम्झना सँगालेर फर्क्याैँ। यो त्यही यात्राको कथा हो। बाटोको कथा हो। बाटोमा भेटिने मान्छेहरुको कथा हो।

दसैंको तेस्रो दिन हामी पोखराबाट एविसी (अन्नपूर्ण बेसक्याम्प) का लागि निस्केका थियौं। तीन दिनको हि‌ंडाइपछि ४१ सय ३० मिटरको उचाईमा पुग्नु हाम्रो लागि सुखद थिएन। तर, २ दिन झरीमा रुझ्दै एबिसी पुगेर अन्नपूर्ण र माछापुछ्रे आँखै अघि हेर्न पाउनु रोमाञ्चक रह्यो।

पानीपछि, हामी अघि

विकास श्रेष्ठ, जेवी पुन मगर दाई र म। यात्रामा निस्क्यौं। यात्रामा आवश्यक सामग्री अघिल्लो दिन बेलुकी नै किनमेल भइसकेको थियो। सखारै निस्क्यौं भने उचाई धेरै नै उक्लिन सक्थ्यौं। सक्दो चाडो यात्रामा निस्किने सल्लाह गरेर त्यो रात छुट्टिएका थियौं।

दुवै दाईहरु काठमाडौंबासि। विकास दाई पोखरेली नै हुन्। अस्थायी बँसेरा काठमाडौंमा बसाएका छन्। जेवी दाईलाइ होटलमै छाडेर हामी आ–आफ्नो अघिल्लो रात छुट्टियौं।

म बसेको ठाउँ जेवी दाई बसेको होटलभन्दा उत्तरपट्टी पर्छ। विकास दाईको घर पूर्वपट्टी। त्यसै राती हावाहुरिसँगै मुसलधारै पानी पनि दर्कियो। सोचें, ‘एविसी क्यान्सिल !’ रातभर निद्रै परेन। घडी हेर्दै आकाशसँग रिसाई रहें।

बिहानीपख आँखा लागेछ। धन्न, मोबाइलमा अर्लाम सेट गरेको थिएँ। रुकस्याक रेडि थियो। पानी पर्न कम भएछ। सघन होइन। सिमसिम। जेवी दाई बसेको होटल र म बस्ने डेरा विकास दाईको घरभन्दा नजिक पर्ने भएकाले म ट्याक्सी समातेर होटलतिर लागेँ। दुवैलाई फोनबाटै आफू हिंडेको जानकारी पुर्‍याएँ। हरिचोकमा विकास दाई भन्दा हामी छिटो पुग्यौं।

ooo

हरिचोकबाट जिप पकडेर हिंड्दा ७ बज्न १० मिनेट मात्रै बाँकी थियो। रातभरको मुसलधारे पानी रोकिएर आकाश छ्याङ्ग देखियो। टाढा टाढाका हिमाल पनि खुलेर नजिक आए झैं लाग्थे। गाडी अघि बढ्ने बित्तिकै सबैले आफ्नो आफ्नो मोबाइल र क्यामेरा झिकेर फोटो लिन थाले। मैले त्यसो गरिनँ। टाढाबाट देखिरहेको हिमाल, मेरा लागि नजिक पुगेपछि मात्र अनमोल लाग्नेवाला थियो।

ooo

अन्नपूर्ण बेसक्याम्प पुग्नु अघि म छोम्रोङ पुगिसकेको थिएँ। छोम्रोङसम्मको बाटो म चिन्थें। पोखराबाट नयाँपुल हुँदै मत्क्यु पुग्न झण्डै साढे दुई घण्टा जति लाग्दो रहेछ। मैले बिर्सिसकेको रहेछु।

१० बज्नुअघि नै गाडीबाट ओर्लेर हामीले पैदल यात्रा थाल्यौं। हामीलाई गन्तव्यको आधारकिल्लासम्म पुर्‍याउने ड्राइभर जोन गुरुङ रहेछन्। परिचय लिएर छुट्यौं।

ooo

धेरैथोक उस्तै रहे पनि केही फेरिएको रहेछ अन्नपूर्ण पदमार्गको पहिलो गन्तव्य विन्दु। जस्तो कि, म पहिलोचोटी छोम्रोङ आउँदा मत्क्युसम्म मात्र मोटरबाटो थियो। अहिले झिनु मुन्तिरको पुलसम्मै डोजरले डाँडो भत्काएछ। ठाउँ ठाउँमा पहिरोले डाँडै रित्तिएको थियो। झिनु नपुगुञ्जे  कुन बेला माथिबाट पहिरो खस्ने हो जस्तो लागि रह्यो।

झिनु पुग्नै लाग्दा लामो पुल छ। यो पुल बन्नु अघि डेढ घण्टा बढी समय लाग्दो रहेछ। तल ओर्लेर माथि उक्लिनु पर्ने बाध्यता पुलले हटाएको रहेछ। म तीन वर्षअघि आउँदा नै यो पुल बनिसकेको थियो।

पुल तर्ने बेला हामीले क्यामेरामा केही थान सम्झनाहरु कैद गर्‍यौं। हामी जस्तै पदयात्रामा हिंडेका पदयात्रीले तीनै जनाको ग्रुप फोटो खिचिदिए। उनीहरु पोखरादेखि हामी आएकै गाडीमा थिए। उनीहरु पनि तीन जना। दुई जना काठमाडौंबाट आएका रे! एक जना पोखराकै रहेछन्। इन्जिनियर हौं भन्थें। त्यो भन्दा बढी परिचय हामीले लिएनौं। हामीले पनि उनीहरुको ग्रुप फोटो खिचिदियौं।

ooo

विकास दाईले पोखराबाट निस्केदेखि नै क्यामेरामा के के खिचि रहनुभएको थियो। पदयात्राका लागि यो नै उपयुक्त सिजन भएर पनि हो या लामो समयको लकडाउन र कोरोना त्रासले हो सयौंको संख्यामा घुमन्तेहरु पदयात्रा लामबद्ध थिए। त्यो साँघुरो बाटो एकै छिन खाली थिएन। माथि माथिसम्म मान्छेहरु देखिन्थे। गाउँमा स्थानीय सरकार आएपछि धेरै थोरै विकास निर्माणका कामहरु पनि भएको रहेछ। ढुंगाको छपनी मिलाएर भिरालो बाटोमा सिढीहरु बनेका थिए। पदमार्ग केही फराकिएका थिए।

झिनु कटेर मास्तिर उक्लिदा घाम टाउकैमाथि थियो। ठाडै उकालो बाटो। त्यसमाथि खलखली पसिनै आउने चर्को घाम। एकै छिन हिंड्यो कि पसिनाले कपडा लुछुप्पै रुझिहाल्थ्यो। पोखराबाट बिहानै हिंडेका हामी लुम्लेमा खाजा खाएका थियौं। झिनु पुग्दा भोक खासै थिएन। छोम्रोङ पुगेर खाना खाऔंला भनेर हिडेका थियौं। उकालोमा पसिनाले मात्रै होइन। अब, भोकले पनि अत्याउन थालेको थियो। छोम्रोङ पुग्दा बाह्रै बज्यो।

हामीले उकालो पार गर्‍यौं। भोकले पेट बटारिएको थियो। पहिलो दिन छोम्रोङमै बास बसेर अघि बढ्ने हाम्रो पूर्वयोजना। तर, समय निकै थियो।छोम्रोङ पुग्दा आधाउधि आकाश बादलले ढाकिसकेको थियो। दिलिप गुरुङ दाईले दुई चार दिन मौसम खराब हुन्छ कि! भन्दै हुनुहुन्थ्यो। उहाँको अनुमान सही साबित हुँदै थियो। नभन्दै छोम्रोङ पुग्ने बित्तिकै अघि छ्याङ्ग खुलेको आकाशभरि बिस्तारै बादल भरिँदै थियो।

छोम्रोङमा एभरेष्ट भ्यु पोइन्ट एण्ड रेष्टुरेन्टमा खानाका लागि रोकियौं। सञ्चालक मिकास गुरुङ दाईसँग कुराकानी भइसकेको थियो। उहाँहरु हामीलाई नै खाना कुरेर बसिरहनुभएको रहेछ। मिकास दाईंसँग टेलिफोन संवाद भएपनि भौतिक भेटघाट पहिलोचोटी। तीनै जनासँग चिनाजानीपछि तात्तातो चियाले सत्कार गर्नु भयो भाउजूले।

मिकास दाईका बुवा अन्नपूर्ण गाउँपालिका ११ का जनप्रतिनिधि हुनुहुन्छ। हिमबहादुर गुरुङ। उहाँ पनि त्यही हुनुहुँदो रहेछ। उहाँसग पनि भौतिक भेट पहिलोचोटी छोम्रोङ मै भयो।

ooo

त्यो रात छोम्रोङमै बस्ने भनेका थियौं। तर, त्यसो गरेनौं। बाटो जति छोट्यायो। यात्रा अवधि छोटिन्थ्यो। उसै पनि मौसम पूर्वानुमान महाशाखाले भोलिपल्टदेखि भारी वर्षा हुने अनुमान देखाई रहेको थियो। महाशाखाको यो अनुमान झुठो होस्, हामी चाहन्थ्यौं। तर, त्यसो भएन। पानी पछिपछि। हामी अघि अघि लाग्दै गयौं।

ooo

छोम्रोङबाट साढे दुई घण्टा हिंडेपछि अप्पर सिनुवा पुगिन्छ। अप्पर सिनुवामा बास बस्न पुग्यौं भने दोस्रो दिन देउराली पुग्न सकिन्छ। तेस्रो दिन त बेसक्याम्पमै पुगेर चौथो दिन छोम्रोङ बास बस्ने गरि फर्किन सकिँदो रहेछ। हामी पनि त्यसै गर्ने भयौं।

ooo

छोम्रोङमा हामी दुई घण्टा बढी भुल्यौं। वडाध्यक्ष हिमबहादुर गुरुङसँगै लामै कुराकानी भयो। डेढ वर्ष लकडाउनमा बाँधिएर बस्नुपर्दाका पीडादेखि हेली व्यवसायीको आंतकसम्म हामीले सुन्यौं।

त्यो भन्दा बढी भुल्नु फजुल थियो हाम्रो लागि। यो बाटो हाम्रो लागि नौलो होे। त्यसैले पनि पुग्नुपर्ने ठाउँसम्म समयमै पुग्नु पर्ने थियो। छोम्रोङदेखि अप्पर सिनुवा पुग्न साढे दुई घण्टा लाग्छ। हामीलाई अलि बढी लाग्न पनि सक्छ। यसै भन्न सकिन्न।

दुई बज्नु अघि हामीले छोम्रोङ छाड्यौं। बिहान फुर्तिसाथ हिंडिरहेका पदयात्री यतिबेलासम्म थकित देखिन्थे। बेसक्याम्पबाट झर्दै गरेका पदयात्रीहरुको हालत त्यो भन्दा बढी खराब देखिन्थ्यो। जति जति उचाई चढ्यो। उकालोमा श्वासको गति झन झन बढी रहेको थियो।

पसिना ज्यानमै सुक्न दिन हुन्न ! म सचेत थिएँ। यो भन्दा अघिल्लो चोटी नर्थ अन्नपूर्ण बेसक्याम्प हिडेको म बिचैबाट फर्किनु परेको थियो। हिंडाइको गति बढी भएकाले झण्डै अमुल्य जीवन गुमाएको थिएँ। त्यसैले पनि समेत हुने मेरो कोसिस।

ooo

छोम्रोङबाट हिंडेको तीन घण्टा बढी भइसक्यो। तै पनि अप्पर सिनुवा पुगेनौं। माथिबाट झर्ने सबैलाई सोध्थ्यौं, ‘अप्पर सिनुवा पुग्न अझैं कति समय लाग्छ ?’
‘आधि घण्टा।’
१० मिनेट अघि भेटेको बटुकले पनि यसै भनेर जान्थ्यो। १० मिनेटपछि भेटिनेको उत्तर पनि उही हुन्थ्यो। अघि पोखराबाट हामीसँगै आएका तीन जना इन्जिनियर साथीहरु भेटिए।

छोम्रोङमा हामी छुटेका थियौं। उनीहरुले झिनुमै खाना खान रोकिएका थिए। हामी अघि भयौं। छोम्रोङमा खाना खान लाग्यौं हामी। उनीहरु अघि लागे।

‘दाईंहरु त हिड्न सक्नु हुँदो रहेछ’ तीन मध्ये एकले हाम्रो हिंडाइको तारिफ गरे। हुन पनि हामी भन्दा अघि लागेका कैयौं टोलीलाई हामीले पछि छोडिसकेका थियौं।

ooo

अप्पर सिनुवा पुग्दा ६ बजिसकेको थिएन। बज्नै आँटेको थियो। बटुकहरु अझैं बाटो नाप्दै थिए। भरियाहरु खच्चड धपाउँदै ओरालो झर्दै थिए।पोखराबाट निस्केपछि पहिलो दिनको यात्रा धेरैले यहीँसम्म गर्दा रहेछन्। त्योभन्दा अघि होटल पाउन अझै साढे दुई घण्टा हिंड्नुपर्छ। हिंड्न नसक्नेहरुका लागि त तीनै घण्टा भने पनि भो।

ooo

अघि दिउँसो गर्मीले हपहपी पोलि रहेको थियो। हिमालतिरबाट बत्तिदै आउने बतासको झोक्काले चिसो भो। पदयात्रामा यस्तै हो। एकैछिनमा खलखलि पसिना चुहिन्छ। उत्तिखेरै जाडोले ज्यानै काँप्न थाल्छ।

अप्पर सिनुवामा हामी सिनुवा गेष्ट हाउस एण्ड लजमा बस्ने भयौं। कोठामा छिरेर तातो कपडा फेर्‍यौं। तात्तातो चियाले थप राहत दियो। त्यो दिन बुकिङ धेरै नै रहेछ। हामी पनि थपियौं।

ooo

घरमा फोन गरेर खबर दिइसकेको थिएँ। माछापुछ्रेको पल्तिरको अलिकति भाग देखिँदो रहेछ त्यहाँबाट। विकास दाईले क्यामेरा झिकी हाले।

ooo

हामी बसेको गेष्ट हाउसका सञ्चालक रमाइला छन्। त्यो भन्दा बढी मायालु। हुकुमसिंह गुरुङ र बेलमाया गुरुङ रहेछ उनीहरुको नाम। सबैले बोलाउने नाम भने माइला बा र माइली आमा।

चिसोले हो या दिनभरको हिंडाइले हो। बेडमा छिरेपछि हात झमझमाउन थाल्यो। सकभर हात रगडेर तताउने कोसिस गरें। सिरकभित्र हातलाई न्यानो बनाई राखें। मलाई एउटै डर थियो, ‘कतै लेक त लागेन ? अघिल्लो पटक एबिसी उक्लिँदा पनि यस्तै भएको थियो। तर, त्यस्तो नराम्रो केही भएन।

ooo

जे कुराको डर थियो। आखिर त्यही भएकाे थियो। मौसम पूर्वानुमान महाशाखाले जे अनुमान लगाएको थियो। सही साबित भयो। बेलुकादेखि नै झमझम पानी पर्न सुरु भयो।

लौ बर्बादै हुने भयो ! तै पनि बिहानसम्म पानी रोकिने आश गर्दै हामी सुत्यौं।

ooo

भोलिपल्ट,

अरुबेला ८ नबज्दासम्म आँखा खुल्ने बानी छैन। त्यो दिन ६ बज्नुअघि नै ब्युँझिएँ। यात्रामा यस्तै हुन्छ। पानी अझै रोकिएको थिएन।भरियाहरु पानीमा रुझ्दै उकालो उक्लिरहेका थिए। झरिको भन्दा भोको पेटको बढी चिन्ता जो थियो उनीहरुलाई।

पदयात्रीहरु के गर्ने ? कसो गर्ने ? अन्यौलमा देखिन्थे। रुझ्दै यात्रा थाल्ने आँट कसैले गर्न सकेका थिएनन्। हामी पनि अन्यौलमै थियौं। दिनैभरि झरी परे के पो गर्ने ?

ooo

तातोपानी र चिया थप्नु बाहेक हामीसँग अर्को विकल्प थिएन। आकाश हेर्दा पानी रोकिने कुनै छाँटकाँट अलिकति पनि मिलेन। हामीले फेरि ३ वटा चिया थप्यौं।

पानीको बाटो हेरेर पार लाग्नेवाला थिएन। ३ दिनसम्म लगातार पानी पर्दै थियो। हाम्रो यात्रा पनि तीन दिनकै लागि। हामी थप चिन्तित थियौं।

त्यहाँ बसेका पदयात्रीमध्ये पहिलो ग्रुपले रुझ्दै बाटो लाग्ने आँट गर्‍यो। एकछिनपछि अर्को ग्रुप पनि। त्यहाँ बसेर पार लाग्ने नदेखेपछि एक एक गर्दै ग्रुप बाटो लाग्न थाले। रेनकोट नबोकेकाहरु प्लाष्टिक ओढेर हिंड्न थाले। पानी पर्न सक्छ भनेर रेनकोट बोकेका थियौं। हामीलाई पनि काम लाग्ने भयो। तर, हामीले हिंडी हाल्ने आँट गर्न सकेनौं।

एक एक गर्दै त्यहाँ बसेका पदयात्रीहरु रित्तिँदै थिए। ८ बजेतिर हामीले हिड्ने आँट गर्‍यौं। पानी आफ्नै बेगमा थियो। ब्याग भिर्‍यौं। रेनकोट ओढ्यौं। अनि, सुरु गर्‍यौं दोस्रो दिनको यात्रा।

ooo

डेढ घण्टा लगातार हि‌डी सक्दा पनि पानी रोकिएको थिएन। हि‌ड्नु अघि पानीसँग डर लागे पनि अघिको डर भागिसकेको थियो। बरु, हाम्रो यात्रा त थप एड्भेन्चरियर्स पो भएको थियो। जंगलबीच हुँदै कहिले उकालो, कहिले ओरालो खोँचहरु पार गर्दै हामी अघि बढी रह्यौं।

अन्नपूर्ण हेर्ने लोभ बोकेर गह्राैँ झोला बोकेर हामी जस्तै रुँझ्दै हिंडिरहेका तन्नेरीहरुको समूहले हामीलाई थप उर्जा दिइरह्यो। अन्नपूर्ण फेदीमा पाइला अड्याउने भोक झनै बढी रह्यो।

बेम्बो पुग्दा नाक, मुख, हात सबै चिसोले ठिहिर्‍याउने भइसकेको थियो। शरीरमा रगत भने उम्लिई रहेको थियो। अप्पर सिनुवापछिको पहिलो स्टेशन बेम्बो हो। यो बेला हामीलाई तातो आवश्यक थियो। त्यहाँ हामीले तात्तातो चिया र बिस्कुट लियौं।

बेम्बोमा हामी धेरै समय भुलेनौं। चिया पिउने बित्तिकै अघि बढी हाल्यौं। पानी परि रहेकाले मोबाइल ब्याग भित्रपट्टी सुरक्षित पारेर राखेको थिएँ। दुई चार वटा मिसकल बनेर बसेको रहेछ। दिलिप दाईले पनि गर्नुभएको रहेछ। पोखराबाट हि‌डेदेखि उहाँले नै हामीसँग कोर्डिनेट गरिरहनु भएको थियो। उहाँलाई फोन लगाएँ।

देउरालीमा होटलहरु प्याक भइसकेकाले हिमालयमा बस्न भन्नु भो दाईले। सरासर हि‌ड्यौ भने दोस्रो दिनमा हिमालय पुगिन्छ। तेस्रो दिनमा त एबिसी। तर, हामी हिमालयमा बस्नु पर्ने भयो।

ooo

कुनै दिन एबिसी पुग्छु। त्यहाँ हिउँमाथि बसेर आफ्नै चित्र कोर्ने छु। म कल्पना गर्थेँ। कस्तो होला हिउँ नै हिउँको त्यो संसार... रहरहरुको भारी बोक्न कहाँ सजिलो छ र !

अब भने मेरो हिंडाइको गति बिस्तारै कम हुँदै थियो। चिसोले हात फेरि झमझमाउन थाल्यो। दाईहरु अघि अघि। म पछिपछि। अब भोकको सीमा पनि थप फराकिलो हुँदै थियो। हामी अघि बढी रह्यौं।

हिमालय पुग्दा ३ बजेको हुँदो हो। आकाशमा पानीको आयतन अझैं घटेको थिएन। हिमालयमा हिमालय गेष्ट हाउस एण्ड रेष्टुरेन्टमा तय भइसकेको थियो हाम्रो बसाई।

हिमालयमा आकाश गुरुङ दाईले तात्तातो कफीले स्वागत गर्नुभयो। दाईहरुलाई के लाग्यो। तर, मलाई ठिहिर्याउने चिसोमा तात्तातो कफीसहितको स्वागत देउतै भेटे जस्तो लाग्यो।

ooo

मैले सोचेको पनि थिइनँ। पदमार्गमा यति धेरै पदचापहरु भेटिन्छन्। यी मान्छेहरु कहाँ-कहाँबाट आएका होलान् ? सबैसँग परिचय गरी साध्य थिएन।जाडोले लुगलुग काँप्दै माथितिर पाइला चालिरहेका ती मान्छेहरु फेरि भेटिएलान् कि नभेटिएलान् ?

उज्यालो अझैं बाँकी नै थियो। हिजो पसिनाले लुछुप्पै कपडा भिजेको थियो। आज आकाशे पानीले। हामीले हाम्रा चिसा कपडा सुकायौं। खाना खाएर सिरकभित्र आफूलाई न्यानो पार्‍यौं। बेलुकी हिटरमा कपडा सुकाउन राम्रै हानथाप भयो।

व्यवसायीहरुको लगानीमा हाइड्रो पावर बनाइएको रहेछ। मोबाइल, क्यामेरा चार्ज गर्नेदेखि वायरलेस इन्टरनेटको सुविधा पनि व्यवसायीकै पहलमा पुगेको छ। त्यो दिन खराब मौसमका कारण इन्टरनेट चलेन। तर, मोबाइलमा टावर भने दिइरहेको थियो।

एक त दिनभर पानीमा रुझ्दै हि‌डेका थियौं। उचाईमा त्यसै जाडो हुने। पानी अझै रोकिसकेको थिएन। त्यो दिन हामीले सिरक छोडेनौं।

ooo

यात्राको तेस्रो दिन, 
पानी अझैं रोकिएको थिएन। पानी नरोकिए पनि हामी रोकिनेवाला थिएनौं। आकाश दाईसँग बिदा माग्यौं। दाईंले तातो पानी राख्न थर्मस पनि दिनुभयो। हामीले प्लाष्टिकको बोत्तल मात्रै बोकेका थियौं।

हिजोदेखि लगातार परेको झरिले ठाउँ ठाउँमा चिप्लो थियो। अलिकति तलमाथि भए लड्न सक्थ्यौं। यस्तोमा हामी अझैं होसियार थियौं। छिनछिनमा कुँहिरोले बाटै छेक्थ्यो। एक ठाउँमा त बाटै बिरायौं। बिच बिचमा पानी रोकिए जस्तै हुन्थ्यो। एकै छिनमा दर्की हाल्थ्यो। हिमालयबाट हिंडेपछि देउरालीमा चिया र सुप लियौं। त्यहाँ धेरैबेर रोकिएनौं। हिंडी हाल्यौं।

त्यस्तै तीन बजेको हुँदो हो एमबिसी पुग्दा। बिहानको खाना खाएका थिएनौं। भोक पनि दह्रै लागिरहेको थियो। एमबिसीमा फिस्टेल लजमा दिलिप दाई हामीलाई नै कुरी बस्नुभएको थियो। एमबिसी पुग्दा पानी अलि कम भएको थियो। चिसो कपडा फेरेर हामीले तातो कपडा लगायौं। चिसोले मेरो हात झमझमाई रहेको थियाे। सकभर न्यानो बनेर बस्ने प्रयास गरिरहें।

ooo

बेलुकी पख मौसम सुधारियो। माछापुछ्रे र अन्नपूर्ण हिमाल आँखै अघि देखिए। म एकदमै उत्साहीत भइरहेको थिएँ। आँखाले भ्याउञ्जेल मैले एबिसीलाई हेरिरहें। त्यहाँ अरु पदयात्रीको मुहारमा पनि कम्ति उत्साह थिएन।

त्यो दिनको हाम्रो बसाई एमबिसीमै थियो। झमक्कै रात परि सक्दा पनि हिमाल सेतो टलक्क देखिरहेको थियो। मलाई बेलुकी धेरै बेरसम्म बाहिर बसेर हिमाल हेरिरहन मन थियो। तर, चिसोमा धेरै बेर बस्दा बिरामी हुन सक्ने सम्भावना थियो। त्यसैले मैले दुस्साहस गर्न सकिनँ।

भोलिपल्ट बिहानै एबिसीतिर लाग्यौं। लगातार तीन दिन मौसम बिग्रिएर खुलेको थियो। बाटोभरि सक्दो फोटो खिचिरह्यौं। मैले देखेको एउटा सपना पूरा जो भएको थियो।

ओहो !

हिमालको फेदीमा पुग्दा पनि हिमालमै पुगे जस्तो। म बेहद खुसी थिएँ। नाँचु नाँचु जस्तो। एबिसी पुग्न हाम्रा पाइला कम्ति हतारिएका थिए! दुखपछिको सुख। अप्ठेरोपछिको सजिलो।

योभन्दा सुख अर्को कुन होला ? दुई दिन झरिम रुझ्दै अन्नपूर्ण र माछापुछ्रेको आँगनमा पाइला टेकेको थिएँ। म हिमालैमात्र हेरिरहें। अरु सबै गौण थिए त्यो बखत।

घुमन्तेहरु थरि थरिका पोजमा फोटो खिचाउँदै थिए। म मनभरि एबिसी संगाल्दै थिएँ। फेरि, कहिल्यै स्मृतिबाट नबिलाउने गरी। नहराउने गरी। गन्तव्य बिन्दुमा पुगेर एबिसी हेरिरहँदा मेरो छाती ढक्क फुलेको थियो।

सम्झनाका डोबहरु हामीले एबिसीमा छाड्यौं। तर, ग्लासियर पग्लेर बनेका ठुला ठूला भ्वाङहरुले एबिसीको अस्तित्व नै सखाप हुन खतरा पनि बढेको रहेछ। हेर्दै आङ सिरिङ्ग हुने।

यति धेरै पर्यटकको चाप भई रहने पर्यटकीय क्षेत्र सरकारी निकायको भने उपेक्षामा छ। यहाँको आवाज सुन्न सरकार पनि कहिले यहाँ पुग्दैन। पदयात्रीको सुविधाका लागि खुलेका होटल, रेष्टुरेन्ट यहाँकै व्यवसायीको पहलमा भएको छ।

पदमार्ग स्तरिय बनाउने जोडमा पनि यहाँकै व्यवसायीहरु लागेका छन्। त्यहाँसम्म त ठिकै हो। जलवायु परिवर्तनले काला पत्थरमा परिणत हुँदै गएका हिमाल बचाउने कसले ? त्यो व्यवसायीले नसक्लान्। यो दुरको भूस्वर्गमा पनि सरकारको आँखा परे कति जाति हुन्थ्यो होला हगि ? मैले मनमनै कल्पिएँ।

हेर्दाहेर्दै एकै छिनमा अन्नपूर्णलाई फेरि बादलको बर्कोले ढाक्यो। अघाउञ्जेल हेर्न पनि पाइएन। तर, सम्झना मनभरि भरें। हिमाल हेरेर हाम्रा पदचापहरु त्यतै छाड्यौं, मनभरि भरि सम्झनाहरु संगाल्यौं। अनि, हामी एबिसीबाट फर्क्याैँ। कुनै दिन त्यो हिउँको बाटो फेरि पुग्ने रहर भने मनमै राखेर।

प्रकाशित मिति: : 2021-12-18 10:49:00

प्रतिकृया दिनुहोस्