'कुन देशका नेता चोर हुन्छन् थाहा छैन'! प्रहरीसँग भनिएको भाइरल च्याट, के हो वास्तविकता?

४ बजेर २६ मिनेटमा एउटा म्यासेज आउँछ।

‘तिमीले नेताहरू चोर भनेर पोस्ट गरेको रहेछौँ।'

एकैछिनमा नै जवाफ आउँछ- 'उम गरेको के भो त।' यति लेखेर स्माइली।

'तिमीलाई जेल हालौँ' एङ्ग्री इमोजी प्रयोग हुन्छ।

सामान्य रूपमा मानिसले जेल हाल्ने व्यक्ति प्रहरी नै हो भन्ने बुझ्छन्। यी दुई बीचको च्याटमा एक जना प्रहरी भएको देखिन्छ। यस मानेमा कि च्याट गर्नेको प्रोफाइल पिक्चरमा नेपाल प्रहरीको लोगो प्रयोग भएको छ।

केही दिनदेखि सामाजिक सञ्जालमा दुई जनाको च्याट गरेको स्क्रिनसट भाइरल छ। धेरैले च्याटको मजाक उडाइरहेका छन्।

च्याट यतिमा नै रोकिँदैन। जेल नै हाल्ने डर देखाएपछि नेता चोर भन्नेले फेरि म्यासेज गर्छन्।

‘मैले अमेरिकाको नेता चोर हुन् भन्या हुनसक्छ। चीनको नेता चोर हुन् भन्या हुनसक्छ। नेपालकै नेता चोर हुन् त भनेको छैन नि।‘

प्रहरी पनि थाक्ने पक्षमा देखिँदैनन्। प्रतिक्रिया जनाई हाल्छन्। ‘के रे हामीलाई थाहा छैन कुन देशका नेताहरू चोर हुन्छन् भनेर' फेरि एङ्ग्री इमोजी। सँगै लेखिएको छ 'जेल हालौँ'!

धेरैलाई अहिले लागेको छ के प्रहरीले यसरी नै म्यासेजबाट सामाजिक सञ्जालमा जथाभावी लेख्नेलाई थर्काउँछ। वा अनुसन्धान गर्छ? के यो वास्तविकतामा नै प्रहरीबीच भएको संवाद हो?

 के भन्छ प्रहरी?

प्रहरीमाथि नै प्रश्न उठ्ने गरी सामाजिक सञ्जालमा प्रतिक्रिया आउन थालेपछि घटनाको अनुसन्धान सुरु भएको छ। प्रहरीको साइवर व्यूरोले अनुसन्धान गरिरहेको छ। प्रारम्भिक अनुसन्धान नेपाल प्रहरीको लोगो प्रयोग गरेर नक्कली च्याट बनाइएको देखिएको व्यूरोका एसएसपी रवीन्द्र अर्याल बताउँछन्।

‘ केही दिनदेखि सामाजिक सञ्जालमा भाइरल भएपछि अनुसन्धान थालेका छौँ। अहिलेसम्म हेर्दा फेक भएको देखिन्छ।' एसएसपी अर्यालले भने।

 

प्रकाशित मिति: : 2019-07-24 11:10:13

प्रतिकृया दिनुहोस्