२५ अर्ब लगानी गर्न खोज्दा सीजी टेलिकमविरुद्ध चलखेल हुँदैछः निर्वाण चौधरी (अन्तर्वार्ता)

नेपालको प्रख्यात व्यवसायिक घराना चौधरी ग्रुप अन्तर्गतको सीजी टेलिकम्युनिकेसन र चिनियाँ कम्पनी हुवावेबीच फाईभजीमा अपग्रेड गर्ने योजनासहित नेपालमा फोरजी सेवाका लागि १० करोड अमेरिकी डलरको सम्झौता भएको खबर सार्वजनिक भयो, गत असार १६ गते।

विश्वव्यापी रुपमा विस्तार हुने चिनियाँ कम्पनी हुवावेको आकांक्षामा चीन–अमेरिका व्यापार युद्धले प्रभाव पारेका बेला सीजी टेलिकम र हुवावेबीच भएको यो सम्झौता नेपालमा मात्रै होइन, अन्तर्राष्ट्रियस्तरमै चर्चित खबर बन्यो, रोयटर्स लगायत अन्तर्राष्ट्रिय समाचार माध्यममा। नेपालको टेलिकम्युनिकेसन क्षेत्रमा त यसले सनसनी नै ल्यायो।

नेपालमा भर्खरै फोरजी विस्तार भइरहेका बेला फाईभजी अझैसम्म नौलो प्रविधि हो, जसलाई ‘फाईभजी रेडी नेटवर्क’ पनि भनिन्छ।

सीजी टेलिकमले चाँडै फाईभजीमा अपग्रेड गर्ने योजनासहित फोरजी सेवा ल्याउने सम्झौता गरेपछि थ्रीजीबाट भर्खरै फोरजीमा प्रवेश गरेको नेपाली दूरसञ्चार क्षेत्रमा धेरैका कान ठाडा भएका छन्। अहिले नीजि क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेलले फोरजी सेवा सुरु गरेको छ भने सरकारी लगानी रहेको नेपाल टेलिकमले हुवावेसँग नै मिलेर फोरजी विस्तारको काम गरिरहेको छ।

नेपाली दूरसञ्चार क्षेत्रमा प्रवेश गर्न लागेको सीजी टेलिकमले हुवावेसँग सम्झौता गरी फोरजी सेवाका लागि १० करोड डलरका सामग्री आपूर्ति गर्ने गरी ‘नेटवर्किङ’ सम्झौता गरेको छ। सीजीले दूरसञ्चार क्षेत्रमा प्रारम्भिक रुपमै २५ अर्ब रुपैयाँ लगानी गर्ने तयारी गरेको चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरी बताउँछन्।‘वल्र्ड मोवाईल कङ्ग्रेस’ को अवसरमा सीजीले सञ्चारमन्त्री गोकुल बाँस्कोटाको उपस्थितिमा इटालीको टेलिकम कम्पनी टर्कसेलसँग नेपालमा सीजी लाइफसेल सञ्चालन गर्ने सम्झौता पनि गरेको थियो।

व्यापार युद्धको चपेटामा परेको बेला नेपालको सीजीसँग फोरजी सम्झौता हुनु हुवावेका लागि पनि महत्वपूर्ण थियो। यो सम्झौताले हुवावेको व्यावसायिक महत्वलाई त सावित गरेको छ नै, अमेरिकाले जासुसी गरेको आरोप लगाइरहेका बेला नेपाल, भारतलगायतका देशमा हुवावेको प्रविधि किन्ने सम्झौता हुनुले उसको विश्वसनीयता पनि बढाएको छ।

टेलिकम्युनिकेसनको क्षेत्रमा सुरुमै ठूलो लगानीसहित आउने क्रममा दुईवटा ठूला अन्तर्राष्ट्रिय कम्पनीहरूसँग समेत सम्झौता गरिसकेको सीजी टेलिकमले भने अझै पनि नेपालमा सेवा सञ्चालनको अनुमति पाइरहेको छैन। लामो समयदेखि लाइसेन्स लिने प्रयासमा रहेका प्रबन्ध निर्देशक निर्वाण चौधरी सीजी टेलिकमलाई अनुुमति नदिन दूरसञ्चार क्षेत्रका संस्था र व्यक्तिहरु सक्रिय रहेको दाबी गर्छन्।

नेपालखबरसँग चौधरीले केही संस्था र व्यक्तिहरू आफूहरुले ल्याउन लागेको सेवा सञ्चालन रोक्न सक्रिय रहेको बताए।

‘सीजी टेलिकम आयो भने आफ्नो बिजनेस धराशायी हुन्छ भन्ने सोचेर हामीमाथि चलखेल सुरु भयो’, उनले भने।

टेलिकम्युनिकेसनको क्षेत्रमा प्रवेश गर्न चौधरी ग्रुपले अमेरिकी कम्पनी एसटीएम किनेर सीजी टेलिकममा रुपान्तरण गरेको छ, जसले पछिल्लो समय पूर्वी नेपालमा केही सेवा दिइरहेको थियो। एसटीएमले जीएसएम सेवाका लागि रुचि नदेखाएपछि सन् २०१३ मा सीजीले त्यो कम्पनी किनेर सीजी टेलिकममा रुपान्तरण गरी लाइसेन्सका लागि प्रक्रिया अघि बढाएको हो।

भिस्याट प्रविधिमा वीटीएस सेवा प्रदान गर्दै आएको सीजी टेलिकमलाई मन्त्रिपरिषद्को २०७४ जेठ १५ गतेको बैठकले ‘यो सेवाको आवश्यकता नदेखिएको’ भन्दै आधारभूत टेलिफोन सेवाको अनुमति प्रदान गर्ने बाटो खुल्ला गरेको थियो।

सीजीलाई सेवा सञ्चालन अनुमति प्रदान गर्न सूचना तथा सञ्चार प्रविधि मन्त्रालय र दूरसञ्चार प्राधिकरणलाई मन्त्रिपरिषदले निर्देशन नै दिएको थियो।

सरकारको यो निर्णयसँगै सीजी टेलिकम टेलिफोन सेवाका लागि आधारभूत तयारीमा जुट्यो। चौधरीका अनुसार सीजीले अनुमतिका लागि अवश्यक सबै प्रक्रिया पूरा गरिसक्दा पनि लाइसेन्स पाउनसकेको छैन। अनुमतिका लागि सीजी नेपाल दूरसञ्चार प्राधिकरण धाउन थालेको दुई वर्ष नाघिसकेको छ। यसबीचमा टेलिकम सञ्चालनको पूर्वतयारीस्वरुप १ अर्ब ४५ करोड रुपैयाँ लगानी भइसकेको निर्वाण चौधरी बताउँछन्।

प्रकाशित मिति: : 2019-07-24 09:40:53

प्रतिकृया दिनुहोस्