सैनिक कवि विशाल केसी भारतेली–नेपाली युवा साहित्यकार हुन्। असममा जन्मिए, असममै हुर्किए र अहिले भारतीय गाेर्खा फाैजमा रमाइरहेका छन्। उनले सैनिक जीवनसँगै साहित्यिक कर्म पनि छाडेका छैनन्। उनले हालसम्म छ–वटा पुस्तक प्रकाशित गरिसकेका छन्।
वरिष्ठ साहित्यकार विक्रमवीर थापाबारे उनले ‘विक्रमवीर थापा मेरो आँखीझ्यालबाट’ पुस्तकसमेत प्रकाशित गरेका छन्। उनै सैनिक कवि विशाल केसीसँग विएल नेपाली सेवाले गरेको कुराकानीको सम्पादित अंश–
साहित्य अकादमीबाट पुरस्कृत भारतेली–नेपाली साहित्यकार विक्रमवीर थापालाई कसरी चिन्नुहुन्छ?
– उहाँलाई म एउटा महान दार्शनिककाे रुपमा चिन्छु।
उहाँको सैनिक र साहित्यिक जीवनलाई कसरी बुझ्नुहुन्छ?
– विक्रमवीर थापाको सैनिक जीवनको प्रारम्भिक दिनहरू धेरै–धेरै बलियो र रोमान्चक किसिमको देखिन्छ। किनभने त्यो कालखण्डमा जब उनले पहिलो कृति 'टिस्टा देखि सतलज' निकालेर बन्दूकसँगै कलमको परिचय दिनु भनेकाे स्वर्णिम समय थियो।
त्यसपछि 'विगतको परिवेश भित्र' जस्तो उपन्यास प्रकाशित गर्नु साधारण कुरा हुँदैन्थ्याे। त्याेपनि एक जना सैनिकको लागि। लगतै उहाँकाे दाज्यूको हत्या भयो। त्यसै दिनदेखि उहाँको स्वर्णिम समय समाप्त भयाे।
अर्काे कुरा उहाँकाे साहित्यिक जीवनको मानचित्र अपलोड गरेर हेर्दा के देखिन्छ भने जुन मान-सम्मान हाम्रो समाजबाट पाउनुपर्ने थियो, उहाँले पाउनुभएन। जुन व्यक्तिको दुईवटा पुस्तक विश्वविद्यालयमा अहिलेसमय अध्ययन भइरहेको छ– आज त्यो व्यक्तिलाई चिन्दैनन्, जान्दैनन्।
शिलाेङमा नै ठुल्ठूला साहित्यिक कार्यक्रममा उहाँलाई निम्तो दिँदैनन्। यस घटनालाई लिएर सन् २०१३–१४ मा मैले एउटा लेख लेखेको थिए। मेरो पुस्तकभित्र त्यो लेख सजिएको छ। एउटा कुरा के भन्छु भने यसमा अलिकति दोष विक्रमवीर दाज्यूको पनि छ। तर धेरै दोष चाहिँ हाम्रो समाजको छ। अन्तिम शब्दको प्रयोग गर्नुपर्दा 'विक्रमवीर थापाको सैनिक जीवन र साहित्य जीवनको कथा उस्तै-उस्तै छ।'
विक्रमवीर थापासँग तपाईको पहिलो भेट कहाँ भयो?
– सन् २०१३ मा जब दाेस्रोपल्ट शिलाेङ जाने अवसर प्राप्त भयो। १९ अप्रिल २०१३ मा मैले उहाँलाई पहिलोपटक भेट गर्न उहाँकै घर पुगेको थिएँ। अनि यहीबाटचिन्ने क्रम जारी रह्याे।
‘विक्रमवीर थापा मेरो आँखीझ्यालबाट’, यो पुस्तक लेख्ने रूची कसरी जाग्यो?
– म लिंगभेद र जातिभेदको शिकारबाट आहत भएको मान्छे हूँ। आफ्नो छुट्टै पहिचान बनाउने प्रयासमा निरन्तर रूपमा लागि रहेको थिएँ। एकदिन आफ्नो सामाजिक सञ्जालको लाइभ कार्यक्रमको प्रशारण गर्दागर्दै एउटा शब्द मेरो मुखबाट निस्कियो अनि पछि त्यो शब्दको प्रयोग एउटा नौलो सिद्धान्तलाई लिएर हिन्दीमा पुस्तक लेख्न थाले। मैले दस पाना लेखिसकेको थिएँ।
१४ मार्च २०२० को दिन विक्रम दाज्यूको घरमा उहाँको एउटा अन्तर्वार्ता लिन पुगेँ। २० मार्चदेखि कोरोनाको लहरले गर्दा शिलाेङ बन्द भएपछि विक्रम दाज्यूसँग फोन मार्फत कुरा हुन्थ्यो, कुरा हुँदाहुँदै एकदिन बिसन्चो हुन थाल्नुभयो, जसकारण उहाँ शिलाेङको नजरत अस्पताल भर्ना हुनुभयाे। सैनिक जीवनको आफ्नो बाध्यताले गर्दा मैले उहाँलाई भेट गर्न सकिनँ।
मेरो त्यो पुस्तकलाई एक कुनामा राखेर 'विक्रमवीर थापा मेरो आँखीझ्यालबाट' लेख्न थाले। मलाई भित्रैदेखि एउटा डर लागेको थियो। कतै अब दाज्यू हामीबाट टाढा हुने त होइन्। त्यही डरले उहाँप्रति यो पुस्तक लेख्ने एउटा साहस दियो। खुशी लागेको उक्त पुस्तक उहाँ जिउँदो हुँदा नै मैले समाजमा ल्याउन सकेँ। असलमा यो पुस्तक एउटा शिष्यले आफ्नो गुरुप्रति गुरुदक्षिणा स्वरूप दिएको मात्र हो।
‘विक्रमवीर थापा मेरो आँखीझ्यालबाट’ पुस्तकमा कुन पक्षलाई बढी महत्व दिइएको छ?
– हुनत यस अमूल्य पुस्तकभित्र साहित्य र पत्रकारिता दुवै पक्षलाई राख्ने मैले प्रयास गरेको छु। तर मैले पुस्तकभित्र विक्रमवीर थापाको योगदान परिचय पक्षलाई बढी महत्व दिइएको छु।
लेख्दै गर्दा तपाईलेनै पुस्तकभित्र देखेको सुन्दर पक्ष चाहिँ के छ?
– विषय सूचीको क्रमको आठ नम्बरको विषय 'जब सेक्सको कुरा साधारण हुन्छ तब विक्रमवीर थापा असाधारण हुनुहुन्छ' अनि विषय सूचीको तेह्र नम्बरको विषय 'राधिका प्रधान' तथा वन रैंक वन पे को मार्मिक कथा।
विक्रमवीर थापा साहित्यकार मात्रै हुनुहुन्छ, त? कसरी चिन्ने उहाँलाई?
– विक्रमवीर थापा एकजना कुशल सैनिक, कुशल साहित्यकार, चित्रकार, गीतकार र इतिहासको राम्रो ज्ञान भएकाे व्यक्ति पनि हुनुहुन्छ। मेरो दृष्टिमा उहाँ एक दार्शनिक पनि हो।
पुस्तक प्रकाशित भई पाठकको हात–हातमा पुगेपछि कस्तो प्रतिक्रिया पाउनुभएको छ?
– याे मेरो छैठाैँ पुस्तक हो। तर जुन प्रकारको पाठकवर्गको प्रतिक्रिया आउँदैछन्। यस पुस्तकलाई लिएर साच्चै भन्ने हो भने मेरो मन उर्जावान भएको छ। पुस्तकको चर्चा युकेमा पनि हुँदैछ। सबैभन्दा ठूलो उपलब्धि यस पुस्तकले ११ अक्टोबर २०२१ बाट गाेर्खा इतिहास महिना हासिल गरेको छ।
पुस्तकको माग कस्तो छ?
– पुस्तकको माग धेरै प्रभावशाली ढंगले अगाडि बढिरहेको छ। विक्रम विरोधीहरुलाई पनि मनभित्र–भित्रै पुस्तक हेर्ने रहर छ।