मठाधीशको करतुत धमाधम खुल्दै, गुठी जग्गा विक्री गर्नेहरू कारबाहीमा पर्दै

तस्बिरः राजधानी

काठमाडौं ।गुठीअन्तर्गतको जग्गा बिक्री गरेर भ्रष्टाचार गर्ने विभिन्न गुठीका मठाधीशहरूको कर्तुत एकपछि अर्को गर्दै खुल्न थालेका छन् । देशका विभिन्न भागमा रहेका गुठी जग्गाको संरक्षण गर्ने जिम्मेवारीमा रहेका मठाधीशहरूले नै धमाधम जग्गा बिक्री गर्दै अनियमितता गर्न थालेपछि उनीहरू धमाधम कारबाहीमा पर्दै जान थालेका छन् । मुलुकका विभिन्न जिल्लामा बिक्री गरिएका गुठीका हजारौ बिघा जमिन रोक्का गरिएको छ । 

रूपन्देहीको मटिहानी गुठीकोे जग्गा व्यक्तिलाई बिक्री गर्ने एक मठाधीश कारबाहीमा परेसँगै जग्गा बिक्री गरी खाने अन्य मठाधीशहरूको समेत खोजतलास थालिएको हो ।

गुठीअन्तर्गतको जग्गा व्यक्तिलाई बेचेको आरोपमा गुठी संस्थानले मटिहानी गुठीका मठाधीश जगन्नाथदास वैष्णवलाई निलम्बन गरी कारवाही प्रक्रिया अगाडि बढाएकोे छ । वैष्णवमाथि कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी परेको छ । अख्तियारले समेत गुठीको जग्गा बिक्री गर्नेहरू माथि छानबिन थाल्ने जानकारी दिएको छ ।

राजधानी दैनिकले मठाधीश वैष्णवले गुठीअन्तर्गत रूपन्देहीमा रहेको जग्गा बिक्रीवितरण गरेको खुलासा पहिलोपटक गरेको थियो । २३ वैशाख २०७६ मा राजधानी दैनिकमा प्रकाशित समाचारलाई आधार मानेर छानबिन गरी वैष्णवमाथि कारबाही गरिएको गुठी संस्थानले जनाएको छ । मठाधीश वैष्णवले गुठीअन्तर्गतको झन्डै ३ करोड मूल्य बराबरको ३ कठ्ठा ५ धुर जग्गा दुई व्यक्तिलाई बेचेका थिए ।

संस्थानले छानविन प्रभावित हुने भन्दै मठाधीश वैष्णवलाई निलम्बन गरी कारबाहीको प्रक्रिया अगाडि बढाएको बताएको छ । संस्थानका प्रवक्ता एवं उपप्रशासक सरोज थपलियाले गुठीअन्तर्गत रहेको सो जग्गा बिक्री भएको पाइएपछि कारबाही थालिएको जानकारी दिए । विभिन्न जिल्लास्थित जिल्ला प्रशासन कार्यालयहरूले पनि बिक्री भएको जग्गा रोक्का गर्न सम्बन्धित जिल्लाका मालपोत कार्यालयलाई सर्कुलर गरेको छ ।

गुठीअन्तर्गत रहेका अन्य स्थानका जग्गाको अवस्थाका बारेमा समेत छानबिन थालिएको उपप्रशासक थपलियाले जानकारी दिए । थपलियाले भने, ‘हामीले आवश्यक स्पष्टीकरण सोध्यौं । छानबिनलाई प्रभावित पर्न सक्ने भएकाले निलम्बन गरी कारबाही अगाडि बढाइएको छ ।’ स्पष्टीकरणका क्रममा वैष्णवले आफूले गुठीको जग्गा बिक्री नगरेको र स्वआर्जनबाट किनिएको जग्गा भएकाले बिक्री गरेको भन्दै लिखित स्पष्टीकरण संस्थानमा पेस गरेका छन् । वैष्णवको दाबी झुटो देखिएपछि संस्थानले काराबाहीको प्रक्रिया सुरु गरेको हो ।

प्रकाशित मिति: : 2019-07-22 06:56:45

प्रतिकृया दिनुहोस्