वित्तीय संकटबाट उम्किन इच्छाराजले बेचे सुन्धाराको सम्पति, १३० करोडमा सुमार्गीले किने

तस्बिरः बिजमाण्डू

काठमाडौं। घरजग्गा कारोबारका कारण वित्तीय संकटमा फसेका सिभिल समूहका अध्यक्ष इच्छाराज तामाङले प्राइम प्रोपर्टी बिक्री गर्न थालेका छन्। 

वित्तीय संकटबाट उम्किन केही दिनअघि श्रीमतीको नाममा रहेको सिभिल बैंकको संस्थापक शेयर बिक्री गरेका तामाङले सुन्धारास्थित होटलमा रुपान्तरण गरिएको अपार्टमेन्ट पनि बिक्री गरेका छन्।

उनले एक अर्ब ३० करोड रुपैयाँमा 'प्राइम प्रोपर्टी' बिक्री गरेका हुन्। आर्थिक संकटमा परेकै कारण तामाङले सुन्धाराको यो प्रोपर्टी सस्तो मूल्यमै बिक्री गरेका हुन्।

६ वर्ष अघि होटलमा ठूलो लगानीको घोषणा गरेका उद्यमी अजयराज सुमार्गीले तामाङको अपार्टमेन्ट किनेका हुन्। 

आर्थिक संकटमा परेका कारण तामाङले आफ्नी श्रीमती सृजना शाक्य तामाङको नाममा रहेको सिभिल बैंकको संस्थापक शेयर कर्मचारी सञ्चय कोषलाई भर्खरै बिक्री गरेका छन्। १७ लाख ५३ हजार ५९४ कित्ता शेयर प्रति कित्ता १०० रुपैयाँका दरले बिक्री गरिएको थियो।

शेयर बिक्रीपछि आर्मी अफिसर क्लब अगाडिको सिटिसी मल र चाइना टाउनछेउको जेडीए कम्प्लेक्सको बीचमा रहेको सम्पति तामाङले बिक्री गरेका हुन्। 

सिभिल बचत तथा ऋण सहकारी संस्थाबाट चलाएको ऋण भूक्तानी गर्न नसकेर आर्थिक संकटमा फस्दै गएपछि तामाङले सम्पति बिक्री गरेर भूक्तानी गर्न सुरु गरेका हुन्।

फाइभ स्टार होमटेल नाम दिइएको यो सिभिल लक्जरी रेसिडेन्स अपार्टमेन्ट हो। कम्पनीले ६ रोपनी जग्गामा लक्जरी रेसिडेन्सका फेमिली टावर, प्रिमियम टावर र कर्पोरेट टावर गरेर तीन क्याटागोरी छुट्याएर बनाउने घोषणा गरेको थियो। अपार्टमेन्टहरुको मुल्य ८४ लाखदेखि दुई करोड रुपैयाँसम्म पर्ने बताइएको थियो। 

प्रिमियम अपार्टमेन्ट किन्ने मान्छे नभएपछि होटल बनाएर व्यवसायलार्इ रिकभर गर्न खोजिएको थियो। होटलका लागि थप लगानी आवश्यक पर्छ तर आर्थिक संकटमा फसेका तामाङले पैसा निकाल्न नसकेपछि पुरै सम्पति सुमार्गीलाई बिक्री गरेका हुन्।

६ रोपनी जग्गामा फैलिएको अपार्टमेन्ट १२ तलाको छ। यसमा २०० वटा कोठा छन्। १ अर्ब ३० करोडमा किनेका सुमार्गीले करिव ७५ करोड रुपैयाँ बैंकबाट ऋण लिएका छन्। 

प्रकाशित मिति: : 2019-07-21 14:54:51

प्रतिकृया दिनुहोस्