राष्ट्र बैंक बोर्डमा विवाद हुँदा मौद्रिक नीति ढिलाइ

आगामी आर्थिक वर्षको मौद्रिक नीति आउन अझै समय लाग्ने भएको छ । यसअघि शुक्रबार आउने बताइएपनि चालू आर्थिक वर्षभित्र मौद्रिक नीति नआउने पक्काजस्तै भएको छ ।

स्रोतका अनुसार मौद्रिक नीति अर्को सातामात्र आउने छ । मौद्रिक नीतिसम्बन्धी राष्ट्र बैंकको बोर्ड अफ डाइरेक्टरबीच नै मतैक्य हुन नसकेका कारण मौद्रिक नीतिको मिति धकेलिएको हो । स्रोतले भन्यो, “बजेटमा पनि नीतिविपरीत कुरा निकालेर स्वीकार गरेका छैनन् । मौद्रिक नीतिमा त अझ पूर्ण सहमति हुनपर्ने हो ।” यसअघि अर्थसचिव डा. राजन कोइराला विदेश भ्रमणमा थिए । उनको अनुपस्थितिमा मौद्रिक नीतिबारे निर्णय हुने अवस्था छैन । यसैगरी बोर्डमै रहेका वरिष्ठ डेपुटि गभर्नर पनि एकसाता लामो विदेश भ्रमणमा निस्कँदैछन् । “उनी नफर्कुञ्जेलसमम मौद्रिक नीति आउने सम्भावना पनि छैन,” स्रोतले भन्यो ।

यसअघि राष्ट्र बैंकले मौद्रिक नीतिबारे सुझाव समेट्न सोमबार सरोकारवालासँग सार्वजनिक छलफल गरिसकेको छ । राष्ट्र बैंकले भने तयारी नपुगेकाले शुक्रबार मौद्रिक नीति नआउने बताएको थियो ।

प्रकाशित मिति: : 2019-07-12 19:06:26

प्रतिकृया दिनुहोस्