भारतको पत्रबारे छानबिन हुँदै, वास्तविकता सार्वजनिक गरिने

भारतले सीमामा तरकारी नरोकिदिन आग्रह गर्दै नेपाललाई पठाएको पत्र एक साता भन्दा बढी समयसम्म प्रधानमन्त्री केपी शर्मा ओलीलाई जानकारी नै नदिइएको प्रसंगमा प्रधानमन्त्री कार्यालयले नै छानबिन थालेको छ । प्रधानमन्त्री स्वयंले यस विषयमा गम्भीर चासो व्यक्त गरेपछि छानबिन थालिएको हो ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले शुक्रबार बिहान बाह्रखरीसँगको कुराकानीमा भने,‘‘यसबारेमा प्रधानमन्त्रीले आफैंले अध्ययन गरिरहनुभएको छ । वास्तविकता बुझेपछि हामी त्यो कुरा सार्वजनिक गर्नेछौं ।’’

प्रधानमन्त्री ओलीले आफूलाई त्यसबारेमा शुरुमा जानकारी नै नगराइएको र असार २३ गते मात्रै पत्र पाएको जनाएका थिए ।  जबकि भारतीय दूतावासका तर्फबाट सो पत्र असार १४ गते नै परराष्ट्र मन्त्रालयलाई दिइएको थियो ।  परराष्ट्र मन्त्रालयका एक अधिकारीले भने विषयगत पत्र भएको आधारमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई परराष्ट्र मन्त्रालयले सो पत्र पठाएको बाह्रखरीसँगको कुराकानीमा बताएका छन् । उनले भने,‘‘तर, त्यति लामो समयसम्म कार्यकारी प्रमुखसम्म नै कुरा नपुग्नुले कम्युनिकेसन ग्याप जस्तो देखियो । यसले राम्रो सन्देश गएन ।’’ प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँगको सीमा क्षेत्रमा तरकारी लगायतका खाद्यान्नको प्रवेशका बारेमा हालै भारतबाट पत्र नआएको शुरुमा बताएका थिए । नेकपाको संसदीय दलको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले के को पत्र ? कस्तो पत्र भन्दै त्यस्तो पत्र नआएको बताएको तर पछि पत्र आएको पाइनुले समस्या उत्पन्न भएको । प्रधानमन्त्रीले यो विषयलाई लिएर बिहीबार एक सार्वजनिक कार्यक्रममा क्षमायाचना समेत गरेका थिए ।

प्रकाशित मिति: : 2019-07-12 09:55:14

प्रतिकृया दिनुहोस्