ब्यङ्ग

‘उहाँ’ को होला?

केही दिन अगाडी ग्राण्डि हस्पिटलमा आँखा जँचाउन गएको, हामी लाइनमा थियौं।

एक जना कट्टु लगाएको कालो चस्माधारी, पुट्ट भुँडी निस्केको मान्छे आउनु भयो र सिधै रिशेप्सनमा जानु भयो।

भन्नुभयो– ‘मलाइ हतार छ, फेरि ‘उता’ यस्तो क्राउड पनि हुँदैन, डाक्टरले ठ्याक्क मेरो टाइममा नै बोलाउँछ, क्राउड फेस गर्नै पर्दैन, मलाइ क्राउडमा अलि कम्फर्टेवल हुँदैन, त्यसैले मलाई डाक्टर कहाँ पठाइदिनुस् न।’ 

हामी सबैको निधारमा ‘मलाइ हतार छैन’ भनेर लेखेको वहाँले पढ्नु भएछ। हतारमा उहाँ आफू मात्रै हुनु हुँदोरहेछ। तर अचम्म वहाँले रिशेप्सनबाट तुरुन्तै सेवा पाउनु भयो। सायद वहाँको बटारिएको नेपाली भाषाबाट प्रभावित भएर।

अब ‘वहाँ’ को होला चिन्ने पालो तपाईहरूको। यसको लागि एक दर्जन हिन्ट्स दिएको छु। ‘आइक्यू’ धेरै भएकोले मात्र चिन्न सक्छ भन्ने हामीलाई लागेको छ:

१. नेपाली बोल्दा सकेसम्म जिब्रो बटारेर साह्रै अप्ठ्यारो भएझैँ पारेर बोल्ने। मलाई नेपाली पढ्न गाह्रो छ वा मैले नेपाली पढ्न नै बिर्सी सके भन्ने।

२. नेपालमा हुँदा बाहिर निस्कदा सधै हाफ-कट्टु लगाएर, पुट्ट भुँडी निकालेर र कालो चस्मा लगाएर निस्कने। बाटोमा जो भेटे पनि उता आउनु है भनेर निम्तो दिँदै हिँड्ने, उता आएकोबेला म कहाँ बस्न पर्छ है, मेरो छुट्टै फ्ल्याट छ, बार्बेक्यू ग्रील गर्दै बियर खाएर लड्नु पर्छ है भन्ने।

३. सबै खाना पिरो र मसालादार भनेर हा हा गर्ने, सधै बोतलको पानी (रिफील गरेर) बोकेर हिँड्ने।

४. हरेक कुरामा ब्राण्ड कन्सस् भएको देखाउने तर उपहारको लागि ठमेलको क्युरियो पसलमा ‘कुइरेको भाउ नलगाउनू है’ भन्दै सामान किन्ने। ‘I love Nepal’, ‘Mount Everest’ लेखेको र बुद्धको आँखा भएको टि–शर्ट धेरै मन पराउने। खासाको सामान उचालेर हाम्रो उतातिर पनि पाइने त चाइनिज सामान नै हो तर क्वालिटी यहाँको भन्दा धेरै नै राम्रो छ भन्ने, त्यसैले मैले पनि चाइनिज सामान नै उपहार ल्याएको हुँ भन्ने। 

५. सधैँ टिस्यु बोकेर हिँड्ने, नाक स्यार स्यार गरि राख्ने, टिस्युले पुछेर खल्तीमा राख्ने अनि यहाँ त जहाँतहीँ फाल्छन् हगी भनेर साथमा हिँडेको मान्छेलाई भनि राख्ने।

६. सबैतिर होहल्ला र शोर मात्र सुन्ने, सबैतिर फोहर मात्र देख्ने, सबै कुरा महङ्गो लाग्यो भन्ने र यहाँ बस्नेहरू कसरी बाँचेका छन् होला भनेर ठूलो पीर गर्ने। फोहरको फोटो खिचेर फेसबुकमा राख्न मन पराउने।

७. मसँग नेपाल कसरी बनाउने भन्ने अचुक सूत्र छ भनेर दाबी गर्ने, त्यसको लागि नेपालमा रेष्टुरेण्टमा लगानी गर्नुपर्छ भन्ने, अनलाइन सेवाले घरघरै खाना डेलिभरि गरेपछि मात्र नेपालमा समृद्धि आउँछ भनेर प्रबल विश्वास गर्ने।

८. नेपाली भाषा र संस्कृति मासिदैं छ भनेर ठूलो चिन्ता देखाउने, म त घरमा आफ्ना बच्चाहरूसँग नेपालीमै कुरा गर्छु भन्ने। तर साथमा आएका आफ्ना बच्चासँग कम, गो, लुक, डण्ट डु भन्ने अंग्रेजी मिसाएर,  ‘हेर! मलाई नेपालीमा कुरा गर्न गाह्रो छ तर पनि नेपाली मै कुरा गर्दैछु’ भन्ने भान पार्ने। 

९. हामी नेपालीहरू जम्मा भएर बेलाबेलामा मःमः खाइराख्छौं भनेर गर्व गर्ने। तर आफ्ना बच्चाहरूले नेपाल आएको बेला भात खान मनै गर्दैनन् भन्ने।

१०. कम्पनीले नै पैसा दिन्छ तर पनि नेपालभन्दा बाहिर छुट्टी मनाउन मनै लाग्दैन, त्यसैले बारम्बार नेपाल नै आइराख्छु भन्ने।

११. यहाँको ट्राफिक साह्रै अस्तव्यस्त छ, म त बाटो काट्न पनि सक्दिन, मलाई देब्रेतिर गुड्दा साह्रै डर लागेको छ भन्ने, म त यहाँ फोर व्हिलर हायर गरे पनि ड्राइभ गर्न सक्दिन होला, त्यसैले मलाई लिफ्ट देउ न भनेर माग्ने।

१२. कामलाई सानो ठूलो भन्नु हुन्न भन्ने, कसैलाई पनि के काम गर्दैछौ भनेर सोध्नु हुन्न भन्ने, तर मैले आफ्नै सानोतिनो कम्पनी खोलेको छु वा म मेनेजर छु भनेर बारम्बार भनि राख्ने।

(डिस्क्लेमर: यो ‘वहाँ’को लागि मात्र हो, अरू कोहीसँग मिल्न गएमा संयोग हो! यो जनरलाइज्ड होइन है।)

 

प्रकाशित मिति: : 2021-04-04 10:31:00

प्रतिकृया दिनुहोस्