बाहिर निस्केर एक लट खुकुरी नचाउने सोचियो। तर...पछि सबै शान्त भयो। बिहान बुझ्दा सिर्जना बहिनी बिहाँनपख बाहिर गएकी रहिछन्। साथीहरुहरुले हुँदै नभएको खुकुरी काण्डको पनि निकै प्रचार गरे।
असोज १७ गते बिहानै उठेर चिया बिस्कुट खाएर दुनैतर्फ टोली अगाडि बढ्यो। आज समयमै दुनै पुगिने हुँदा सबैजना हर्षित थियौं। मेरो खुट्टालाई केही बिसेक भएको थियो। ब्यान्डेज खोलेर फेरि कसेँ।
अबको बाटो खासै अप्ठ्यारो थिएन। तेर्सो-तेर्सो अनि ओरालो थियो। यत्रो यात्रामा बल्ल बारीमा फुलेका फुलहरु, लटरम्मै फलेका खुर्सानी, पाक्ने बखतको फापर, सिमी देख्न पाइयो।
बारीहरुमा गाँजाका बोटहरुहरु यसरी उम्रेका थिए कि, मानौं नेपालले गाँजा खेतीलाई वैधानिकता दिइसक्यो र विरोध खतिवडाको संयुक्त लगानीमा मैले वीड फर्म खोलेको छु।
रमाइलो गर्दा गर्दै गुम्बातारा पुगियो। त्यहाँ पशु सेवा शाखा र राम्रै स्वास्थ चौकी थियो। पशु सेवा शाखाको बोर्ड झुण्ड्याएको नजिक मासुको सुकुटी झुण्डिनुले शाखाले राम्रै सेवा दिइरहेको झल्को दिन्थ्यो। मैले यसो भन्दा टोलीमा हाँसो थामिएन।
धेरै तल आइसकेपछि साढे बाह्र बजेतिर अगाडि गएको टोलीले व्यासीघाटमा बिहानको खानाको बन्दोबस्त गरेको थियो। हामी पुग्दा अघिल्लो टोली नुहाइधुवाइ गर्दै थियो। हामीले पनि आधा शरीर नुहाएर खाना खायौं।
धेरै दिनपछिको त्यो नुहाई ऐतिहासिक रह्यो। व्यासीघाटमा टन्नै ओखर फल्ने रहेछ। बस्तीमा ठूलाठुला ओखरका रुखहरु थिए। नजिकैको एक घरबाट ओखर किनेर खायौं।
हामी बिस्तारै दुनैतर्फ झर्यौं। दुनै पुग्नुभन्दा अलि माथि मेरो भेट आदरणीय चन्द्रजंङ्ग हमाल दाइसँग भयो। उहाँ विश्व वन्यजन्तु कोष अन्तर्गत राष्ट्रिय निकुन्जमा कार्यरत हुनुहुन्छ। ’आज शनिबार भएकोले घुम्न निस्केको’ भनेर चन्द्र दाईले नभनुन्जेल मलाई कुन बार हो भन्ने पनि थाहा थिएन।
एकछिनको भलाकुसारी पछि हामी अगाडि बढ्यौं। जीवनमा एकपटक घुम्नै पर्ने सर्किट, जीवन, जनता, संस्कृति र त्यो मरुभूमि एकपटक पुग्नै पर्ने ठाउँ हो।
सिमेनबाट धोसम्मै मोटर चलाउन मिल्ने बाटो बनेको थियो। धोबाट दुनै जोड्ने काम भइरहेको थियो। मैले कयौँ पटक साइकल सम्झिएँ। घरिघरि नेपालकै ठुलो राष्ट्रिय निकुन्जको क्षेत्रफल पाँच सय पचपन्न वर्ग किमी मात्रै आभाष हुन्थ्यो।
माथि त आफ्नै नियम, आफ्नै शासन थियो। सायद सरकारलाई यहि कुराको महसुस भएपछि मुगुको केही भाग समेटेर अर्को संरक्षण क्षेत्र घोषणा हुँदैछ।
दुनैसम्ममा समेत सरकारले गर्न सक्ने न्युनतम केही पनि गरेको छैन। लाग्छ, यहाँ सरकारको उपस्थिति नै छैन। कर्णालीको विकासविना नेपालको समृद्धि असम्भव प्राय छ। व्यवस्था फेरिए पनि जनताको जीवनमा तात्विक परिवर्तन छैन। जनता झुट्ठाे मुस्कान पस्कन बाध्य पारिएका छन्।
हामी तीन बजेतिर दुनै पुग्यौं। कपडा फेरेपछि खाजा खान होटलतर्फ गयौं। धेरैपछि मिठो मःमः र कफी खाएर तलतल मेटायौं। साँझ निकुन्जका आदरणीय दाजुहरु रामु, गोपाल, अक्षय, छत्र, लेखापाल लोकराज दाजु र वनको टोलीसँगै लोकतान्त्रिक तरलसहितको खाना खाएर टोली हाम्रो होटलमा सुत्यो।
हाम्रो थकान सबै उर्जामा परिणत भयो। यात्रा सम्झेर हामी सबै हर्षित थियौं। सबैको मुखमा मुस्कान थियो।
असोज १८ गते हामी पुन: मोटरसाइकलमा रुकुमको राडीसम्म आइपुग्यौं। १९ गते बिहानको खाना साथी मान बहादुरको घरमा खाएर सुर्खेत हिँड्ने तय भएको थियो। उनका दाजुको सिम्लीमा जय श्रीराम डेरी उद्योग छ। कर्णाली प्रदेशको उत्कृष्ट डेरीको रुपमा कृषि मन्त्रालयबाट पुरस्कृत भएको रहेछ।
साथी ललित पनि डेरीमै आएका थिए। कुबेर दाईसँग बाह्र वर्षपछि ऐतिहासिक भेट भयो। उहाँ बिमारी भएर काठमाडौंमा गएको बेला साथी मनबहादुरको कोठामा भेट भएको थियो। हाम्रो माया त्यही बेलादेखि प्रगाढ थियो।
कुबेर दाजुले मप्रति देखाएको माया, सद्भाव देखेर उत्तम भाई चकित भयो। हामीले करिब डेढ घण्टा भलाकुसारी गर्यौं।
आज यतै बस्नुपर्छ भनेर धेरै कर गर्नुभयो। तर हाम्रो स्वास्थ्य स्थिति हेर्दा जसरी पनि सुर्खेत पुग्नै पर्ने थियो। कुबेर दाजुले नरमाइलो मानिरहनु भएको थियो। माफी माग्दै मैले मोटरसाइकल स्टार्ट गरेँ।
सिम्लीबाट हिँडेको पन्ध्र मिनेट पनि भएको थिएन, मोटरसाइकलको पछाडिको टायर पंचड भयो। उत्तम भाइलाई ओर्लिएर पंचड टाल्न चाइनाबगर र रिम्ना जोड्ने पुल तरेर रिम्ना गएँ।
करिब डेढ घण्टापछि पंचड टालेर पुन: चाइनाबगर आएँ। उत्तम भाइ हिँडेर त्यहाँ आइसकेका रहेछन्। हामी मध्यपहाडि लोकमार्ग हुँदै बेतालले सुर्खेततिर हुइँकियौं।
चौरजहारी नपुग्दै जाजरकोटको मटेला तर्ने झुलुङ्गे पुल तरेर जानु भन्ने ललितको निर्देशन थियो। त्यो पालना गर्दै त्यसपछि पिचैपिच सल्लिबजार छिन्छु हुँदै सात बजे सुर्खेत पुग्यौं।
यसरी एघार दिनको माथिल्लो डोल्पाको ऐतिहासिक यात्राको भौतिक पक्षले बिट मार्याैँ। सबै कुराहरु एक-एक लेखे त किताब नै बन्ने रहेछ। सरसर्ती यात्रालाई जस्ताको त्यस्तै उतार्ने प्रयास गरेको छु।
जीवनको एक अविस्मरणीय यात्रा सम्झिँदा मन चङ्गा हुन्छ। तनाब सबै हट्छ। यस यात्रामा साथ दिनुहुने सम्पूर्णलाई सादुवाद।
(लेखक कर्णाली प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका अधिकृत हुन्। बिएल नेपाली सेवामा शृङ्खलाबद्ध रुपमा प्रकाशन भइरहेको डोल्पा यात्रा संस्मरण सकिएको छ। आगामी दिनमा अरु शृङ्खलामा उनीसँग हाम्रो भेट हुने नै छ।)