कहाँ–कहाँ हुँदैछ उपनिर्वाचन ? यस्तो छ आयोगको तयारी

तस्बिरः बाह्रखरी

काठमाडौं । निर्वाचन आयोगले ३५ जिल्लामा विभिन्न कारणले रिक्त रहेका ४७ स्थानमा उपनिर्वाचन गराउनका लागि गृहकार्य सुरु गरेको छ । कात्तिक मसान्तभित्र रिक्त रहेका प्रदेशसभा, प्रतिनिधिसभा र स्थानीय तहमा निर्वाचन गरिसक्ने आयोगको तयारी छ । 

०७४ मा सम्पन्न ३ तह (स्थानीय, प्रदेश र प्रतिनिधिसभा) को निर्वाचनपछि १ प्रतिनिधिसभा सांसद, ३ प्रदेशसभा सांसद, १ उपमहानगरपालिका प्रमुख, ३ गाउँपालिका अध्यक्ष र १ उपाध्यक्षको निधन भइसकेको छ । ४७ मध्ये ९ जनाबाहेक अरु सबै जनप्रतिनिधिको निधन भएका कारण स्थान रिक्त छ । ५ जना वडा अध्यक्ष जिल्ला समन्वय समितिमा निर्वाचित, १ जनाको राजीनामा र २ स्थान अन्य कारणले रिक्त भएको आयोगले जनाएको छ । 

आयोगका प्रवक्ता शंकरप्रसाद खरेलले रिक्त रहेका ती स्थानमा आगामी कात्तिकभित्रै उपनिर्वाचन सम्पन्न गर्नेगरी तयारी भइरहेको बताए ।

“कात्तिकभित्र उपनिर्वाचन सम्पन्न गरिसक्ने गरी आयोगले तयारी थालेको छ,” प्रवक्ता खरेलले भने, “निर्वाचनको मिति तोक्ने बारेमा गृहकार्य भइरहेको छ ।” स्थानीय तह निर्वाचनको मिति आयोगसँग समन्वय गरी सरकारले तोक्छ भने प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मिति आयोगले सरकारसँग समन्वय गरी तोक्ने कानुनी व्यवस्था छ । 
जसमा प्रतिनिधिसभातर्फ १, प्रदेशसभातर्फ ३ सांसद, उपमहानगरपालिकाको १ प्रमुख , ३ गाउँपािलका प्रमुख, १ उपप्रमुख र ३८ वडा अध्यक्षका लागि निर्वाचन गर्नुपर्नेछ । निर्वाचन आयोगसँग भएको तथ्यांकअनुसार ती स्थानमा ०७४ सालको निर्वाचनमा ४ लाख २५ हजार ७४ मतदाता रहेका थिए । २४१ स्थानमा मतदान केन्द्र रहनेछ । 

प्रकाशित मिति: : 2019-07-11 13:46:00

प्रतिकृया दिनुहोस्