जुम्ली ठाडीभाका शृङ्खला - भाग तीन, खण्ड (ग)

गाेइलीकाे प्रेमले दरबारमा ल्याएकाे ‘भुकम्प’

प्रिय पाठकहरु, आज हामी ढिलाे नगरी गाेइलीकाे कथा खण्ड (ग) सुरु गर्दैछाैं। खण्ड (ख) मा भएकाे ट्वीस्टका लागि क्षमा चाहन्छु। अनावश्यक कुराउनु परेकाेमा पश्चाताप छ। हेराैं युवराज लवराज र गाेइलीकाे प्रेम कता माेडिन्छ?

---

सदाझैं गाेठमा पुग्नेबित्तिकै खेल सुरु भयाे र त्याे रात पनि उनीहरुलाई छाेटाे नै लाग्याे। रात छाेटाे भएपछि खाक त बाँकी नै रह्याे, सँगै तिर्सना पनि मेटिएन। गाेठबाट बाहिर निस्कने बेला लवराजले भन्याे, 'आज केही काम नभयापछि माथि लेकपुर 'लामा-विष्नुकाे' थान पछाडि भेट्न आया। माे पर्खी बस्न्याछु।' गाेइली सुनिमात्रै रही केही बाेलिन र सरासर घरतिर लागी।

त्याे दिन धाेबीगाडकाे किनार सिरसिर बतासमा कावा खाइरहेकाे थियाे। लवराज भने गाेइलीलाई मुरलीकाे धुनले डाँकिरहेकाे थियाे। उक्त बताससँग सहेली खेल्दै आएकाे मुरलीकाे धुनले गाेइलीले टाला सिउँदै गरेकाे कलबाट निस्केकाे ध्वनिलाई टक्क राेकिदियाे। गाेइली उक्त धुनमा मुग्ध भई। बिहान लवराजले 'आफू पर्खि बस्न्याछु' भनेकाे सम्झी। र उसका पाइला टकटक गरि उकालाे लागे।

केही उमंग, केही उत्साह र केही डर बाेकेर उकालाे लागेकी उ लामा-विष्णुकाे थान पुगुन्जेल लवराजकाे मुरलीकाे धुन झन् एकाेहाेरिरहेकाे थियाे। मुरलीकाे धुन जति एकाेहाेराे थियाे, त्याे भन्दा कयाैं गुणा उ एकाेहाेरिएकाे थियाे।

उसले युवराजलाई यति बिघ्न एकाेहाेराे कहिल्यै देखिकी थिइन। उसलाई लाग्याे सिंजा साम्राज्यकाे आयु धेरै छैन। 'एक रानीमा चित्त नबुझाउने महासामन्तहरुकाे ध्यान राज्यभन्दा बढी स्त्रीमा हुन्छ। उसकाे एकाेहाेराेपन अर्की नभेटुन्जेलसम्म त हाेला नि! स्त्रीलम्पटताकाे असर कुनै दिन देखिने नै छ,' गाेइलीले मनमनै भनि।

राजकाज चलाउन सिक्नुपर्ने मान्छे, संसारका सभ्यता बुझ्नुपर्ने मान्छे, राजनीति दर्शन, इतिहास, कला, संस्कृति, व्यापार व्यवसाय, अन्तर्राष्ट्रिय सम्बन्ध र मामिलाबारे ज्ञान लिएर शासन संचालनकाे तयारीमा दिनरात खटिनुपर्ने मान्छेबाट प्रेमकाे एकाेहाेराे शंख बज्न थालेपछि राज्य चलायमान हुन सम्भव छैन। र एक दिन राज्यकाे शंख पनि यसरी नै बज्नेछ। याे उसकाे अध्ययनकाे निष्कर्ष थियाे।

उसले साेची, युवराजलाई मदेखि टढ्याउँछु। सके सम्झाएर, नसके वास्ता नगरेर। उसले राजकाज सम्हाल्नु पर्छ। सिंजा साम्राज्यकाे कृति जुग जुगसम्म उस्तै रहनुपर्छ। याे राज्य न्यायमा आधारित बनाउलाई म पनि युवराजलाई सहयाेग गर्नेछु।

उसकाे बुद्धि पलायाे भने सिंजामा दास रहने छैनन्। उचनिच रहने छैनन्। जिउलेल र पावैकाे भेद हट्नेछ। राजा महिन्द्र मल्लभन्दा युगाैं अगाडि उसले लवराजमा याे अवतार हाेस् भन्ने चाहना राखी, कि उसले महासामन्तकाे कार्यभार सम्हालेपछि बिहना बेलुका छतमा गएर आफ्ना प्रजाजनकाे छतबाट धुँवा आए-नआएकाे हेराेस्। सबैका भान्सामा आगाे बल्याे भने मात्रै उसले आफ्नाे भान्सा तयार गर्न लगाओस्। सिंजाले उदार र लाेककाे हित चाहने राज्यकाे रुपमा कृति फैलाओस्। सभ्यता निर्माणमा एक कदम अगाडि बढाेस्।

एक मनकाे कल्पनामाथि अर्काे मनले प्रश्न गर्‍याे, 'के राजकाज लवराज एक्लैले चलाउने हाे? उसका वरिपरिका सुन्डमुन्डहरु लाटाेले केरा हेरैझैं हेर्लान्? अरुलाई दास बनाएर, कँज्याएर, खुन पसिना चुसेर मात्रै आफ्नो सुख देख्ने सामन्त बाहुनहरुकाे बलियाे संगठन त्यसै चुप लाग्ला? उ राजद्राेहसम्मकाे षड्यन्त्रमा नलाग्ला? त्यसैले मेराे निष्कर्ष सही भएपनि कल्पना साेह्रै आना गलत छ। जुन वस्तविकतामा बदलिन कदापि सम्भव छैन।'

उ लवराजसँग नेभेटी फर्किनलाई एक कदम पछाडि हटी। त्यहीबेला उसले बजाइरहेकाे मुरलीकाे धुन राेकियाे। मानाैं, उसले गाेइलीकाे बासना सुँघ्याे। पछाडि हट्न लागेकी उसँग आँखा जुधे। दुबैकाे मनमा तरंग उठे, चार सय चालिस भाेल्डकाे करेन्ट लागेझैं, आकाशमा बिजुली चम्केझैं। केही नबाेली जहाँका त्यही अडिए, गडीका सिउबाघ जस्तै। आँखा जुदिरहे मानाैं, युग युगदेखि दुई जाेडी आँखाले एक अर्काे प्रति नजर लगाइरहेका छन्। एक झिमिकमा एक युग बितिरहेकाे छ।

कुन्नि के साेचेर हाे, गाेइली दुई कदम अगाडि बढी। लवराज पनि त्यसरी नै बढ्याे। दुबैकाे मुहारमा लालि पाेतियाे। दुबै लजावती फुलझैं लजाए। खुम्चिए, चिप्ले किराकाे शरीर खुम्चिएझैं। मुखबाट वाक्य फुटेन। आँखा बाेलिरहे। आँखाकाे भावले मुटु धक्क फुल्याे। शान्त वातावरणमा दुईवटा मुटुकाे ढकढक आवाज मात्रै सुनियाे।

गाेइली उठेर हिँड्न लागेकी थिइ, लवराजकाे बाेली फुट्याे जन्मेकाे छ महिनापछि गिजा फाेडेर दाँत निस्किएझैं। दुई कदम अगाडि बढेकी उ एक कदम पछाडि हटेर कान फाली। लवराजले ढिलाे नगरि, कुनै भुमिका नबाँधी भन्याे, 'हामी भ्या गरु।'

गाेइलीकाे मनमा चिसाे पस्याे। प्रेमकाे सागरमा डुबेकी उ नाैनी पग्लेझैं हुनुपर्ने हाे, तर खै किन हाे उ पुसमा जमेकाे ठाँडाे(बरफ) जस्ती भई। केहीबेरकाे माैनता ताेडी, 'महासामन्तकाे जेठाे छाेराे। राजकाजकाे जिम्मा दिने भनी उत्तराधिकारी घाेषणा गरिसकेको मान्ठ र मेराे भ्या क्या गरि सम्भव हाेला? दरबारसँग भएकाे असिमित शक्ति र त्यसकाे दुरुपयोगले हामीमाथि ज्या पुनि हुन सक्न्याछ। तिम्माे हात आउन लाग्याकाे राजकाज खाेसिन सक्न्याछ। तिमी एक्ला, निरीह र शक्तिहिन हुन सक्छौ। यतिले पुनि दरबारको चित्त बुझेन भुन्या देश निकाला हुन सक्छ। क्या यी सबै सहुँला साेच्याका छाैं? सहन्या शक्ति छ?'

उसले मनकाे गाँठाे फुकाई, 'सिंजाकाे सुन्दर र सुरक्षित भुगाेल तुम्मा जिजुबाज्यालाई खुब राम्ड्राे लाग्याे। न्यई किल्ला गाडिकन बस्या। न्याका रैथाने माथि शासन चलाया। न्याबाट आम्नाे राज्य विस्तार गन्न लागी पड्याका छुन। साल फेरियापै सिंजा राज्यकाे सिमा फेरिँदाेछ। दक्षिणकाे कुमाउ, गडुवाल तुम्माे राज्यकाे किल्ला बढाउने लक्ष्य छ। उत्तरमा तिब्बतकाे गुंगे पर्वतसम्म पुग्याकै छाै। भाेट व्यापारकाे बाटाे छ। मधेस अपार सफलता छ। यस्ताे देशकाे हुन्यावाला महासामन्त हाै। भ्या गर्न तुमीले साेच्या जाे सजालाे नाई। हामीले भ्या गर्‍याकाे चित्तबुझ्दाे मान्या समाज नाई।'

जातले नमिलेकाे वात उसले गीतबाटै पाेखीः

म तल्ला जातकी चेली, शाही काेटका राजा।
मनभित्रकाे साँचाे कुडा, खाेली बाेल्याआज।।

गाेइलीका कुरामात्र सुनिरहेकाे लवराज केही बाेल्न खाेजिरहेकाे थियाे। उसकाे धाराप्रवाह बाेलीले राेकियाे। प्रेमकाे परिभाषा दिन चाहन्थाे। तर व्यक्त भाषाभन्दा इसारा बढी बुझ्ने उ आँ गरे अलंकार बुझ्थी। उसका अगाडि प्रेमका रद्दी परिभाषा र तर्कहरु व्यर्थ हुन्थे। उसले जवाफ दियाेः

आँखाले देखिने ठाउँमा, क्या हेर्नुछ ऐना?
न मरनु, न भागनु, खेलाइस आज मैना??

लेकपुरका लामा-विष्णुलाई साक्षी राखेर उनीहरुकाे खेल सुरु भयाे। पुसमासका लामा रात पनि छाेटा मानेका उनीहरु दिउसैदेखि खेल लगाउन लागे। उ अनेक उपाय लगाएर गाेइलीलाई फकाउन चाहन्थ्याे। तर उल्टै सम्झाइ बुझाई गरिदिन्थी। र पनि उसले मायाकाे डाेरीले लवराजलाई बाँधेकी थिई।

उसले राजकाज कि प्रेम? दरबार कि सामान्य घरबार? पञ्च परिकार कि साग सिस्नु? सुख सयल कि दु:खका जन्जिर? देश हाक्ने कि भाग्ने? प्रश्न गर्दै गई। मानाै, यी उसका यक्ष प्रश्न हुन्। जसबाट लवराज मर्ने र जिउने भइरहेकाे छ। महाभारतमा युधिष्ठिरका भाईहरु, नकुल, सहदेव, अर्जुन र भिमझैं।

दरबारकाे सुखसयल र हावापानीबाट पालीत-पाेसित लवराज बाेइलर कुखुराजस्ताे देख्नमा राम्राे भए पनि तर्कमा शक्तिहिन हुन्छ। गाेइली हिउँदकाे चिसाे सिरेटाे, बसन्त लाग्नुभन्दा अगाडिको हावाहुरी र चैत वैशाखका धुप सहेरै झन् बलियाे हुँदै प्रश्न गर्दैछ। गुरुहरुका कुरा मात्रै सुन्नुपर्छ भन्ने खालकाे शिक्षादीक्षा मिल्ने जमानामा तुंगनाथ पाध्याबाट उसले प्रश्न गर्न सिकेकी छ।

उसाे त हमेशा प्रश्न गर्ने काम सत्ताभन्दा बाहिर रहेकाहरुकाे नै हुन्छ। लवराज बाेल्दाबाेल्दै बेलाबेला उछिट्टिन्छ। कतिबेला बिचलित हुन्छ, अलमलिन्छ, चिप्लिन्छ। त्यही माैकाका गाेइली बचनकाे वाँण हान्छः

भात भान्साकाे तार नगरी, खायाै शाहीले राेटी।
रुप मेराे असर्फी जस्ताे, जात मान्याैकी खाेटी??

विचलित उ एकछिनमा सम्हालिन खाेज्छ। उ गाेइलीकाे मायाकाे डाेरिमा बाँधिन खाेज्छ। चुम्बकीयविपरीत ध्रुव मिल्न आँटेझैं। गाेइलीका प्रश्न सहन नसकेर उ घरिघरि घायल हुन्छ। र सम्हालिदै जवाफ दिने काेसिस गर्छ।

राेटीले परानी राख्याे, क्या गर्‍याे भातले?
समाजले पचाउनै गाह्राे, मैनाका जातले।।

उ प्रष्ट हुन सकेकाे छैन। प्रीतिकाे भाउ बुझे पनि व्यक्त गर्दा कहीँ न कहीँ चुकिरहेकाे छ। प्रीतिकाे अगाडि जात केही हाेइन भन्न सकेकाे छैन। जात समाजले पचाउन गाह्रो भएकाले के गर्ने? दाेधारमै छ। यतिबेला गाेइली उसकाे अग्नी परीक्षा लिइरहेकी छ। गाेइलीका प्रश्नले युवराज दुई वटा डुंगामा चडेजस्ताे देखिन्छ। दिशाहिनः

ठूलो जात ठूलै हुन्छ, सानाे जात सानै हाे।
समाजले गर्‍याकाे सम्मान, ठूलाे खान्दानै हाे।।

गाेइली उसलाई झन् दाेधारे बनाइदिन्छ। सम्हालिन्छ कि विचलित हुन्छ? जान्न चाहेकी छ। परिक्षामा सफल भएन भने प्रेममा असफलता निश्चित छ। हरेक वैकल्पिक प्रश्नमा दाेस्राे विकल्प राेजे पनि नदीका बाटा जस्ता घुमाउरा र सियाेझैं तिखा प्रश्न सहितका गीतकाे भाव बुझ्न उसलाई कठिन परिहेकाे छ। उ गाेइलीबाट भाग्न खाेज्छ।

लागेकाे लाग कलम लैजा, पाेइला गैजा बैना।
लाई प्रितीलाई गाेप्य राखी, हल्ला नगर मैना।।

उसले दरबारीया रबाफ देखायाे। प्रेमलाई पैसामा ताैलियाे। उसका अघिल्ला पुस्ताकाे घिनलाग्दाे चरित्र प्रदर्शन गर्‍याे। गाेइलीले पासाे थापेकी छ। जसबाट लवराजलाई उम्किन मुस्किल छ। लवराजकाे अधिरता माथि निरन्तर प्रहार गर्दै जान्छ।

आँखा चिम्ली नजिक आइगेइस्, ढलफले बैंसमा।
ताैलिदैन गहिराे प्रिती, धन दाैलत पैसामा।।
जम्का भेटमै पूरा गरिस, आम्नाे अभिलासा।।
रुप देखेर नजिक आइछिस, पडिस् अहिले पासा।।

लवराजले माैनता ताेड्याे। उसले 'राजकाज, दरबार, सुखसयल, पञ्चपरिकार त्याग्न तयार छु' भन्याे। ट्रयाकमा आयाे। तेउडिएका डाेरीका फेराझैं फेरिन तयार भयाे।

छाेरा नाति बास बिक्छन्, बाउ बाज्या किर्तिले।
सानाे ठुलाेजात भन्दैन, माया र प्रितीले।।
बचनाका वाँणले मेराे, मन नगर अँध्यारो 
इच्छा पुर्‍या आफ्नाे मैना, नजिक आइजा मेराे।।

रात छाेटा भएकै थिए। दिन पनि छाेटाे भयाे। लवराजकाे मनमा आँट पलाएकाे थियोे। उसले प्रेमका अगाडि सबचीज फिक्का मान्न थालेपछि गाेइलीले परीक्षा लिन छाेडी। राति भेट्ने बाचा सहित उनीहरु छुट्टिए।

याे रात, उनीहरुका लागि अन्तिम थियाे यसरी देउडा खेल्नलाई। सायद लवराज अग्नि परीक्षामा सफल भयाे। उनीहरु एक निर्णयमा पुग्न चाहन्थे। त्यसकारण ओैपचारिक संवाद भएन। रातभरी सवाल जवाफ भइरहयाे। त्यस रात सिंगाे सिंजा राज्यलाई कसैले लाेहाेरी सुनाएजस्ताे लाग्याे। अहिलेसम्मकै मिठा गीत र सुरिलाे भाकाले सिंजा राज्य मन्त्रमुग्ध भयाे।

रातभरि जंगली चराहरुले आँखा झिमिक्क गरेनन्। गाेठका गाई, घाेडा निदाएनन्। पाँडका परेवा जाेडी प्रेमिल बने पनि रतिरागमा लागेनन्।  रुखहरु सुसाएनन्। पिपलका रुखहरुले अक्सिजन फाल्न बिर्सिए। मात्र उनीहरुका सवाल जवाफ सुनिरहे:

गाेइली :  पानी तिर्खा मरिजान्छ, लाई प्रिती मर्दैन।
             समाजकाे लाज मान्या मान्ठ, गल्ती काम गर्दैन।।

लवराज : हृदय जलन लाग्याे, जेठका धुपजस्ताे।
              माे अन्ता काँ पाउन्या छु त, मैनाका रुप जस्ताे।।

गाेइली :  जानी गल्ती स्वीकार गर्दै, ठाउँमा आयाै बल्ला।।
             शाही नछुटाया गैराे प्रिती, म गर्न्यानाई हल्ला।।

लवराज :  तीन तेउडा पडन लाग्या, लाई प्रितीकाे फेराे।
               मन खाेलेर भन्दे मैना, इच्छा के छ तेराे??

गाेइली : मुग्लान भागेर गैजाउँ, सुटुक्क भ्यागरी
            पडिगइस प्रितीका पासा, उम्कनाे क्यागरी??

लवराज : सातदिनकाे रामथला भेटहाेस्, मैनाका साथमा।
             खाक बाँकी तिर्सना बाँकी, यी छाेटा रातमा।।

रातभरको सवाल-जवाफपश्चात् उनीहरु एकाएक गायब भएको खबर चैत, बैशाखको चट्याङ सरि दरबारमा ठोकियो। दरबारको उत्तराधिकारी रहेको लवराजको उक्त खबरले सुन्दर युवती देख्यो कि रखौल बनाउन बानी परेका स्त्रीलम्पटहरुाथि नौ रेक्टरको भुकम्प आयो। जसले राजदरबारकाे गरिमा डगमगायो।



अनि गाेइली दरबारकाे प्याराे बनिन्

नेपथ्यकी गाेइली

प्रकाशित मिति: : 2021-09-12 12:33:00

प्रतिकृया दिनुहोस्