प्रधानमन्त्रीले प्रचण्डलाई भने- पाँच वर्ष म नै सरकार चलाउँछु, क्याबिनेट पनि हेरफेर गर्दिनँ

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच पछिल्लो समय भइरहेका लम्बेतान छलफल शक्ति बाँडफाँटमा पुगेर अड्किएका छन्।

केही समयअघिसम्म पार्टीको राजनीतिक दस्तावेजमा दुई अध्यक्षको कुरा मिलेको थिएन। पछिल्लो समय भने उक्त विषय टुंगिएर रस्साकस्सी नयाँ विषयमा पुगेको हो।

‘उहाँहरूबीच अचेल दैनिकजसो भेट भइरहन्छ र दुई-तीन घन्टासम्म चल्छ। तर सहमति जुटेकै छैन,’ प्रधानमन्त्रीनिकट एक स्थायी समिति सदस्यले सेतोपाटीसँग भने।

सहमति नजुटेको विषय के हो त?

प्रधानमन्त्री ओली र  प्रचण्डनिकट फरक-फरक नेताहरूको जवाफ एउटै छ- उहाँहरूबीच पावर सेयरिङमा कुरा मिलिरहेको छैन।

प्रधानमन्त्रीनिकट स्रोतका अनुसार प्रचण्डले पार्टी एकीकरणका बेला आफूहरूबीच भएको सहमति कार्यान्यवन हुने गरी जाऔं भनिरहेका छन्।

‘मूलतः उहाँले पार्टीमा आफ्नो ठाउँ खोजिरहनुभएको छ, अध्यक्ष भएर पनि अहिलेसम्म बैठकको अध्यक्षतासमेत गर्न पाइनँ भन्ने गुनासो छ,’ स्रोतले सेतोपाटीसँग भन्यो, ‘प्रचण्डले प्रधानमन्त्रीसँग भन्नुभयो- पहिले तपाईंको र मेरो कुरा गरौं, कसको भूमिका के भनेर स्पष्ट पारौं अनि बल्ल तल्लो तहका नेता कार्यकर्तबारे कुरा गरौंला।’

संगठनात्मक संरचना निर्माणमा अर्का सचिवालय सदस्य माधवकुमार नेपालको एक व्यक्ति एक भूमिका हुनु पर्ने तर्कसँग प्रचण्ड सहमत छन्।

प्रकाशित मिति: : 2019-07-07 17:13:02

प्रतिकृया दिनुहोस्