प्रधानमन्त्रीले यथार्थभन्दा बाहिर गएर बोलेको भन्दै आलोचना

श्याम राई

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समयमा दिएका केही अभिव्यक्तिको सर्वसाधारणले चर्को आलोचना गर्दै आएका छन्। उनले अपत्यारिला अभिव्यक्ति दिएकै कारण आलोचना भएको हो। गत शनिबार मदन भण्डारीको ६८औं जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भनेका थिए, ‘मैले प्रधानमन्त्री हुँदाका बेला भनेको थिएँ– अब काठमाडौंमा नाक समाएर हिँड्नुपर्दैन। माक्स लगाएर हिँड्नुपर्दैन। म प्रधानमन्त्री हुँदा आधा जनसंख्या माक्स लगाएर हिँड्थे। अहिले सडकमा मास्क लगाएर कोही पनि हिँड्दैनन्।’ प्रधानमन्त्रीले यस्तो भनेपछि कार्यक्रममा उपस्थित धेरैले तालीसमेत बजाए।

प्रधानमन्त्रीको भाषण पत्याउने हो भने उपत्यका धुवाँ र धुलोमुक्त भएकाले सडकमा माक्स लगाएर हिँड्नपर्ने अवस्था छैन्। तर, यथार्थ भने ठीक उल्टो छ। प्रधानमन्त्रीले हावादारी कुरा बोलेको भन्दै सामाजिक सञ्जालमार्फत चर्को आलोचना भएको छ। सडकमा हिँड्नेले पनि प्रधानमन्त्रीले यथार्थभन्दा बाहिर गएर बोलेको भन्दै आलोचना गरेका छन्। जोरपाटी, बौद्ध, चाबहिल, रत्नपार्क, कोटेश्वर, चक्रपथ, थानकोटलगायत सडकमा हिँड्दा वायु र धुलो–धुवाँजन्य प्रदूषणबाट बच्न माक्स लगाएर हिँड्नपर्छ। प्रधानमन्त्रीले वास्तविकताभन्दा टाढा गएर भाषण गरेको भन्दै सर्वसाधारण एकै स्वरमा भन्छन, ‘माक्सबिना त सडकमा हिँड्नै सकिँदैन।’

प्रकाशित मिति: : 2019-07-03 14:18:37

प्रतिकृया दिनुहोस्