भारतबाट तरकारी बोकेर आएका ट्रक नाकामा अलपत्र, विषादी जाँच्न कर्मचारी अभाव

उज्यालो सहकर्मी

काठमाण्डौ – भारतबाट तरकारी र फलफूल बोकेर नेपाल आउँदै गरेका एक सयभन्दा धेरै ट्रक नाकामा रोकिएका छन् । विषादी परीक्षण नगरेका तरकारी र फलफूल आयातमा रोक लगाउने सरकारले निर्णय गरेपछि ट्रक नेपाल भित्रिन नपाएका हुन् । भैरहवा, काँकडभिट्टा, वीरगञ्ज, कैलाली र विराटनगर नाकामा आइपुगेका ट्रक विषादी परीक्षण नभएपछि नेपाल भित्रिन नसकेका व्यापारीले बताएका छन् ।

फलफूल र तरकारी बोकेर आएका गाडीको भन्सार पास भैसके पनि विषादी परीक्षण नभएकाले नाकामै रोकिएका हुन् । सरकारले पूर्वतयारीविनै विषादी परीक्षण गरेर मात्र तरकारी आयात गर्ने निर्णय गर्दा आफूहरु मर्कामा परेको व्यवसायीले गुनासो गरेका छन् । गर्मीको बेला धेरै दिनसम्म तरकारी र फलफूल ट्रकमै खाँदिएपछि आधाभन्दा बढी कुहिएको उनीहरुको भनाइ छ । 

विषादी परीक्षणमा ढिलाई हुँदा केही तरकारी र फलफूल भारततिरै फर्काइएको छ । धेरै चाहिँ अझै नाकामै राखिएको छ ।

प्रकाशित मिति: : 2019-06-28 15:55:11

प्रतिकृया दिनुहोस्