निर्वाचन विशेष

जनताले मलाई साथ दिए नुवाकाेट समृद्ध बन्न समय लाग्दैन : बद्री मैनाली (अन्तर्वार्ता)

नुवाकोट क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार हुन्, बद्री मैनाली। पूर्व सांसद एवम् प्रदेश कृषि राज्यमन्त्री समेत रहेका एमाले नेता मैनाली आगामी मंसिर ४ मा हुने निर्वाचनमा उम्मेदवार बनेर चुनावी मैदानमा छन्।

व्यावसायिक पृष्ठभूमिबाट युवा अवस्थादेखि नै राजनीतिमा प्रवेश गरेका मैनालीले वि.सं.२०७४ मा नुवाकोट क्षेत्र १ प्रदेश (ख) बाट चुनाव जितेका थिए। मैनालीले २० हजार ५ सय ९ मत ल्याएर प्रदेश सभामा विजयी हुँदा कांग्रेसका रमेशकुमार महतले १२ हजार २ सय १७ मत ल्याएका थिए।

मैनाली पहिलो पटक प्रतिनिधि सभा सदस्य लागि उम्मेदवार बनेका हुन्। सोही निर्वाचन क्षेत्रमा पाचँ दलीय गठबन्धनका तर्फबाट २०६४ सालको संविधान सभाको चुनाव, ०७० को दोस्रो संविधान सभाको चुनाव र २०७४ को संघीय चुनावको अनुभव गरिसकेका हितबहादुर तामाङ चौथोपटक चुनावी मैदानमा छन्।

२०७४ सालको निर्वाचनमा एमालेको मतसहित वाम गठबन्धनको मत पाएर जितेका तामाङलाई यो पटक पाँच दलीय गठबन्धनबाट कांग्रेसको साथ छ। तर, पाँच दलीय गठबन्धनका बाबजुद नेकपा (एमाले) यस पटकको आम निर्वाचनमा विजयी हुने विश्वस्त छ।

उनै एमाले नेता तथा पूर्व प्रदेश सांसद बद्री मैनालीसँग बिएल नेपाली सेवाको लगाी मन्दिरा अधिकारीले गरेको कुराकानी प्रस्तुत छ: 


प्रतिनिधि सभा सदस्यका लागि तपाईंको उम्मेदवारी किन ?

हामी अहिले दलीय प्रणालीमा छौँ। निर्वाचनको मिति तोकिएसँगै निर्वाचन आयोगले सबै दलहरुलाई आफ्नाे उम्मेदवारको नाम दर्ता गराउन आग्रह गर्छ। यो एउटा प्रक्रिया हो। दलीय व्यवस्थामा संसदीय प्रणालीलाई अघि बढाउनका लागि निर्वाचन हुन्छ। त्यसैमा मैले पनि उम्मेदवार दिएको छु।

तपाईंहरुलाई अवगत नै छ, मैले प्रदेश सभा सदस्य तथा कृषि राज्यमन्त्री हुँदा धेरै काम गरेको छु। मैले नुवाकोटको लागि गनुपर्ने कामहरु पनि गरेको छु। विकास निर्माणका कार्यमा सिमित स्राेत साधन हुँदा पहल गरेर अर्बैका योजनाहरु ल्याएर विकास निर्माणका कामहरु गरेँ। मैले जति पनि कामहरु नुवाकोटको जनताका लागि गरेको छु, मलाई लाग्छ सबै पूरा भएका छैनन्। ती बाँकी कामहरु पूरा गर्न, त्यहाँका पूर्वाधारको क्षेत्रमा कृषि, शिक्षा, खानेपानी, पर्यटन, जलस्रोत, सिचाइ आदि सबै क्षेत्रका आवश्यकतालाई पहिचान गरी समृद्ध नुवाकोट बनाउन या त्यसको नेतृत्व गर्न। संमग्रमा भन्नुपर्दा पछाडि परेको नुवाकोटको विकास गर्न, नुवाकोटको जनताको अनुहारमा हाँसो ल्याउन मेरो उम्मेदवारी रहेको छ।

तपाईंका चुनावी एजेण्डा के–के हुन् ?

चुनाव जित्नका लागि हाम्रो केन्द्रिय घोषणा पत्र रहेको छ। जसको आफ्नै नीति कार्यक्रमहरु रहेका छन्। एमाले सरकारमा रहँदा गरेका राष्ट्रिय गौरवका आयोजना, अन्तर्राष्ट्रिय मुद्दाहरुमा स्पष्ट विचारहरु रहेका छन्। यस्तै नुवाकोटमा मेरो एजेण्डा भनेको पासाङ ल्हामु सडकको विकास गर्नु हो। ७ वर्षदेखि अलपत्र अवस्थामा रहेको उक्त सडक खण्डलाई स्तरोउन्नती गर्नु मेरो एजेण्डाभित्र रहेको छ। नुवाकोट जिल्लाले पनि आफ्नाे पार्टीको तर्फबाट कार्ययोजना बनाएर घोषण पत्र तयार गर्छ। हामी पनि त्यसैमा प्रतिवद्ध भएर अगाडि बढ्ने छौँ।

तपाईंको क्षेत्रको आवश्यक्ता के हो ?

नुवाकोटमा धेरै आवश्यक्ता छ। बालाजुदेखि रानीपैवा–पैतीसकिलो सडक खण्डको पासाङ ल्हामु राजमार्ग अत्यन्तै जीर्ण अवस्थामा छ। हिजो उक्त रोडको ठेकदार अमुख नेताको संरक्षण ठेक्का लगाइसकेको काम सम्पन्न नभएर त्यहाँका जनताले ७ वर्षदेखि समस्या भोग्नु परेकाे छ।

त्यस बाटोलाई हाम्रो कार्यकालमा कालमा पत्रे गरेर सम्पन्न गर्ने छौँ। अर्को समस्या भनेको काठमाडौँ क्षेत्रको फोहोरको वैज्ञानिक ढङ्गले व्यवस्थापन हुन सकेको छैन, त्यहाँका जनताहरुले वर्षैदेखि थिचोमिचोमा परिरहनु परेको छ, मान्छे र फोहोर एकै ठाउँमा बस्नु हुँदैन भन्ने सिद्धन्तलाई प्रतिपादन गरेर नीति निर्माण गरी फोहोरलाई वैज्ञानिक ढङगले व्यवस्थापन गर्नुपर्ने आवश्यक्ता रहेका छन।

नुवाकाेटकाे विकासकाे लागि तपाईंसँग के–के याेजना छन् ?

सर्वप्रथम नुवाकोट विकास गर्नु नै मेरो प्रमुख काम हो। त्यसमा पनि पासाङ ल्हामु सडक खण्डको विस्तार तथा उन्नतिको लागि कार्य अघि बढाउने, काठमाडौंबाट फोहोर विर्सजन गर्दै आएको फाहोरलाई वैज्ञानिक ढङ्गले व्यवस्थापन गरी त्यहाँका जनताहरुलाई उनीहरुको जग्गाको मुआब्जा प्रदान गर्ने, त्यस ठाउँको जनताको शिक्षा तथा स्वास्थ्य क्षेत्रमा स्तरउन्नती गर्ने छौँ।

राणनीतिका हिसाबले नुवाकोटका लागि आवश्यक पर्ने भित्री सडकाको पहिचान गरी त्यस अनुरुपका कार्य अघि बढाउने छौँ। अघिल्लो नेतृत्वले गरेर निर्माणबाट टोखा छहरे सुरुङ मार्गका शीर्षकहरु काटिएका छन्। नुवाकोट र देशको भविष्य बोकेको सडकको शीर्षक छुटाएर काम अघि बढाउने छौँ। कृषि क्षेत्रमा नितिगत रुपमा कानुन बनाएर नगदे बाली, खाद्यन्न बाली वा दैनिक उपभोग्य सामानको विस्तारमा जोड दिने छौँ। स्थानीय उत्पादनलाई प्रथामिकतामा राखेर कार्य योजना बनाउने छौँ।

युवाको लागि उनीहरुको क्षमताअनुसार रोजगारीको लागि पहल गर्ने छौँ। यसका साथै सामाजिक भत्ता अन्तर्गत ४ हजारको भत्ता ७ हजार बनाउने छौँ। नुवाकोटको विकासका लागि धार्मिक क्षेत्र, शिक्षा क्षेत्र, स्वास्थ्य क्षेत्र आदिका संमग्रमा क्षेत्रमा कार्य गर्ने योजना रहेको छ।

तपाईंका योजनाले निरन्तरता पाउँछन भनेर कसरी विश्वास गर्ने ?

एमाले एउटा इतिहास बोकेको पार्टी हो। जब–जब सरकारमा एमाले जान्छ चाहे त्यो मनमोहनको पालमा होस् वा केपी शर्मा ओलीको पालमा होस्। हामीले काम गरेका छौँ। हामीले बोलेको मात्र होइन।

तपाईंंहरुलाई अवगत नै छ, म प्रदेश सांसद रहँदा नुवाकोटको ऐतिहासिक दरबारदेखि चोगते, मालाकोट सडक खण्डलाई आयोजना पारेर काम सुरु भइसकेको छ। अर्कोतिर गुर्जेभञ्जाङ, नालाभञ्जाङ दुप्चेश्वरसम्म जाने सडक खण्ड हाम्रौँ नेतृत्वमा भएको छ। त्रिशुली–टोखा जोड्ने सडक खण्ड हाम्राैँ समयमा बजेट विनियोजन भएर काम आधा भइसकेको छ। त्यसकारण विगतमा एमाले पार्टी र हामीले गरेका कार्यहरुको आधारमा हाम्रो योजनाले निरन्तरता पाउने छन।

अन्त्यमा मतदातालाई के भन्न चहानुहुन्छ ?

मेरा आदरणीय, पूजनीय, सम्मानित मतदाता देवताको रुपमा हुनुहुन्छ। अहिलेको समय एकाइसौँ शताब्दीको हो। हामी भन्दा तपाईंहरुलाई धेरै ज्ञान छ। नुवाकोटको जनताको लागि मैले मेरो तर्फबाट गर्ने सक्ने काम गरेको छु र गर्ने पनि छु।

हिजोको दिनमा पनि तपाईंहरुकै मायाले यस स्थानसम्म आइपुगेको हो, जसका कारण मैले सकेसम्म नीति निर्माण गर्ने भुमिका खेलेँ। नुवाकोटमा विभिन्न शीर्षकमा बजेट ल्याएर विकास निर्माणका कार्यहरु गरेँ। आगमी दिनमा पनि हजुरको यस्तै साथ रहिरहनेछ भन्ने आश गरेको छु। हजुरहरुले मौका दिनुभएमा नुवाकोटको विकासको लागि हर प्रयास गर्ने छु।

प्रकाशित मिति: : 2022-10-19 22:00:00

प्रतिकृया दिनुहोस्