हायात होटल बन्द गरेर नेपाल छाड्ने सर्राफको तयारी

तस्बिरः एजेन्सी

काठमाडौं, असार २ :  प्रत्येक वर्ष घाटामै रहेको देखाउँदै आएका हायात होटलका निजी क्षेत्रतर्फका सञ्चालक राधेश्याम सर्राफ होटल बन्द गरेर नेपाल छोड्ने तयारीमा रहेको तथ्य खुलेको छ।

हायात होटलमा सरकारी सेयर गायव भएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविनलाई तीव्रता दिएसँगै सञ्चालक सर्राफ होटल बन्द गर्ने तयारीमा लागेका हुन्। मजदुर आन्दोलनकै कारण हायात होटल पाँच दिन यता बन्द  छ।

तारा गाउँको सरकारी सेयर र जनताको पैसा समेत हायात होटलमा लगानी भएकाले तत्काल बन्द गर्ने कानूनी बाटो भने सहज छैन। तर, चलिरहेको मजदुर आन्दोलनको कारण देखाउँदै कतै होटल नै बन्द हुने त होइन भन्ने आशंका उब्जिएको छ।

आन्दोलनरत मजदुरका खासै ठूला माग नभएपनि होटल व्यवस्थापन समस्या लम्बाउने र बन्द गर्ने मनस्थितिमा पुगेको होटलका एक वरिष्ठ निर्देशकले काठमाडौंप्रेसलाई जानकारी दिए।

कर्मचारीको तलव वृद्धि, न्यूनतम पारिश्रमिक, सामाजिक सुरक्षा कोष तथा भारतीय उच्च तहका कर्मचारीको कामदारमाथिको ज्यादती अन्त्य हुनुपर्ने माग राख्दै मजदुरहरु आन्दोलनमा उत्रिएको आधिकारिक ट्रेड युनियनका अध्यक्ष मुक्ति  दाहालले जानकारी दिए।  

हायात होटल व्यवस्थापनले अधिकांश पर्यटकलाई दरबारमार्गमा रहेको होटल याक एन्ड यतिमा सारेको छ। कूल चार सय जनशक्ति रहेको हायातमा ट्रेड युनियनमा आवद्ध सबै कामदार काम छाडेर माग पूरा गराउन व्यवस्थापनलाई दबाब दिँदै आएका छन्। तीन सय २० जना मजदुर ट्रेड युनियनमा आवद्ध छन्।  ‘हामीले व्यवस्थापन तहका कर्मचारीलाई काम गर्न अवरुद्ध गरेक छैनौं,’ दाहालले भने।

वार्षिक ९ प्रतिशत तलव वृद्धि हुनुपर्नेमा व्यवस्थापनले ५ प्रतिशतमा झारेको तथा भारतीय उच्च तहका कर्मचारीको ज्यादतीले सीमा नाघेपछि आन्दोलन गर्न बाध्य भएको दाहालले बताए।

अख्तियारको त्रासमा सर्राफ

सरकारी सेयर किन र कसरी घट्यो भन्ने विषयमा विगतमा केही छानविन समेत भएका थिए। सोही छानविन प्रतिवेदनलाई टेकेर अख्तियारले छानविनलाई तीव्रता दिइरहेको छ।   

विगतमा पनि मजदुर आन्दोलनकै बहानामा पोखराको पाँचतारे फुलवारी होटल बन्द भएपछि तीन वर्ष यता खुल्न सकेको छैन। ‘फुलवारी होटल जस्तै गरी सर्राफले हायात होटल बन्द गर्ने तयारी गरेका छन्,’ ती निर्देशकले भने।   

दरबारमार्गको पाँच तारे होटल याक एण्ड यति पनि भारतीय नागरिक सर्राफकै स्वामित्वमा छ। ‘सर्राफले होटल याक एण्ड यति पनि विक्री गर्ने योजना बनाएर लगानीकर्ता खोजी रहेका छन्,’ ती निर्देशकले भने।

‘हायात होटलको विवादले आफू फस्ने बुझेका सर्राफ छिटोभन्दा छिटो नेपाल छोड्न खोज्दैछन्,’ ती निर्देशकले भने। हायात होटल सञ्चालक समितिमा सरकारी प्रतिनिधिकै मिलेमतोमा विगतदेखि नै सरकारी सम्पत्ति दोहन भएको आशंकामा अख्तियारले छानविन केही महिनादेखि गरिरहेको छ।

अख्तियारले होटलसँग  सम्बन्धित सबै कागजपत्र नियन्त्रणमा लिएर छाविनलाई तीव्रता दिएको छ। सर्राफसँग अख्तियारले छानविनकै क्रममा पटक–पटक बयान पनि लिइसकेको छ।

प्रकाशित मिति: : 2019-06-18 08:54:54

प्रतिकृया दिनुहोस्