कविता

सडक

पुरानो सडकको कुनामा बुढो बाजे
अनेकन समयको कागजमा मग्न छन्
सवार यात्रुहरूको  सपनाहरू भन्न
हरेक सपनाहरूको  ठेकेदार  जत्तिकै
पुराना बाजे एउटै समय गन्दै गन्दै
नयाँ आयामका भविष्य भनिरहेछन्।

सडकको किनारामा हजारौं सपनाहरू
यता उता  हतार-हतार दौडिँइरहेछन
कतै सपनाहरू मिलेका जस्ता देखिन्छन
कतै सपनाहरू भिन्न जस्ता देखिन्छन
दौडमा छ सपनाहरूको सडकमा असरल्ल
फगत सडक सपनाहरू छनौट हेरिरहेछ।

सडकको किनारामा समयको बजार मस्त
आफैंलाई गिज्याउने गरी पुस्ताको किनबेच
सडक आफैंलाई लाज लाग्ने गरी भइरहेछ
अनेकन  मनहरूको लिलामी चढेको छ
लालायित छन् मनहरू सपनाको व्यापारमा
सडकभरि आशाहरू आफैंमा जिल्ल छन्।

सडक आजकल अभ्यस्त छ यात्राका सपनामा
बस केवल समयको बेगमा मन अनि सपनाहरू
आफूभित्र उमार्छ मार्छ अनि समय गनिरहन्छ
लमतन्न सडक समयको  कृयामा अभ्यस्त छ
वर्षौ भयो सडकमा सपनाहरूको खरिद बिक्री
क्रेता बिक्रेताको भागदौडमा सडक मौन छ।

प्रकाशित मिति: : 2022-07-30 08:20:00

प्रतिकृया दिनुहोस्