पुराना अभिनेता हुन् कृष्ण मल्ल । पछिल्लो समय उनी अभिनयमा त्यति सक्रिय छैनन् । तर कलाकारिताभन्दा बाहिर भने उनी होइनन् । अहिले कलाकारिताकै विभिन्न विधामा क्रियाशील रहँदै आएका छन् ।
पछिल्लो समय टीभीसी निर्माणमा व्यस्त उनको अभियान भन्ने सामाजिक संस्था पनि छ । यो संस्थाबाट उनी बालबालिका र वातावरणसम्बन्धी सामाजिक काम गर्दै आइरहेका छन् ।
उनको अर्काे संस्था नेपाल फिल्म सोसाइटी पनि छ । यसबाट भने उनी कलाकारितासम्बन्धी विभिन्न गतिविधि गर्दै आएका छन् ।
रङ्गमञ्च, फिल्म, टेलिचलचित्र, विज्ञान चलचित्र लगायत कलाकारिताका थुप्रै विधामा करिब ४ दशकदेखि क्रियाशील मल्लसँग रातोपाटीको मेरो जीवन स्तम्भका लागि गरिएको कुराकानी ।
मेरो खाना
मनपर्ने खाना नेपाली दाल, भात र तरकारी नै हो । जहाँ गए पनि नेपाली खाना खान पाइयो भने राम्रो लाग्छ । झोल हालेको तरकारी, काउली, लसुन, मुला, भिन्डी एकदमै मिठो लाग्छ । खाजामा मनपर्ने मम र चाउमिन हो । मन नपर्ने त्यस्तो केही छैन ।
धेरै अगाडि बनाएर राखेको अचार खान्न । मलाई चिया पकाउन आउँछ । त्योबाहेक अन्य परिकार बनाउन आउँदैन । एक पटक चाम्रे पकाउने प्रयास गरेको थिएँ, जानिनँ । रेस्टुरेन्ट कम जाने मध्येमा म पनि पर्छु । कहिलेकाहीँ साथीभाइ र फेमेलीसँग रेस्टुरेन्ट जाने गरको छु ।
मेरो पोसाक
क्याजुअल पोसाक प्रयोग गर्छु । जिन्स पाइन्ट र टिसर्ट सजिलो र हल्का लाग्छ । फर्मल हुन मलाई आउँदैन । निलो र कालो रङको पहिरन मनपर्छ । मेरो पोसाक धेरैजसो श्रीमतीले नै किनिदिन्छिन् । कहिलेकाहीँ आफै किन्छु । पोसाकका लागि वर्षमा २५ हजार जति खर्च होला ।