बंगलमुखी ढुङ्गेधारामा उनी सबेरै पानी थाप्न पुग्छिन्। बिहानको पाँचै बजे पानी लिन ढुङ्गेधारा पुग्ने उनी भन्छिन्, ‘बिहानै पानी लिन गइनँ भने त मान्छेको भीड बाक्लो हुन्छ, पानी थाप्ने पालै पाइँदैन नि।’
पाटनकी निरुता भुजेल १५ वर्षकी भइन्। उनी घरायसी मात्र होइन, भाइलाई स्याहार्ने काममा समेत पनि पोख्त छिन्। पाँच वर्षकै उमेरमा पिता गुमाएपछि उनकी आमाले ज्यामी काम गर्न थालिन्। त्यसपछि घरकाे सारा जिम्मेवारी निरुताकै थाप्लोमा पर्यो।
९ कक्षामा अध्ययन गर्ने उनी सानै उमेरदेखि घरको काम गर्न सिपालु भइन्। त्यसैले त उनी हिजोआज पानी ल्याउन सबेरै घरभन्दा अगाडिकाे धारा पुग्छिन्।
‘स्कुल जानुअघि बिहानै उठेर ढुङ्गेधाराबाट पानी ल्याउँछु’, बिएल नेपाली सेवासँग उनले भनिन्, ‘त्यसपछि ४ बजे स्कुलबाट फर्किएपछि साँझ पानी लिन यहीँ आइपुग्छु।’
काठमाडौं उपत्यका खानेपानी लिमिटेडले मंसिर २३ गतेदेखि मेलम्चीको पानी बाँड्यो। तर उनको टोलमा साता दिनअघि मात्र मेलम्ची खानेपानी आयो।
आफ्नै घरको धारामा मेलम्चीको पानी आएपनि उनले एकपटक पनि पानी पिउन पाएकी छैनन्। कारण हो, मेलम्चीको पानी साताको एक दिन मात्र आउनु।
‘मेलम्चीको पानी हप्ताको एक दिन आउँछ, त्यही पनि घरका सबैले पानी थाप्दा आफ्नाे पालै आउँदैन। त्यसैले पानीको आवश्यकता पूरा गर्न म यही ढुङ्गेधारामा आउने गर्छु’, हाँस्दै उनी भन्छिन्, ‘सायद ढुङ्गेधाराकाे पानी खाने बानीले हाेला मेलम्चीकाे त्यति चासाे लाग्दैन।’
पाटनकी सिता सिग्देल च्यासल ढुङ्गेधारामा पानी लिन आउँछिन्। उनको दैनिकी नै हो, बिहान र बेलुका ढुङ्गेधाराको पानी थाप्नु। उनले पाँच वर्षदेखि ढुङ्गेधाराको भरमा पानीकाे जिवीका चलाउँदै आइरहेकी छन्।
घरको धारामा पानी नआएपछि ढुङ्गेधारा ध्याउन थालेको उनी बताउँछिन्। ‘घरमा धारा मात्र भएर हुँदैन, पानी आउनु जरुरी छ’, उनले भनिन्, ‘मेलम्चीको पानी आउँछ भन्ने पनि कथा मात्र हो जस्तै छ।’
आफ्नो छिमेकमा मेलम्चीको पानी आएपनि अहिलेसम्म आफू बसेको ठाउँमा पानी नआएको उनको गुनासो छ। ‘छरछिमेकमा मेलम्ची आयो रे! तर हाम्रोतिर खोई कहिले पो आउने हो मेलम्चीकाे पानी?’, ढुङ्गेधारा देखाउँदै उनले भनिन्, ‘मेलम्चीको पानी नआएर दुख छ तर धन्न यो धाराको भर छ।’
पाटन–७ का ७० वर्षीय मिठु दाहाल च्यासल ढुङ्गेधाराको पानी पिएर हुर्किए। उबेला घरको धारामा पानी नआएपछि ढुङ्गेधाराको पानी पिउन बाध्य भएको उनी सुनाउँछन्।
‘पाटनतिर पानीको अभाव भएकोले यहाँका स्थानीयवासीहरुले ढुङ्गेधाराको पानी पिउन थाले’, उनले भने, ‘यो धारासँग मेरो पुरानो नाता छ।’
ढुङ्गेधाराको पानीसँग खेलेर हुर्किएका उनी अहिले पनि धारामै रमाउँछन्। त्यसैले त उनी घरकै धारामा मेलम्चीको पानी बग्दा पनि उनी त्यही धारामा पुग्ने गर्छन्।
‘मेलम्चीको पानी पाएर त खुसी छु तर पिउन मन लाग्दैन, किनकी मलाई ढुङ्गेधाराको पानी नै मनपर्छ’, उनी भन्छन्, ‘सानैदेखि यहाँको पानी पिएर होला मलाई ढुङ्गेधाराकै पानी मिठो लाग्छ।’ मेलम्चीको पानी आफ्नै धारामा बगे पनि आफ्नो प्यास भने ढुङ्गेधाराकै पानीले मेट्ने गरेकाे उनी बताउँछन्।
नयाँ बानेश्वरकी शानुमाया थापा हालसम्म पनि पानीको दुख भएको सुनाउँछिन्। महिना दिनअघि मेलम्चीको पानी घरको धारामा आएपनि पानीको हाहाकार नहटेको उनी बताउँछिन्।
मेलम्चीको पानी साताको दुई दिन आउने गरेको बताउँदै उनी सुनाउँछिन्, ‘मेलम्चीको पानी साताको दुई दिन आउँछ, त्यही पनि तीन घण्टाको लागि। त्यसरी त कहाँ पुग्छ र पानीले?’
मेलम्चीको पानी आउनुअघि हप्ता दिनको लागि १०–१५ हजारको पानी किन्ने गरेको उनले सुनाइन्। तर साताको दुई पटक मात्र पानी पाएपनि पाँच हजारसम्मको पानी किनेरै पिउनु पर्ने बाध्यता भएकाे उनले बताइन्।
‘मेलम्चीको पानी आएपनि राम्रोसँग पुगेको छैन, पानी किनेरै चलाइरहनु परेको छ’, उनी भन्छिन्, ‘मेलम्चीको पानी दिएर महंगो शुल्क लिइरहेको छ।’
मेलम्चीको पानी पाउनुअघि उनी पानीकाे मासिक शुल्क २५० रुपैयाँ बुझाउँथिन् तर अहिले महिनाकै पाँच सय रुपैयाँ तिर्ने गरेकाे उनी सुनाउँछिन्।
‘घरबेटीले मेलम्चीको पानी दिएको छौँ भन्दै पानीको शुल्क बढायो’, उनले भनिन्, ‘मेलम्ची आएपनि पानीले पुगेकाे छैन। तर शुल्क चाहिँ बढेकाे छ।’