पूर्व प्रधानमान्त्री भट्टराईको हिन्दु धर्मप्रतिको अभिव्यक्ति आपत्तिजनक- कमल थापा

तस्बिरः बिएल

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले दलितहरुको एक कार्यक्रममा हिन्दु धर्मको विषयमा दिएको अभिव्यक्ति आपत्तिजनक भएको बताएका छन्।

थापाले पूर्व प्रधानमन्त्री जस्तो जिम्मेवार ब्यक्तिले भड्काउ अभिव्यक्ति दिनु र धर्म परिवर्तनमा उक्साउनु संविधानको मर्म र भावना बिपरित भएको दाबी गरेका छन्।

हिन्दु धर्मले जन्मको आधरमा कहि कतै छुवाछूतको कुरा उल्लेख नगरेको बताउदै धार्मिक ग्रन्थ राम्ररी अध्यक्ष गर्न सुझावसमेत दिएका छन्। 'भट्टराईजी मसँगै अध्ययन गरेको मित्र हुनुहुन्छ, हिन्दु धार्मिक ग्रन्थले कही कतै जन्मको आधारमा छुवाछूत र विभेद गर्ने कुरा गरेको छैन', थापाले भने, 'जातीय द्वन्द्व हुने तर्क गर्दै हिड्नु जिम्मेवार ब्यक्तिको लागि अशोभनीय हुन्छ।'

हेटौंडामा सोमबार आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै थापाले मुलुक ठूला दल, ठूला कर्मचारी र ठूला ब्यवसायीको सेटिङमा मनपरी ढंगले सञ्चालन भएको आरोप लगाए।

'मुलुकमा मनपरी छ, जसले जे गरेनी हुने अवस्था आयो, कोहि कसैसँग डराउनु नपर्ने भयो', थापाले भने, 'ब्रम्हलुट विरुद्ध जनता जाग्नुपर्ने बेला आएको छ।'

उनले बाईडबडी, ३३ क्विन्टल सुन, बालुवाटार जग्गा, एनसेल कर, मेलम्ची, बुढिगण्डकी प्रकरण ब्रम्हलुटको नमूना भएको दृष्टान्त दिए।

कम्युनिस्ट र काङ्ग्रेस असफल भएको भन्दै थापाले राप्रपालाई बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति बनाउन सबैले सहयोग गर्नुपर्ने आवश्यकता औल्याए। 'भ्रष्टाचार, बेरोजगारी र धर्मपरिवर्तन जस्ता समस्याहरु समाधान गर्न नेकपा असफल भयो, नेपाली कंग्रेस निरिह बन्यो। यी समस्याहरु समाधान गरि सबल र सम्बृद्ध नेपाल बनाउन सक्ने बलियो विकल्प देशले खोजेको छ', उनले भने, 'वैचारिक, संगठनात्मक र नेतृत्वको आधारमा त्यो विकल्प बन्न सक्ने क्षमता राप्रपामा मात्र छ।'

कार्यक्रममा राप्रपाका सह-महामन्त्री भक्ति सिटौला, सहायक महामन्त्री राजाराम बर्तौला, जिल्ला अध्यक्ष मधु अधिकारी , शिबराम थापा नगर अध्यक्ष गुरु सापकोटा, बालकुमारी डल्लाकोटी , खिल प्रसाद चौलागाईं लगायतले बोलेका थिए।

प्रशिक्षणमा जिल्लाका १ सय १५ प्रशिक्षार्थीको सहभागीता छ। राप्रपा पछिल्लो समय देशब्यापी प्रशिक्षणको अभियानमा छ।

प्रकाशित मिति: : 2019-09-09 18:57:55

प्रतिकृया दिनुहोस्