सगरमाथा चढ्न दिने कि रोक्ने ? अध्ययन गर्दै सरकार

विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहणको विषयलाई लिएर यसपालि विश्वव्यापी रुपमा विवाद उत्पन्न भएपछि सरकारले आगामी दिनमा सगरमाथा चढ्न दिने कि रोक्ने भन्ने विषयमा अध्ययन समिति बनाउने तयारी गरेको छ । आगामी दिनमा के गर्न सकिन्छ भनेर सो बारेमा अध्ययन समिति बनाउने तयारी सरकारले गरेको हो ।

सगरमाथालाई केही समय विश्राम दिनुपर्ने आवाज उठेको र अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा सगरमाथाका विषयमा अनेकथरी टिप्पणी सार्वजनिक भएपछि सरकारले अध्ययन थाल्न लागेको हो । 

नेपाल पर्यटन विभागका महानिर्देशक डन्डुराज घिमिरेले आइतबार बाह्रखरीलाई जानकारी गराएअनुसार सो सम्बन्धी अध्ययनका लागि समिति बनाउन आग्रह गर्दै विभागले अहिले प्रस्ताव संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पठाएको छ ।

‘‘हामीले गएको बिहीबार प्रस्ताव पठाएका हौं । अब स्वीकृत होला, ’’ घिमिरेले भने,‘‘अध्ययन गरेपछि आरोहणको नीति नियम बदल्नुपर्ने हो भने सोहीअनुसार गरिनेछ ।’’

उनले यसपालि पनि खासै समस्या नभएपनि मौसमका कारण केही समस्या उत्पन्न भएको जनाउँदै धेरै स्वीकृति दिएर समस्या भएको भन्ने कुरा पनि सत्य नभएको बताए । अघिल्लो वर्षको भन्दा यसपालि ९ जना बढी अर्थात् तीन सय ८१ जनालाई अनुमति दिइएको हो, मौसम बिग्रिएका कारण केही समस्या आयो तर हल्ला बढी भएको उनले बताए ।

विभागको पहलमा सगरमाथा सफाइ अन्तर्गत केही दिनअघि ११ टन फोहोर त्यहाँबाट सफाइ गरिएको छ भने ४ वटा शव पनि ल्याइएका छन् । शवको व्यवस्थापनको काम प्रहरीको जिम्मेवारी भएकोले प्रहरीलाई बुझाइएको महानिर्देशक घिमिरेले बताए ।

उनका अनुसार शवको हुलिया उनीहरुको सम्भावित आफन्तलाई दिने र पत्ता नलागेमा प्रहरीले नै अन्त्येस्टी गर्नेछ । जम्मा गरिएका फोहोरमा सगरमाथा आरोहण गरेर फर्किनेले मान्छेका विभिन्न सामान, अक्सिजनका बोतल, च्यातिएका टेन्ट,  डोरीहरु, भाँचिएका भर्‍याङ, प्लास्टिकका सामग्री लगायत रहेका छन् । 

फोहोरका अतिरिक्त करिब तीनसय मानिसको शवसमेत सगरमाथा क्षेत्रमा रहेको बताइन्छ । ती सामाग्री जाडो याममा हिउँले छोपिने गरेपनि गर्मीमा हिउँ पग्लेर बाहिरै देखिने गरेका छन् । २० जना शेर्पाको सफाइ टोलीले गएको अप्रिल र मे महिनामा विभिन्न शिविरबाट ५ टन र  तल्लो तहबाट करिब ६ टन फोहोर जम्मा गरेको हो । 

प्रकाशित मिति: : 2019-06-09 10:07:42

प्रतिकृया दिनुहोस्