चिनका विदेशमन्त्री वाङ काठमाडौंमा, भोलि महत्वपूर्ण भेटवार्ता

चीनका विदेशमन्त्री वाङ यी।

चीनका विदेशमन्त्री वाङ यी तीन दिने औपचारिक भ्रमणका लागि आइतबार साँझ काठमाडौं आइपुगेका छन् । वाङलाई विमानस्थलमा परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीले स्वागत गरेका छन् ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको औपचारिक निमन्त्रणामा १९ सदस्यीय टोलीको नेतृत्व गर्दै वाङ नेपाल आएका हुन्।

चिनियाँ राष्ट्रपति सी जिनफिङको सम्भावित नेपाल भ्रमणको पूर्वतयारीका रुपमा हेरिएको भ्रमणका लागि वाङ पाकिस्तान भ्रमणबाट सोझै काठमाडौं आएका हुन्।

नेपाल भ्रमणको सिलसिलामा चिनियाँ विदेशमन्त्री यीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी ओली र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसहित शीर्ष नेताहरुलाई भेट गर्ने कार्यक्रम रहेको छ ।

सोमबार दिउँसो ३: ३० बजे होटल याक एण्ड यतीमा नेपाल चीन बार्ता हुनेछ । केहि सम्झौता र समझदारी पत्रमा हस्ताक्षर पनि हुने कार्यक्रम छ। सोमबार साँझ ५ बजेदेखि ५: ४५ बजेसम्म विदेशमन्त्रि वाङले प्रधानमन्त्री केपी शर्मा ओलीलाई शिष्टाचार भेट गर्ने कार्यक्रम छ। भेटघाटको कार्यक्रम बालुवाटारमा हुनेछ ।

सोमबार साँझ ६ बजेपछि विदेशमन्त्री वाङको टोली राष्ट्रपति विद्यादेवी भण्डारीसँग शितल निवासमा शिष्टाचार भेटवार्ता गर्नेछ ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले समकक्षी यीको सम्मानमा सोमबार साँझ रात्रिभोजको आयोजना गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

रात्रिभोजमा परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरू, दुवैतर्फका कूटनीतिक नियोगका प्रमुखहरूसहितका अधिकारी सहभागी हुनेछन् ।

भदौं २४ गते, मंगलबार ९:०० बजे वाङको टोलीले नेकपा अध्यक्ष पुष्पकमल दाहाललाई भेट्ने कार्यक्रम तय भएको छ ।

मंगलबार नै विदेशमन्त्री वाङको टोलीले प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउबालाई निवाशमा भेट्ने कार्यक्रम छ । भेटको समय ११:०० बजेको लागि मिलाइएको छ।

यस बाहेक विदेशमन्त्री वाङले केही राजनीतिक विश्लेषक र उद्योगी व्यबसायीसँग होटल सोल्टीमा भेटघाट गर्ने कार्यक्रम रहेको छ।

विदेशमन्त्री वाङको टोली मंगलबार १ बजे चीन फर्कने छ।

प्रकाशित मिति: : 2019-09-08 19:36:27

प्रतिकृया दिनुहोस्