एसिड प्रहार गर्नेलाई कडा कारवाही र पीडितलाई निशुल्क उपचार गराउन सांसदहरूको माग

प्रतिनिधिसभाको आइतबारको बैठकमा सहभागी सांसद । तस्वीरः रोशन सापकोटा

शुक्रबार बिहान वीरगन्जमा १४ वर्षीया बालिका मुस्कान खातुनमाथि एसिड प्रहारको घटनालाई लिएर प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले दोषीमाथि कारवाही र पीडितलाई निःशुल्क उपचारको व्यवस्था गर्न माग गरे।

प्रेम प्रस्ताव अस्वीकार गरेको भन्दै विद्यालय गइरहेकी खातुनमाथि स्थानीय युवाले एसिड प्रहार गरेका थिए। पीडित खातुनको कीर्तिपुरमा उपचार भइरहेको छ।

बिहान घरबाट बाहिर निस्केकी युवती घर फर्कने हुन् कि होइनन् भन्ने सन्त्रास अभिभावकमा बढेको छ भन्दै उनीहरुले सरकारले दोषीलाई कडा कारवाही गर्न नसकेकामा गुनासो गरे।

आर्थिक अवस्था कमजोर भएका कारण खातुनको परिवालाई उपचार गर्न समस्यामा परिरहेको छ। सांसद एकवाल मियाँले बालिका खातुनलाई एसिड प्रहार गर्नेलाई कडा कारवाहीको माग गरे। उनले अपराध नियन्त्रणमा सरकार कमजोर भएको भन्दै गृहमन्त्री रामबहादुर थापाले यस विषयमा सदनमा जवाफ दिनुपर्ने र एसिड बेचबिखन गर्नेलाई समेत कानूनी दायरामा ल्याउन आग्रह गरे। 

सांसद प्रदीप यादवले पनि खातुनको निःशुल्क उपचारको प्रबन्ध गर्न सरकारको ध्यानाकर्षण गराएका थिए। उनले खातुनको उपचारका लागि आफ्नै पारिश्रमिकबाट ५० हजार र प्रदेश नं २ सरकारले पाँच लाख उपलब्ध गराएको जानकारी दिँदै आर्थिक अवस्था कमजोर भएकाले उनलाई थप सहयोगका लागि सङ्घीय सरकारले पनि रकम उपलब्ध गराउनुपर्नेमा जोड दिए।

सांसद यादवले भने, ‘एसिड किराना पसलमा समेत पाइन थाल्यो, एसिड बिक्री गर्नेलाई अनुमतिपत्र लिने व्यवस्था गर्नु आवश्यक देखियो । खरीद गर्नेबाट  पनि नागरिकताको प्रमाणपत्रको प्रतिलिलिप लिएर  मात्रै किन्न पाउने व्यवस्था गर्नु जरुरी देखियो ।’

सांसद शेख चाँदताराले पछिल्ला दिनमा एसिड आक्रमण बढेकाले यस्ता दोषिलाई कडा कानूनी कारवाही गर्न माग गरे। उनले कानूनमै कडा  सजायको व्यवस्था गरी छोरीचेली बचाउन आग्रह गरे।

यो पनि हेर्नुहोस्

एसिड पीडित मुस्कानको अस्पतालबाट सरकारलाई आग्रह–दोषीलाई घण्टाघरमा झुण्ड्याएर मारियोस् (भिडियाे सहित)

प्रकाशित मिति: : 2019-09-08 16:26:32

प्रतिकृया दिनुहोस्