महँगीकाे मार

महँगीले निभ्न लागेका भान्साहरू (भिडियाे)

करिब एक महिनाअघि एक सय रुपैयाँमा पाइने चिनीलाई हाल उपभोक्ताले १५० रुपैयाँसम्म तिरिरहेका छन्। जीराको मूल्य दोब्बरले वृद्धि भएर प्रतिकिलो १२ सय रुपैयाँ पुगेको छ। यतिमात्रै होइन चामल, दाल, गेडागुडी, ग्याँस, अण्डा र तरकारीमा पनि उसैगरी मूल्यवुद्धि भएको छ।

दिनप्रतिदिन बढ्दै गएको मूल्यवृद्धिले सर्वसाधारणलाई जीवन धान्नै मुस्किल भइसकेको छ।

खाद्यन्नदेखि हरेक सरसामानमा दिनानुदिन लगातार भइरहेको मूल्यवृद्धिले ‘श्रमिक’ वर्गहरू झन् बढी मारमा परेका छन्।

मूल्यवृद्धि हुनु नौलो कुरा होइन। तर, स–साना कुरामा समेत भएको अचाक्ली मूल्यवृद्धिले भने नागरिकलाई आफ्नो दैनिकी कसरी चलाउने भन्ने चिन्ताले पिरोलेको छ।

विगत दश वर्षअघिसम्म दोलखाका प्रेम श्रेष्ठ आफैँ खेती किसानी गर्थे। तर, ज्वरोले थलिएर उठेपछि उनले खेती गर्न सकेनन्। त्यसैले उनले भएको चार रोपनी खेतीमध्ये दुई रोपनी अधियाँमा कमाउन दिए र बाँकी सबै जमिन बेचिदिए।

बुढेसकालमा सुखीसँग बस्ने रहर बोकेर प्रेमले जग्गा बेचेको पैसाले नयाँ घर बनाए र कमाउन दिएको खेतीबाट भात खाने सोच बनाए।

तर, प्रेमको सोच उल्टो भयो। जग्गा कमाउनेवालाले उनको खेत जोत्नै छाडिदियो। प्रेम एक्लै परे।

‘के गर्नु जे भएपनि बाँच्नु त पर्ने रहेछ नि, उसले खेती गर्न छाड्यो भन्दै मेरो परिवार भोकै मार्नु त भएन नि।’ उनले भने,‘ त्यही भएर तीन वर्षदेखि गाउँबाट आएर भारी बोक्न थालेँ।’

उनी सबेरै उठ्छन् अनि डोरी र नाम्लो लिएर बोकिलग्ने सरसामानका भारी खोज्न महाबौद्ध पुगिहाल्छन्।

कहिलेकाहीँ उनी दिनभर भारी बोक्नमै व्यस्त हुन्छन् भने कहिले रित्तै घर फकिन्छन्। रितै फर्कोको दिन उनी भोकै सुत्छन्। र, अर्को बिहानीको प्रतीक्षा गर्छन्।

‘दिनभर काम भएमात्रै बेलुका खाना खान मन लाग्छ। भारी नपाएको दिन मन नै खल्लो हुन्छ, त्यहीँ भएर भोकै सुत्छु’ उनले भने, ‘काम नै यही हो दिनभर कमाएर बेलुका खाने।’

उनी मात्रै होइन महाबौद्धमा उनीजस्तै थुपै प्रेमहरु छन्। जो भारी बोकेको दिन खाना खान्छन् र भारी नभएको दिन भोकै सुत्छन्।

दिनप्रतिदिन बढ्दै गएको महँगीले प्रेमले भान्छामा आगो बल्न छाडेको छ। पाँच वर्ष पहिले र अहिले भान्छमा प्रेमले थुप्रै कुराको कटौती गरेका छन्।

चामल सकिएपछि बोरा चामल ल्याउने प्रेम आजकाल किलोमा झरेका छन्।

‘पहिला चामल सकिएपछि सधैँ बोरा ल्याएर राख्थेँ, अहिले त चामल पनि महँगी भएको भएर ल्याउने गरेको छैन। सबैभन्दा सस्तो चामल पनि दुई हजार भन्छ’ उनले भने,‘के गर्नु मसँग त्यति धेरै पैसा हुँदैन। फेरि भातमात्रै खाएर भएन तरकारी खानै पर्‍यो। उता तरकारीको भाउ पनि उस्तै छ।’

यसैगरी भक्तपुरका पुन्यराम वनमालाको महँगीले दैनिकी नै फेरिएको छ। तीन वर्षअघिसम्म उनी एक प्राइभेट कम्पनीमा काम गर्थे। तर, कोरोनाले उनको जागिर खाइदियो।

केही समय त जागिरको पैसाले घर धाने। तर, केही इलम नभएपछि जम्मा गरेको पैसाले पनि कति समय पुगोस्! 
‘लकडाउन’भरि पनि उनले जम्मा गरेको पैसाले धानेन्।

त्यसपछि पुन्यले बाटोबाटोमा मास्क, पानी तथा स–साना सामान बेच्न थाले।

पुन्य चाडवाडको मुखमा आएर अचाकली मूल्यवृद्धि हुँदा बिहान बेलुकी छाँक टार्नै मुस्किल भएको बताउँछन्। ‘चाडवाड आएको छ। केही मिठो खाउँ भने पनि पैसा हुन्न। सधैँ के खाने भन्नेकै पीर हुन्छ’ उनले भने, ‘यो हामीजस्ता श्रमिकलाई मात्रै यस्तो हो हुने खानेलाई त यो केही पनि होइन।’

यसैगरी उनी नेपालमा सबै कुरा विदेशबाट ल्याउनुपर्दा दिनहुँ मूल्यवृद्धि हुँदा श्रमिक वर्गहरु बढी मारमा पर्ने गरेको बताउँछन्।

प्रेम र पुन्य त प्रतिनिधि पात्र मात्रै हुन्। जो महँगीको मारमा पिल्सिरहेका छन्। जसकारण सर्वसाधारणको चुल्हो बाल्न सकिरहेको छैन।

दैनिक उपभोग्य तेल, चिनी, दाल, गेडागुडी, हरियो तरकारीको मूल्य आकाशिँदा छ। पेट्रोलियम पदार्थ र खाना पकाउने एलपी ग्याँसमा मूल्यवृद्धि भएपछि सर्वसाधारण थप महँगीको पीडा खप्न बाध्य छन्।

भिडियाे: 

प्रकाशित मिति: : 2023-10-01 19:55:00

प्रतिकृया दिनुहोस्