पाँच वर्षअघि देशकै अर्थतन्त्र हातमा, अहिले भ्रष्टाचार मुद्धामा तिहाड जेलमा

Agency

पी चिदम्बरम भारतका पूर्व अर्थमन्त्री। ५ वर्षअघि उनीसँग भारतको सबै खजानाको साँचो थियो। देशमा कस्तो अर्थतन्त्र बनाउने यसको मुखिया थिए। 

अमेरिकाको चर्चित हार्वर्ड विश्व विद्यालयको डिग्री। भारतको चर्चित पत्रिका ‘द हिन्दु’ का पूर्व सम्पादक। भारतको सबैभन्दा पुरानो राजनीतिक पार्टीका ‘थिङ्क ट्याक’।

चिदम्बरमको विषयमा कसैले चिताएका पनि थिएनन्, यति सान्दार र वजनदार ‘प्रोफाइल’ भएको व्यक्ति कुनै दिन भ्रष्टाचारको मुद्धामा जेल पर्छ भनेर। स्वयम चिदम्बरमले पनि ५ वर्षअघि यस्तो परिस्थितिको सामना गर्नुपर्ला भनेर कल्पना पनि गरेका थिएनन्।

तर, दक्षिण एसियाकै राजनीतिलाई तरंगीत तुल्याउँदै उनी बिहीबार भारतको सबैभन्दा पुरानो तिहाड जेलमा कैदीको रुपमा बन्द भए।

तिहाड जेलमा प्रवेश गर्नुअघि बाहिर रिपोर्टिङका लागि जम्मा भएका मिडियाकर्मी सामू उनले केही मुस्कान छरे। तर, जेल प्रवेश गरेलगत्तै उनी एकाएक छटपटिएका थिए।

पाँच वर्षअघि सम्म भारतीय राजनीतिमा प्रभावशाली मानिने चिदम्बरमको जेल यात्राको कथा हो, यो।

यसलाई भारतीय अखबारहरूले विशेष रिपोर्ट बनाएका छन्।

भारतको सर्वोच्च अदालतले ‘आइएनएक्स मिडिया’ सँग जोडिएको ‘मनि लाउन्ड्रिङ’ सम्बन्धि मुद्धामा चिदम्बरमलाई अग्रीम जमानत दिन अस्विकार गरेपछि उनी १४ दिनका लागि न्यायिक हिरासतमा तिहाड जेल पुगेका हुन्।

३ सय ४ करोडको भ्रष्टाचारलगायत विदेशमा सम्पत्ति किनेको जस्ता कैयन मुद्धामा उनलाई आरोपी बनाइएको छ।

भारतीय अखबारले जेल सुत्रलाई उधृत गर्दै लेखेको छ– चिदम्बरमले सिमेन्टीको चिसो भूईमै दरी र च्यादर ओछ्याएर रात काटे। उनलाई पनि अन्य कैदी सरह ४ स्तरको सुरक्षा घेरामा राखिएको छ। रातीको खानामा उनले दाल, रोटी र तरकारी खाए।

जेलमा पूर्व अर्थमन्त्रीको छटपटी बढेपछि जेल प्रशासनले आवश्यकता परेको खण्डमा ‘काउन्सिलिङ’ को सुविधा दिने बताएको छ।

जेलमा चिदम्बरमको दिनचर्या अन्य कैदी जस्तै हुनेछ। उनलाई पनि बिहान ६ बजे नै उठ्नु पर्नेछ। साँझ ७ बजेसम्म आफूलाई थुनामा राखेको कोठामा नफर्किदासम्म उनले पनि अन्य कैदी झैं सबै प्रक्रियाको सामना गर्नु पर्नेछ।

चिदम्बरमले नास्ताको रुपमा बिहान चिया र केही बिस्कुट खान पाउने छन्। ९ देखि १२ बजेसम्म उनले जेलको विभिन्न क्रियाकलापमा सहभागिता जनाउन पाउने छन्। जसअन्तर्गत उनी जेलमा रहेको पुस्तकालयमा गएर किताब, अखबार र पत्रपत्रिका पढ्न पाउने छन्।

लगभग दिउँसो १ बजे खानाको समय हुनेछ। यसपछि उनी फेरी कोठामा कैद हुनेछन्। दिउँसो ३ बजे उनी आफ्नो सेलबाट बाहिर निस्किने र यस अवधिमा उनले जेल परिषरमा हिड्डुल गर्न पाउने, खेलकुद र पुनः पुस्तकालयमा समय बिताउन पाउने छन्।

साँझ ६ बजेपछि रातीको खाना दिने चलन छ। यसपछि उनी पुनः सेलमा बन्द हुनेछन्।

चिदम्बरमको ‘प्रोफाइल’ हेरेर जेल प्रशासनले उनलाई सिसीटिभी जडान भएको कोठामा राखेको छ। दिल्ली प्रहरी बिहीबार साँझ ७ बजेर ४५ मिनेटमा उनलाई लिएर जेलमा प्रवेश गरेको थियो।

कडा सुरक्षाबीच जेल लगिएका चिदम्बरमको सुरुमा मेडिकल जाँच भएको थियो। उनलाई जेल संख्या ७ को सेलमा राखिएको छ।

जेल अधिकृत राजकुमारका अनुसार सुरक्षा कारणले उनलाई ब्यारेकको सट्टा सेलमा राखिएको हो। सेल भित्र एउटा बाथरुम पनि उपलब्ध छ। उनको सेलमा अन्य कुनै केदी राखिएको छैन।

चिदम्बरमलाई राखिएको जेल कम उमेरका कैदीलाई राख्ने स्थान हो। जेल संख्या ७ मा १८ देखि २० वर्ष आयू समूहका कैदीलाई मात्र राखिन्छ। २० वर्ष माथिका कैदीलाई उनीहरूको नामको अगाडिको अक्षरअनुसार प्राप्त सजाय हेरेर कुन जेलमा पठाउने तय हुन्छ।

तिहाड जेलमा यो नियम भएपनि पछिल्लो समय आर्थिक अपराधमा सलंग्न कैदीलाई जेल संख्या ७ मा राख्ने चलन बढ्दो छ। पछिल्लो समय ‘अगस्ता वेस्टल्यान्ड हेलिकोप्टर’ मुद्धामा आरोपी रतुल पुरीलाई पनि यही राखिएको थियो।

तिहाड जेलमा ६० वर्ष नाघेका कैदीलाई खाटमा सुत्ने सुविधा दिइएको छ। चिदम्बरमको उमेर ७२ पुगिसकेको छ। त्यसैले उनले पनि खाटमा सुत्ने सुविधा पाउने छन्।

प्रकाशित मिति: : 2019-09-06 10:53:13

प्रतिकृया दिनुहोस्