समयमा निर्माण कार्य सम्पन्न नभए कालोसूचीमा राख्न सुझाव (भिडियाे सहित )

तस्बिरः बिएल

संसदीय समिति अन्तर्गतको उपसमितिले चिकित्सा अध्ययन संस्थान महाराजगञ्ज परिसरमा निर्माणाधीन ‘सुरेश वाग्ले स्मृति केन्द्र’ समयमा निर्माण कार्य सम्पन्न नभए कालोसूचीमा राख्न सुझाव दिएको छ।

प्रतिनिधिसभा अन्तर्गतका शिक्षा तथा स्वास्थ्य समितिको उक्त भवन अध्ययन गर्न गठित कार्यदलले बुधबार समितिलाई प्रतिवेदन बुझाउदै यस्तो सुझाव दिएको हो। कार्यदलकी संयोजक अञ्जना विसङ्खेले पटक–पटक स्थलगत अनुगमन र सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएपछि ठेकेदार कम्पनीले बल्ल बाँकी काम शुरु गरको बताए।

प्रतिवेदनको मुख्य सुझावमा तेस्रो भेरिएशन स्वीकृत भएको मितिले नौ महीनाभित्र भवन हस्तान्तरण हुन नसकेमा ठेकेदार कम्पनीसँगको सम्झौता रद्द गर्न सम्बन्धित निकायलाई निर्देशन दिने भनिएको विसङ्खेले बताए। सुझावमा भवनको ७० प्रतिशत काम सम्पन्न भएको र बाँकी काम सम्पन्न गर्न समय थप गर्नुपर्ने औल्याइएको उनले जानकारी दिए।

बैठकमा समितिका सदस्यहरुले समयमा भवन निर्माणकार्य सम्पन्न हुनुपर्ने र यसका लागि निरन्तर अनुगमन गर्न स्वास्थ्य मन्त्रालयलाई सुझाव दिएका थिए। पछिल्लो समय निर्माण व्यवसायीले भवनको कूल भेरिएशनमा दश प्रतिशत लागत बढाएको छ। अहिले भवनको लागत रु ६१ करोड २१ लाख ८७ हजार ५८७ पुगेको छ। स्वास्थ्य मन्त्रालयले वहुवर्षीय योजनाअन्तर्गत सो भवन निर्माणलाई राखेको थियो।

प्रकाशित मिति: : 2019-09-04 15:02:47

प्रतिकृया दिनुहोस्