सरकार सिंगापुरबाट नचलाउन प्रधानमन्त्री केपी ओलीलाई नेपाली काग्रेसको चेतावनी (भिडियो सहित)

तस्बिरः बिएल

प्रमुख प्रतिपक्षी नेपाली कांगे्रेसले सरकार सिंगापुरबाट नचलाउन प्रधानमन्त्री केपी ओलीलाई चेतावनी दिएको छ। 

बुधबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सर्वभौम राष्ट्रको गोपनियता कायम राख्नुपर्ने बेला सरकार सञ्चालकको बिधि भिडियो कन्फरेन्सबाट हुनु स्वीकार्य नभएको बताए।

उनले टेलिकन्फ्रेन्सको गोपनियताको बारेमा किन ख्याल गरिएन भन्दै सरकारलाई प्रश्न पनि गरे। उनले देशमा कार्यवाहक प्रधानमन्त्री हुँदा हुँदै प्रधानमन्त्री केपी शर्मा ओलीले सिंगापुरबाट बैठकको नेतृत्व गर्नु हरेक किसिमले अनुचित भएको दाबी पनि गरे।

उनले कार्यसम्पादनमा सम्झौता गरेर सचिवको सरुवा गर्नु समेत उचित नभएको बताए। प्रवक्ता शर्माले मंसिर १४ गते हुने उपनिर्वाचनमा आफ्नो पार्टीको पक्षमा आउने गरी तयारी गरिरहेको बताए। उम्मेद्वार छनोटको चरणमा भने कांग्रेस प्रवेश गरि नसकेको उनले जानकारी दिए।

यस्तै बुधबार बस्ने तय भएको कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक वरिष्ठ नेता रामचन्द्र पौडेल उपस्थित नभएपछि स्थगन गरिएको प्रवक्ता शर्माले बताए। नेता पौडेल अस्वस्थ भएका कारण समितिको बैठकमा उपस्थित नभएकाले बैठक स्थगन भएको उनले जानकारी दिए।

बैठक बिहिबार दिउसो तीन बजेका लागी सारिएको छ। बिहिबारको बैठकमा नेपाल विद्यार्थी संघ, जनसम्पर्क समितिहरुका विषयमा छलफल हुने प्रवक्ता शर्माले जानकारी दिए।

प्रकाशित मिति: : 2019-08-28 18:38:03

प्रतिकृया दिनुहोस्