विकासका लागि सबै पक्षबीच सहयोग, समन्वय र सहकार्य हुनुपर्छः उपप्रधानमन्त्री उपेन्द्र यादव

उपप्रधानमन्त्री उपेन्द्र यादव

उपप्रधान, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले देशमा रहेको सातवटै प्रदेशमध्ये प्रदेश नं २ अतिपिछडिएकाले यसको विकासतर्फ सबैले ध्यान दिनुपर्ने बताएका छन्।

वीरगञ्ज महानगरपालिका– १५ मा नवनिर्मित बस टर्मिनल भवनको मंगलबार एक समारोहबीच उद्घाटन गर्दै उनले भने, ‘प्रदेश नं २ को विकास र समृद्धिका लागि तिन वटै तहका सरकार, निजी क्षेत्र र सरोकारवाला सबै पक्ष सहयोग, समन्वय र सहकार्यका साथ अगाडि बढ्नुपर्दछ।’

उपप्रधानमन्त्री यादवले वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पताललाई केन्द्रीय अस्पताल बनाउन स्वास्थ्य मन्त्रालयले एक अर्ब ५७ करोड रकम विनियोजन गरेको उल्लेख गर्दै कुनै पनि नेपाली नागरिक बिरामीबाट नमरुन भनेर सङ्घीय सरकारले प्रत्येक गाउँमा एक अस्पताल, प्रत्येक वडामा एक स्वास्थ्यचौकी, शहरमा सुविधा सम्पन्न अस्पताल तथा महानगरस्तरीय अस्पताल बनाउने सोचका साथ अगाडि बढीरहेको धारणा व्यक्त गरे।

अहिले मुलुकमा विभिन्न स्तरबाट सङ्घीयता र गणतन्त्रमाथि ग्रहण लगाउने प्रयास भइरहेको उल्लेख गर्दै उनले सङ्घीयतालाई सबल, सदृढ र संस्थागत विकासका लागि सबैको प्रयास आवश्यक रहेको बताए।

निमार्ण कार्य अधुरै राखेर वीरगन्ज नयाँ बसपार्कको उद्घाटन

उनले संविधान संशोधनको मुद्दा लिएर समाजवादी पार्टी सरकारका सामिल भएकाले यसप्रति पार्टीले आवश्यक गृहकार्य गरिरहेको जानकारी दिए।

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले मानवीय विकास सूचकाङ्कमा प्रदेश नं २ कर्णाली प्रदेशभन्दा पनि पछाडि रहेको बताउँदै प्रदेशको समग्र विकासका लागि प्रदेश सरकार कटिबद्ध रहेको बताए।

मुलुकमा रहेको तीन वटै तहका सरकारबीचको समन्वय र सहकार्यले नै वीरगञ्जको विकास हुने बताउँदै उनले आगामी तीन वर्षभित्र प्रदेश नं. २ सरकारले तीन हजार युवालाई रोजगार दिएर आत्मनिर्भर बनाउने लक्ष्य लिएको बताए।

मुख्यमन्त्री राउतले जबसम्म विकासको रकम सहीरुपमा खर्च हुँदैनन्, तबसम्म देशमा सुशासन कायम हुन नसक्ने दाबी गरे।

वीरगञ्ज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीको सभापतित्वमा भएको सो कार्यक्रममा सांसद प्रदीप यादव र हरिनारायण यादवले वीरगञ्जको वृहत्तर विकासका लागि दृघकालीन गुरुयोजना बनाएर सोही अनुरुप अगाडि बढ्नुपर्नेमा जोड दिए।

पाँच बिगाहा पाँच कट्ठा क्षेत्रफलमा फैलिएको सो बस टर्मिनल नगर विकास समितिको ९० प्रतिशत ऋण सहयोगमा रु १५ करोड ७० लाख ८६ हजार ४४१ को लागतमा निर्माण भएको छ । सो बस टर्मिनलमा तल्लो तल्लामा लविङ रुम प्रतिक्षालय, टिकट काउन्टर, उपचार केन्द्र, फोटोकपी, खानेपानी, लगेज रुम, ब्युटिपार्लर रुम, रेष्टुराँ तथा कार्यालयसहित आधुनिक बसपार्क रहेको छ ।

सो बस टर्मिनलभित्र ५५ वटा सटर रहेको छ । सो बस टर्मिनलभित्र १२४ वटा बस, १७ वटा टाटा सुमो, ५० वटा मोटरसाइकल, २१ वटा टागां र ४० वटा रिक्सा पार्किङ गर्ने व्यवस्था रहेको बताइएको छ । रासस

प्रकाशित मिति: : 2019-08-27 18:24:21

प्रतिकृया दिनुहोस्