भिडियो कन्फेरेन्समार्फत् पहिलोपटक मन्त्रिपरिषद् बैठक बस्दै

फाइल तस्बिरः बिएल

सोमबार दिउँसो मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ। बैठकलाई प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियो कन्फेरेन्समार्फत् नेतृत्व गर्ने सम्भावना छ।

कार्यबाहक प्रधानमन्त्रीसमेत रहेका रक्षामन्त्री ईश्वर पोखरेलका स्वकीय सचिव दीपेन्द्र श्रेष्ठका अनुसार प्रधानमन्त्री सिंगापुरमा र मन्त्रीहरु सिंहदरबारमा रहेर दिउँसो १ बजे बैठक बस्न लागेको हो।

स्वास्थ्यमा समस्या देखिएपछि प्रधानमन्त्री ओली उपचारको लागि केही दिन अगाडि सिंगापुर गएका हुन्।

अत्यावश्यक र नियमित काम नरोकियोस् भनेर प्रधानमन्त्री विदेशमै रहे पनि पहिलोपटक भिडियो कन्फेरेन्समार्फत मन्त्रिपरिषद् बैठक बस्न लागको हो।

सिंहदरबारबाट सबै मन्त्री सहभागी भएपछि  प्रधानमन्त्रीले भिडियो कन्फेरेन्समा सम्बोधन गर्ने कार्यक्रम छ।

यसअघि सरकारले गएको बुधबार मन्त्रिपरिषद बैठकमा बैठक सञ्चालन विधि समेत परिवर्तन गरेको थियो।

यसबाट काठमाडौं बाहिर रहँदा पनि प्रधानमन्त्रीलाई बैठकको अध्यक्षता गर्ने बाटो खुलेको हो। नेपाल सरकारले मन्त्रिपरिषदको बैठकमा पहिलो पटक भिडियो कन्फेरेन्सको प्रयोग गर्न लागेको हो।

उपचारका क्रममा करिब एक महिनासम्म प्रधानमन्त्री सिंगापुर रहने सम्भावना छ।

प्रकाशित मिति: : 2019-08-26 09:52:21

प्रतिकृया दिनुहोस्