लोकतन्त्रमाथि खतरा छैनःसञ्चारमन्त्री बाँस्कोटा

तस्बिरः बिएल

सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले लोकतन्त्रमाथि कुनै पनि किसिमको खतरा नरहेको दाबी गरेका छन्। प्रेस सङ्गठन रुपन्देहीले आईतबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बाँस्कोटाले जनताको त्याग, तपस्या र बलिदानीबाट प्राप्त गणतन्त्र त्यति सजिलै नढल्ने स्पष्ट पारे।
लोकतन्त्रमाथि विभिन्न किसिमले हमला गर्ने तत्व सक्रिय भए पनि लोकतन्त्र खतरामा नरहेको उनको भनाई छ। “लोकतन्त्रमाथि हमला गर्ने तत्वसँग सदैव सचेत रहनुपर्छ” मन्त्री बाँस्कोटाले भने,।
“धमिलो पानीमा माछा मार्न पल्केकाहरु कहिले धर्मका नाममा, कहिले वंशजका नाममा सल्बलाई रहेका छन्”, मन्त्री बाँस्कोटाले भने। सरकारले मिडियालाई नियन्त्रण गर्ने नभई नियमन मात्रै गर्ने उनको भनाई छ। त्यसैका लागि सरकारले मिडियासम्बन्धी नयाँ कानून ल्याउन लागेको उहाँले स्पष्ट पारे। मन्त्री बाँस्कोटाले सरकारले ल्याउन लागेको मिडिया काउन्सिलसम्बन्धी विधेकबाट सञ्चारकर्मी नडराउन आग्रह गर्दै कानूनमा रहेर काम गर्ने कुनै पनि मिडियाकर्मीलाई त्यसले असर नगर्ने स्पष्ट पारे। “मूल प्रभावका सञ्चार संस्था कसैको लोभ, धाक, धम्कीको प्रभावमा नपरी व्यवसायमा इमान्दार हुनुपर्छ”, मन्त्री बाँस्कोटाले भने। “सनसनीपूर्ण बनाएर अफ्ठ्यारो पर्ने र उन्मुक्ति खोज्ने प्रवृत्ति राम्रो होइन ।” सञ्चारजगत सरकारप्रति नभएर नेपाल र नेपाली जनताप्रति उत्तरदायी र जिम्मेवार बन्नुपर्ने उनको भनाइ थियो । मिडियाको दुरुपयोग रोक्न सरकार कानून निर्माणमा लागेको मन्त्री बाँस्कोटाले बताए। सामाजिक सञ्जालले मूल प्रवाहको मिडियालाई निर्देशित गर्न नसक्ने र त्यस्तो भएमा समाज अराजकतातर्फ जाने भएकाले सचेत हुनुपर्नेमा उनले जोड दिए। “पछिल्ला समयमा सामाजिक सञ्जालमा विकृति बढ्दै गएको छ, कुनै पनि विषयमा भिडले कानूनलाई नियन्त्रण गर्न सक्दैन”, मन्त्री बाँस्कोटाले भने।
टेलिभिजनमा क्लिनफिड र समानुपातिक विज्ञापन वितरण प्रणाली सरकारले लागू गराएरै छाड्ने मन्त्री बाँस्कोटाले जानकारी समेत दिए। राज्यका सबै निकायमा कार्यसम्पादन सम्झौताको व्यवस्था पहिले पनि भएको तर कार्यान्वयनमा नआएको भन्दै उनले त्यसलाई वर्तमान सरकारले कार्यान्वयनमा ल्याएको बताए।

प्रकाशित मिति: : 2019-08-25 20:54:14

प्रतिकृया दिनुहोस्