प्रधानमन्त्री स्वदेश वा विदेशमा रहे पनि भिडियो कन्फरेन्सबाट मन्त्रिपरिषद् बैठक बस्ने (भिडियोसहित)

तस्बिरः बिएल

सरकारले प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश वा बिदेश भ्रमणमा रहेका बेला पनि भिडियो कन्फरेन्सबाट मन्त्रिपरिषद् बैठक बस्ने सक्ने व्यवस्था गरेको छ।

सिंहदरबारमा बिहिबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले नेपाल सरकार कार्यसम्पादन नियमावली २०६४ मा संशोधन गरी प्रधानमन्त्री स्वदेश वा विदेश रहेको अवस्थामा समेत भिडियो कन्फरेन्सिङ लगायतका सूचना प्रविधिको प्रयोग गरेर मन्त्रिपरिषदको बैठक बस्न सक्ने व्यवस्था मन्त्रिपरिषद बैठकले गरेको जानकारी दिए।

उनले प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यका बारेमा अनावश्यक हल्ला चलाएको आरोप पनि लगाए।

उनले चिकित्सककै सल्लाहमा प्रधानमन्त्री ओली सिंगापुर उपचारका लागि जानुभएको भन्दै उपचारपछि छिटै स्वदेश फर्कने जानकारी दिए।

पत्रकार सम्मेलनमा प्रवक्ता बाँस्कोटाले राजा आउने भन्ने चर्चाको खण्डन गर्दै त्यसको हाउगुजी नदेखाउन पनि चेतावनी दिए। राजतन्त्र इतिहासको कुरा मात्र रहेका भन्दै उनले त्यो इतिहास अब भोलिको पुस्ताले पनि बढ्ने धारणा राखे।

उनले १७ साल र अहिलेको युग नै परिवर्तन भएको भन्दै लोकतन्त्र जोगाउनु सरकारको मात्रै ठेक्का नभएर सबैको भएको तर्क गरे।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै प्रवक्ता बाँस्कोटाले प्रक्रिया मिलाएर नै सचिवहरुको सरुवा गर्ने निर्णय गरेको जानकारी दिए। मन्त्रिपरिषद् बैठकले चीनको ग्वान्जाओस्थित नेपाली महावाणिज्यदूतावासको महावाणिज्यदूतमा श्रीहरि पुडासैनीलाई नियुक्त गर्ने निर्णय गरेको छ।

यस्तै विकास साझेदारहरुबाट प्रस्तावित एक सय मिलियन अमेरिकी डलर (झण्डै ११ अर्ब रुपैयाँ) बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय पनि सरकारले गरेको छ।

बर्दियाको मुक्त कमैया बसोबास क्षेत्रमा रहेका रूख हटाई व्यवस्थापन गर्न स्वीकृति दिइएको छ भने प्रदेश सचिव पदमा सम्बन्धित सेवाका राजपत्रांकित प्रथम श्रेणीको सहसचिवलाई खटाउँदा सामान्यतया ज्येष्ठता मध्येबाट कम्तीमा एक वर्षका लागि खटाउने निर्णय गरिएको प्रवक्ता बाँस्कोटाले जानकारी दिए।

बैठकले कर्मचारी सञ्चय कोषको सुन्धारास्थित जग्गा र साबिकमा गोश्वारा हुलाक कायालय पुनर्निर्माण प्राधिकरणले प्राप्त गरेको जग्गा सट्टापट्टा गर्ने निर्णय गरेको छ भने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत आयोजनाहरूका लागि तीन जना राजपत्रांकित पदको अस्थायी दरबन्दी सृजना गर्ने निर्णय गरेको प्रवक्ता बाँस्कोटाले बताए।

 

प्रकाशित मिति: : 2019-08-22 18:42:18

प्रतिकृया दिनुहोस्